प्रमुख विषय:
- एनआरएनए ओसियनियाको महिला फोरमद्वारा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न
- अस्ट्रेलियाको नेपाली समुदायमा घरेलु हिंसा तथा सम्बन्ध विच्छेदका घटनाहरू बढ्दो
- अभियानले सरकारी स्तरमा आवश्यक विधानहरू पेस गर्न मद्दत पुर्याउने
अस्ट्रेलियामा १६ प्रतिशत अर्थात् १५ लाख महिला तथा ५.९ प्रतिशत अर्थात् ५ लाखभन्दा बढी पुरुषहरू १५ वर्षको उमेरदेखि आफ्नो नजिकको व्यक्तिबाट शारीरिक हिंसाको सिकार बन्न पुगेको अस्ट्रेलियाली तथ्याङ्क विभागले (एबीएस) जनाउँछ।
औसतमा प्रत्येक हप्ता एक महिला र प्रत्येक महिना एक पुरुषको आफ्नो वर्तमान या भूतपूर्व पार्टनरबाट हत्या हुने गरेको अस्ट्रेलियाली स्वास्थ्य तथा कल्याण संस्थानले बताएको छ।
पछिल्लो समयमा कोभिड-१९ महामारीसँगै लकडाउन, बेरोजगारी र आर्थिक विपत्तिजस्ता समस्याहरूको कारण मानसिक स्वास्थ्य सहयोग माग्ने मानिसहरूको सङ्ख्यामा वृद्धि आएको पनि देखिएको छ।
नेपाली समुदायमा लैङ्गिक हिंसा तथा अन्य सामाजिक समस्याहरूको बारेमा जनचेतना फैलाउने उद्देश्यका साथ गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) ओसियनिया अन्तर्गतको महिला फोरमको पहलमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान आयोजना गरिएको थियो।
"लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान" के हो?
सन् १९९१ मा विमेन्स ग्लोबल लिडरशिपका कार्यकर्ताहरूले सुरु गरेको उक्त अभियान प्रत्येक वर्ष २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म विश्वभर आयोजना हुने गरेको छ।
ऐतिहासिक रूपमा हेर्नुपर्दा, सन् १९६० मा डोमिनिकन रिपक्ब्लिकमा त्यस बेलाको तानासाही शासनको विरुद्ध आवाज उठाएका कारण तीन दिदीबहिनीको हत्या गरिएको थियो। तिनै महिलाहरूको सम्झनामा २५ नोभेम्बरलाई महिला हिंसा उन्मूलनका लागि अन्तराष्ट्रिय दिवसको रूपमा विश्वभर मनाइने गरेको छ।
उक्त दिनदेखि १० नोभेम्बरमा पर्ने मानव अधिकार दिवससम्म १६ दिने लैङ्गिक हिंसा विरुद्धको अभियान विश्वव्यापी रूपमा विभिन्न समस्या तथा मुद्दाहरूलाई अघि सार्दै आयोजना गरिन्छ।
एनआरएनएको महिला फोरमद्वारा आयोजित १६ दिने अभियान
यस वर्ष एनआरएनएले आयोजना गरेको उक्त अभियानको मुख्य नारा भने रहेको थियो - "FREE Talks" अर्थात्, F - Freedom (स्वतन्त्रता), R - Respect (सम्मान), E - Equality (समानता) र E - Empowerment (सशक्तीकरण)।
यस कार्यक्रमले स्थानीय, सरकारी तथा अन्तर्राष्ट्रिय स्तरमा जनमानसलाई लैङ्गिक हिंसा लगायत अन्य सामाजिक समस्याहरूको बारेमा खुलेर कुरा गर्न र यिनलाई समाजबाट निर्मूल गर्न मद्दत गर्ने ओसियनिया क्षेत्रको गैर आवासीय नेपाली सङ्घकी महिला संयोजक तथा यस कार्यक्रमकी संयोजक जानकी पौडेलले बताइन्।

"यो ओसियनिया क्षेत्रमा छरिएर रहेका एनआरएनएका महिला फोरमहरूलाई एकबद्धतामा लेराउने मेरो पहल पनि हो।", उनले भनिन्।
"के कुरालाई हिंसा भन्ने, के कुरालाई रिपोर्ट गर्ने र कुन हदसम्म हामीले सहने? यस किसिमका कुराहरूको ज्ञानमा कमी रहेको हामीले महसुस गरेका छौँ।"
अस्ट्रेलियाका मात्र नभई न्युजिल्याण्ड, पापुवा न्यू गिनीमा (पीएनजी) र मध्य पूर्वी क्षेत्रका एनआरएनए महिला फोरमहरूको पनि यस १६ दिने अभियानमा प्रत्यक्ष संलग्नता रहेको थियो।
३० नोभेम्बरेमा विधिगत रूपमा सुरु भएको उक्त अभियानमा डिसेम्बर महिनाको १ तारिख देखि १० तारिखसम्म प्रत्येक दिन अतिथि वक्ता तथा सहभागीहरूले जुम (Zoom) मार्फत तोकिएको विषय बारे जनचेतानात्मक जानकारी र सान्दर्भिक अनुभवहरू बारे छलफल गरे।
"सम्मान र समानता सबैको अधिकार हो, विशेषाधिकार होइन", "घरेलु हिंसाको विषयमा संस्कृतिको भूमिका" देखि "युवा पुस्ता र अन्तराष्ट्रिय विद्यार्थी", "लैङ्गिक समानता", "महिला सशक्तीकरण" र "नेतृत्वका भूमिकामा महिलाहरू" सम्म छलफलका केही मुख्य विषयहरू रहेका थिए।

अनलाइन मार्फत भएको उक्त कार्यक्रमको उद्घाटन समारोहमा क्यानबेरा स्थित नेपाली दूतावासका राजदूत महेश राज दाहाल, न्यु साउथ वेल्सका एटर्नी जेनेरलका संसदीय सचिव नेटली वार्ड, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल, आइसीसीका प्रमुख कुमार पन्त, एनआरएनए आइसीसीका उपाध्यक्ष मन के.सी. लगायत अन्य वरिष्ठ पदका अतिथिहरू उपस्थित थिए।
त्यस्तै, ह्वाइट रिबन, सिल्भर सिस्टर प्रडक्सन यूके लगायत लैङ्गिक हिंसा उन्मुलनको क्षेत्रमा काम गर्दै आएका विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको पनि उपस्थिति थियो।
के 'शारीरिक हिंसा' मात्र हिंसा हो?
विश्व स्वास्थ्य सङ्गठनका अनुसार बलको प्रयोग गरेर या धम्की दिएर कुनै व्यक्ति, समूह या समुदायलाई शारीरिक या मनोवैज्ञानिक स्तरमा कुनै किसिमको हानी पुर्याएमा या पुर्याउने सम्भावना भएमा, त्यसलाई हिंसा भनिन्छ।
लैङ्गिक हिंसा शारीरिक मात्र नभएर आर्थिक, मनोवैज्ञानिक, भावनात्मक र यौन हिंसाको रूपमा पनि रहेका हुन्छन्।

नेपाली समुदायमा लैङ्गिक हिंसाको मुख्य जड लैङ्गिक असमानता रहेको कार्यक्रममा सहभागी स्वयंसेविका इन्द्रा बनले बताइन्।
'हाम्रो समाजमा महिला र पुरुष बीच एक किसिमको स्तरीकरण रहेको छ।', सन् २०११ सालमा अर्डर अफ अस्ट्रेलिया पुरस्कारबाट सम्मानित भएकी बन भन्छिन्।
'पुरुषहरू रुनु हुँदैन तर छोरी चेली रुनु भनेको सामान्य हो, र महिलाहरू कमजोर हुन्छन् जस्ता मनसाय बाल्यकालदेखि नै सिकाइन्छ। यो हाम्रो समाजबाट हट्न अझ धेरै समय लाग्ने छ।"

विभिन्न सांस्कृतिक र सामाजिक कारणले वर्षौँ देखि पितृसत्तात्मक रहेको नेपाली समाजमा पुरुष अहङ्कार एक वंशाणुगत गुण बन्न पुगेको एनआरएनए आइसीसीका उपाध्यक्ष मन केसीले बताए।
"हामी पुरुषहरू समानतामा विश्वास राख्छौँ र कुनै पनि किसिमको हिंसाको विरुद्ध बोल्छौँ। तर जब परिस्थिति गाह्रो हुन्छ, तब हाम्रो अहङ्कारले ठाउँ ओगट्छ।", उनले बताए।
अस्ट्रेलियाको नेपाली समाज
अस्ट्रेलियाको समग्र जनसङ्ख्यामा ०.४ प्रतिशत अर्थात् एक लाखको हाराहारीमा नेपालीहरू रहेका छन्।
नेपालीहरू आफ्नो असल र सहकारी स्वभावका लागि चिनिने गरेको फेडेरेसन अफ नेपाली कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलियाका (फेनका) अध्यक्ष डा. राजु अधिकारीले बताए।
यो पनि पढ्नुहोस्:

"यो घर रहने छ, यसमा म हुने छैन": सुदिन पोखरेलको नयाँ साङ्गीतिक मोड
२०० भन्दा बढीको सङ्ख्यामा विभिन्न सामुदायिक सङ्घ संस्थाहरूले हाम्रो समाजमा रहेका समस्या र कुरीतिहरू हटाउन प्रत्यक्ष या अप्रत्यक्ष रूपमा मद्दत गरिरहे तापनि, पछिल्लो एक वर्षमा नेपाली समुदायमा घरेलु हिंसा र सम्बन्ध विच्छेदको दर बढेको उनको भनाइ छ।
र कोभिड-१९ महामारी सुरु भए यता यस्ता समस्याहरूमा अस्ट्रेलिया भर नै वृद्धि आएको छ।
लैङ्गिक हिंसाको सिकार महिला मात्र नभएर पुरुषहरू पनि हुने गरेको, र यो नेपाली समुदायमा मात्र नभई हरेक समुदाय र देशमा रहेको एनआरएनए पूर्व अध्यक्ष तथा संरक्षक डा. शेश घलेले बताए।

यसका समाधानका लागि विभिन्न संयुक्त राज्य अस्ट्रेलियाली सङ्घ तथा व्हाइट रिबन अस्ट्रेलिया जस्ता सङ्घ संस्थाहरूको सहकार्यमा काम गर्न आवश्यक रहेको उनी भन्छन्।
नेपाली समुदायमा हुने हिंसाका घटनाहरूको तथ्याङ्कलाई समग्र अस्ट्रेलियाको हिंसाको तथ्याङ्कसँग तुलना गरी, त्यसै हिसाबमा एनआरएनएले उपर्युक्त कदम चाल्ने, र यस क्रममा प्रत्येक व्यक्ति र परिवार एकबद्ध भएर लागि पर्नु पर्ने कुरामा उनले जोड दिए।
त्यस्तै, नेपालको सन्दर्भमा महिला राष्ट्रपति भएको देश भए तापनि महिलाहरू बढी सामाजिक तथा यौन शोषणका सिकार बन्दै आएको र यस्ता घटनाहरूको समाजमा खुलेर कुरा नहुने रविना थापाले बताइन्। उनी अन्तराष्ट्रिय संयोजक समिति (आइसीसी) एनआरएनएकी उपाध्यक्ष तथा महिना युवा विभागकी प्रमुख हुन्।
हिंसा गर्ने व्यक्तिलाई छुट दिने हाम्रो समाजको चलनका कारण यस्ता घटनाहरू समय सँगै बढ्दै गएको एनआरएनए अध्यक्ष केशव कँडेलले बताए।
समानता र निष्पक्षताका लागि एनआरएनएमा पनि अब देखि नेतृत्वको भूमिकामा महिला र पुरुष दुवैलाई समान अवसर दिइनु पर्ने उनको भनाइ छ। दुई वर्ष कुनै पुरुष नेतृत्वको भूमिकामा भए तेस्रो वर्ष एक महिला चुनिनु पर्ने उनले बताए।
१६ दिन सम्म अनलाइन मार्फत आयोजना गरिएको यस अभियानले समाजमा लैङ्गिक हिंसाको बारेमा जनचेतना फैलाउनुका साथै सरकारी स्तरमा पनि यस विषयमा प्रभावकारी विधानहरू पेस गर्न मद्दत पुर्याउने कार्यक्रम संयोजक जानकी पौडेलले बताइन्।







