नेपालमा पनि करिब ३ हजारको सङ्ख्यामा अस्ट्रेलियन बिश्वबिद्यालयहरुमा पढिरहेका विद्यार्थीहरु फर्कन नपाएको बताइन्छ।
कतिपय विद्यार्थीहरुले आफ्नो पढाइको भविष्य के हुदैछ भन्ने कुराको आधिकारिक जानकारी कतैबाट नआएको भन्दै विभिन्न मिडियामा आएका समाचारहरूमा आफू भर पर्नु परेको गुनासो गरेका छन्।
सिड्नी स्थित होम्स् इन्स्टिट्युट दोस्रो सेमेस्टर अध्ययन गदै गरेका छिरिङ तामाङ पारिवारिक कार्यक्रमका लागि गत मार्चको पहिलो साता नेपाल गएका हुन्।
तर विश्वभर फैलिएको कोभिड-१९ का कारण सेप्टेम्बर लाग्दै गर्दा पनि, उनी कहिले फर्कने हो अन्योलमै छन्।
रिपोर्ट सुन्नुहोस्:
अस्ट्रेलियाली विश्वविद्यालय र कलेजहरूमा भर्ना भएका कुल विद्यार्थी सङ्ख्याको १० प्रतिशत विद्यार्थी हाल विभिन्न देशमा कोरोनाभाइरसका कारण फसेको बताइन्छ।
नेपालमै पनि ठुलो सङ्ख्यामा अस्ट्रेलियन कलेजहरूमा भर्ना भएका वा पढ्दै गरेका विद्यार्थीहरु कोभिडका कारण अस्ट्रेलिया फर्कन सकेका छैनन्।
एसबीएसको सम्पर्कमा आएका धेरै विद्यार्थीहरुले अब के हुने हो भन्ने कुरामा आफू अन्योल ग्रस्त रहेको कुरा बताए।
कतिपय विद्यार्थीहरु सेमेस्टर नै डिफर गर्ने तयारीमा छन् भने कतिपयले समस्या देखाउँदै कलेजसँग सहयोग पनि मागेका छन्।
तर कहिबाट पनि आधिकारिक जानकारी आफूहरूले नपाएको भन्दै के हुने हो भन्ने नै अन्योल रहेको उनीहरू बताउँछन्।
छिरिङ भन्छन्, "विभिन्न मिडियामा आएका समाचार बाहेक हामी सँग अन्य कुनै श्रोत छैन।"
"एम्बेसीमा कतिपय पटक पुग्यौ तर पनि आधिकारिक जानकारी पाउन सकेनौ। "
नेपाल स्थित अस्ट्रेलियन एम्बेसीको फेसबुक पेजका अधिकांश अपडेटका कमेन्ट सेक्सन फर्कन नपाएका विद्यार्थीहरुले गरेका प्रश्नहरूले भरिएका छन्।

त्यसो त महामारी सुरु भएपछि अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि भनेर सरकारले भिसा लगायत विद्यार्थी लक्षित अन्य कुरामा पनि केही हदसम्म लचकता अपनाएको छ।
गत जुलाई देखि कतिपय अवस्थाहरूमा परिवर्तन र लचकता अपनाइएको छ।
कतिपय अवस्थामा भिसाका लागि लाग्ने शुल्क समेत मिनाहा गरेको छ।
सिड्नीमा माइग्रेसन एजेन्टका रूपमा कार्यरत नवीन शाही भन्छन् सरकारले विद्यार्थीहरुमा पर्ने जाने भार रोक्न विभिन्न योजनाहरू अघि सारेको छ।
यसका साथै भिसा थप्दा चाहीने अग्रेंजी भाषा परीक्षाको परिणाम र स्वास्थ्य सम्बन्धी रिपोट लगायतमा पनि सरकारले लचकता अपनाएको छ।
अस्ट्रेलियाका कलेजहरूले पनि महामारीको ख्याल राख्दै विभिन्न किसिमका छुट वा पढीरेहका विषयहरू अर्को सेमेस्टर पढ्न मिल्ने लगायतका सुविधा दिएका छन् तर यी जानकारी फर्किन नपाएका विद्यार्थीहरु समक्ष आधिकारिक रूपमा पुगेको देखिएको छैन।
कतिपय विद्यार्थीहरु बेला बेलामा आउने समाचारलाई नै आधार मान्दै फर्कने दिन गनेर बसेका छन्।
"अस्ट्रेलियन सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई व्यापारको रूपमा मात्र नहेरेर विद्यार्थीको भविष्यका बारेमा पनि सोची दियोस्," छिरिङ भन्छन् ।
अस्ट्रेलिया सरकारले पनि विद्यार्थीहरुलाई सकभर चाँडो भित्र्याउनका लागि तैयार पनि गरेकै हो - कोरोनाभाइरस महामारी नियन्त्रणका तीन चरणको योजना अन्तर्गत तेस्रो चरणमा विद्यार्थी भित्र्याउने योजना रहेको थियो।
तर, भिक्टोरिया र अन्य राज्यमा देखिएको दोस्रो चरणको सङ्क्रमण पछि यो योजना अनिश्चित कालका लागि धकेलिएको छ।
राष्ट्रिय आम्दानीको चौथो ठुलो श्रोतका रूपमा रहेका अन्तर्राष्ट्रिय विद्यार्थीहरु, अस्ट्रेलिया भित्रन नपाउँदा सरकारलाई करिब ४० अर्व डलर बराबरको घाटा लागिसकेको छ।
यसो त विभिन्न देशमा रहेका १८ हजार ८ सय भन्दा बढी मानिसहरूले अस्ट्रेलिया फर्कनका लागि विभिन्न देशमा रहेका अस्ट्रेलियाली दूतावासमा आवेदन दिएका छन्।
तर हालको नियम अनुसार अस्ट्रेलिया भित्रने मानिसहरूको सङ्ख्या सरकारले सातामा अधिकतम ४ हजार मात्र तोकेको छ।
माइग्रेसन एजेन्ट शाही भन्छन्, "अहिलेको अवस्थामा समाचारहरू हेरी रहनु र आफ्नो कन्सल्टेन्सी वा कलेजसँग नियमित सम्पर्कमा रही रहने हो र नयाँ जानकारीका बारेमा अवगत हुने हो।"
"सबैभन्दा महत्त्वपूर्ण कुरा आफू सुरक्षित बस्ने हो।
अस्ट्रेलियामा मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे जान्न थप जानकारी यहाँ उपलब्ध छ।
मेलबर्न महानगरीय क्षेत्रमा हाल चौथो चरणको प्रतिबन्ध लागू छ र त्यहाँका बासिन्दाहरूले प्रत्येक दिन बेलुकी ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म कर्फ्यु आदेशको पालना गरेर घरबाट निस्कन हुँदैन।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि तलको ब्यानरमा थिच्नुहोस्:












