भारतमा जारी विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत अस्ट्रेलियाले न्यु जिल्यान्डसँग गरेको भिडन्तलाई विश्वकप इतिहासमै एक उत्साहजनक खेल भनेर बयान गरिएको छ। चौथो हप्ताको खेल समीक्षा सहित क्वीन्सल्यान्ड नेप्लिज क्रिकेट एसोसिएसनका अध्यक्ष अमित लोहनीसँग गरिएको सुन्नुहोस्।
शनिवार, २८ अक्टोबरमा अस्ट्रेलिया र छिमेकी राष्ट्र न्यु जिल्यान्डबिचको खेलमा विश्वकपमा पहिलो पटक खेल्दै गरेका ट्राभिस हेडले ६७ बलमै १०९ रन बनाई आफ्नो टिमलाई अग्र स्थानमा राखेका थिए।
उनी सँगसँगै अस्ट्रेलियाले बनाएको कुल ३८८ रनमा डेभिड वार्नर र ग्लेन् म्याक्सवेलले पनि क्रमशः ८१ र ४१ रनको योगदान दिएका थिए।
तर भारतको धर्मशालामा रहेको मैदानमा भएको सो खेलमा, प्रतिद्वन्दि न्यु जिल्यान्डले खेलको पचासौँ ओभरसम्म जीत पछ्याई रह्यो।
न्यु जिल्यान्डका प्रतिभाशाली ब्याट्सम्यान राचिन रबिन्द्रले ८९ बलमा ११६ रन बनाएका थिए भने जेम्स नीशमले भने ३९ बलमा ५८ रन बनाएका थिए।
न्यु जिल्यान्ड टोली अस्ट्रेलियाको विशाल चुनौतीको छेउमै पुगे पनि, अन्त्यमा ३८३ रन बनाई उक्त खेल पाँच रनले हारेको थियो।
यस अघिको खेलमा अस्ट्रेलियाले नेदरल्यान्ड्समाथि ३०९ रनको अन्तरले विजय प्राप्त गरेको थियो।

उता, यसपल्ट फितलो प्रदर्शन गर्दै आएको, सन् २०१९ को विश्वकप विजेता इङ्गल्यान्डको पराजयको क्रम जारी नै रहेको छ।
गत आइतवार लखनउमा भएको खेलमा, रोहित शर्माको ८७ रनका साथ भारतले २२९ रन बनाउन सफल भएको थियो।
प्रतिउत्तरमा इङ्गल्यान्डले भने मात्र १२९ रन बनाई १०० रनको अन्तरका साथ पराजित भएको थियो।
यस अघि श्रीलङ्कासँगको खेलमा आठ विकेटले इङ्गल्यान्डले पराजय बेहोर्नु परेको थियो।
यस विश्वकप प्रतियोगितामा रहेको अर्को सशक्त टोली, दक्षिण अफ्रिकाले आफ्नो प्रभाव जारी राखेको छ।
पछिल्ला सात दिनमा, दक्षिण अफ्रिकाले दुई दक्षिण एसियाली मुलुकहरू - बङ्गलादेश र पाकिस्तानलाई पराजित गरी, आफू विश्वकपको प्रबल दाबेदार रहेको जनाउ दिएको छ।

यसैबिच, गत शनिवारको खेलमा, नेदरल्यान्ड्सले बङ्गलादेशलाई ८७ रनले पराजित गरी प्रतियोगितामा आफ्नो दोस्रो विजय हात पारेको छ।
यसै गरी, इङ्गल्यान्डलाई हराई क्रिकेट जगतलाई आफ्नो कुशलताको परिचय दिएको अफगानिस्तानले, सोमवार, ३० अक्टोबरमा भएको अर्को खेलमा श्रीलङ्कालाई पराजित गरी प्रतियोगितामा आफ्नो तेस्रो जीत दर्ता गरेको छ।
खेलको अहिलेसम्मको अङ्क तालिका अनुसार भारत र दक्षिण अफ्रिका सेमी-फाइनलमा पुग्ने निश्चित प्राय: छ भने, अन्य दुई स्थानमा भने न्यु जिल्यान्ड र अस्ट्रेलिया अग्र पङ्क्तिमा रहेको छन्।




