बहु सांस्कृतिक अस्ट्रेलियाको एक उदाहरणीय व्यक्तित्व रहेकी कार्ला जाम्पाटीले, यहाँको फेसन उद्योगमा आफ्नो निशान बनाउँदै गर्दा, इटालीको आफ्नो वास्तविक पहिचानलाई भने कहिल्यै बिर्सीइनन्।
उनले बनाएका डिजाइनका लुगाहरू थुप्रै चर्चित हस्तीहरूले लगाएका छन्, जस मध्य केही हुन् - डेनमार्ककी राजकुमारी मेरी, अस्ट्रेलियाकी पहिलो महिला प्रधानमन्त्री जुलिया गिलार्ड, र अस्कर-विजेता, अभिनेत्री निकोल किड्म्यान।
सिड्नीमा भएको ला ट्रभियाटा ओपेरा कार्यक्रमको उद्घाटनमा लडेर गम्भीर घाइते भए पछि, शनिबार सिड्नीको एक अस्पतालमा उनको निधन भएको थियो।

एसबीएसको पूर्व प्रमुख रहेकी जाम्पाटीले सन् २०१६ मा एसबीएससँगको कुराकानीमा भनेकी थिइन् कि, थुप्रै इटालियन आप्रवासीहरूले झैँ, मैले पनि अस्ट्रेलियासँग निकै गाढा सम्बन्ध गाँसेकी छु।
सन् १९४२ मा इटालीमा जन्मिएकी जम्पाटी, ८ वर्षको छँदा सन् १९५० मा अस्ट्रेलिया भित्रिएकी थिइन्, र २४ वर्षको उमेरमा आफ्नो फेसन लेबल सुरू गरेकी थिइन्।
सानो उमेरमा इटालीको लोम्बार्डी क्षेत्रमा हुर्किएको हुनाले, त्यसको सुन्दर प्रभाव उनका लुगाका डिजाइनहरूमा पनि परेको देखिन्छ।
उनका डिजाइनहरू मनपराउने मध्य राजनीतिज्ञ र कलाकार देखि लिएर राजकुमारीहरू पर्ने, स्टेलर म्यागजिनकी सम्पादक, सेरा ला'मार्केन्ड बताउँछिन्।

अस्ट्रेलियाको सबै कार्यक्षेत्रका मानिसहरूले जम्पाटीको लागि श्रदान्जली व्यक्त गरेका छन्।
देशले एक महान र प्रेरणादायक व्यक्ति गुमाएको, प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो बयानमा बताएका छन्।
कार्ला जाम्पाटी ब्राण्डका लुगाहरूको डिजाइन बदलिँदो समयसँग पुरानो नहुने हुनाले, कैयौँ अस्ट्रेलियालीहरूको प्यारो रहेको, एबीसीकी अध्यक्ष, क्लियो म्यागजिनकी पूर्व संस्थापक एवं सम्पादक, र जम्पाटीको नजिकी मित्र, आइटा बट्रोज बताउँछिन्।
जाम्पाटीले सन् १९९९ देखि सन् २००९ सम्म, १० वर्ष एसबीएसमा अध्यक्षको भूमिका निभाएकी थिइन्, र एसबीएस व्यवस्थापनले उनलाई एक अद्भुत र उर्जाशील व्यक्तित्वको रूपमा याद गरेको छ।
यो पनि पढ्नुहोस्:

अस्ट्रेलियाको सबैभन्दा धनीको सूचिमा घले दम्पती पहिलो १०० मा परेनन्

आफू एक सफल व्यक्ति हुनु मात्र होइन, उनले सधैँ युवा पिढीलाई पनि उनीहरूको लक्ष पूरा गर्न मद्दत गर्ने गरेको, अस्ट्रेलियन मल्टिकल्चरल फाउन्डेशनको भनाइ छ।
त्यस्तै, उनले आवश्यकता परेको बेलामा सधैँ इटालियन समुदाय पनि मद्दत गर्ने गरेको, इटालियन चेम्बर अफ कमर्सकी प्रमुख कार्यकारी अधिकृत रकेले ग्रासी बताउँछिन्।
आजको आधुनिक जमानामा, आफ्ना डिजाइनहरूले अस्ट्रेलियाली महिलाहरूलाई आत्मविश्वासी बनाउने कार्यमा उनी सधैँ प्रतिबद्ध रहेको, उनको फेसन हाउसले बताएका छन्।

कोरोना भाइरस महामारीका कारण उनका केही बुटिकहरू बन्द हुन बाध्य भएका थिए।
एसबीएस इटालियनसँग गत मार्च महिनामा भएको अन्तिम अन्तर्वार्तामा उनले, त्यो कठिन समयले आफूलाई झनै प्रेरित गरेको बताइन्।
जम्पाटीका तीन सन्तान र ९ नातिनातिना छन्।
फेसन डिजाइनर नै रहेकी उनकी छोरी बियाँका स्पेन्डर भन्छिन्, आफ्नी आमाले इतिहास कोरेर गएको, र परिवार, इष्टमित्र र उनका डिजाइन लगाउने विश्वभरका सबै महिलाहरूको मनमा रहिरहने छिन्।









