न्यु साउथ वेल्सको एक नेपाली रेस्टुरेन्ट र त्यसका सञ्चालकलाई सन् २०२३ मा फैलिएको साल्मोनेला प्रकोपसँग सम्बन्धित एक खाद्य सुरक्षा उल्लङ्घनको घटनामा दोषी ठहर भएका छन्। दक्षिण पश्चिमी सिड्नीको क्याम्प्सीस्थित खुकुरी नेपाली रेस्टुरेन्टका रूपमा व्यापार गर्दै आएको वाईडीआर हस्पिट्यालिटी ग्रुप प्रोप्राइट्री लिमिटेड र यसका निर्देशक ज्वलन्त खतिवडालाई २१ अप्रिल सन् २०२६ मा बर्वुड लोकल कोर्टले न्यु साउथ वेल्स फुड एक्ट २००३ अन्तर्गत दोषी ठहर गर्दै ३७ हजार ५ सय डलर जरिमाना गरेको हो।
वाईडीआर हस्पिट्यालिटी ग्रुप प्रोप्राइट्री लिमिटेडमाथि सरसफाइ तथा पेस्ट कन्ट्रोल वा किराफट्याङ्ग्रा नियन्त्रणमा लापरबाही गरेको, साथै खाद्यजन्य रोग फैलाउने असुरक्षित खाना बिक्री गरेको लगायत १२ वटा आरोप लगाइएको थियो।
न्यु साउथ वेल्स फुड अथोरिटीका प्रवक्ताले एसबीएस नेपालीलाई पठाएको प्रतिक्रियामा यो घटनाले होटल तथा रेस्टुरेन्ट व्यवसायमा खाद्य पदार्थ सुरक्षित रूपमा तयार पार्ने र सरसफाइ कायम राख्ने अभ्यासको महत्त्व उजागर गरेको बताएका छन्।
अथोरिटीले खाद्य व्यवसाय सञ्चालन गर्नेहरूले आफूले तयार पार्ने र बिक्री गर्ने खानासँग सम्बन्धित जोखिमबारे स्पष्ट बुझाइ राख्नुपर्ने जनाएको छ।
साथै निश्चित तापक्रममा राख्नै पर्ने खाद्य सामग्री सही तरिकाले भण्डारण गर्नुपर्ने, खाना स्वच्छ रूपमा तयार गरी सुरक्षित तापक्रममा पकाउनुपर्ने तथा दूषित हुन नदिन सबै स्थान प्रभावकारी रूपमा सफा र स्यानिटाइज गर्नुपर्ने बताएको छ।
प्रवक्ताले खाद्य व्यवसाय सञ्चालन हुने स्थानमा किरा फट्याङ्ग्रा पस्न नदिन र नियन्त्रण गर्न सबै सम्भव उपाय अपनाउनुपर्नेमा पनि जोड दिएका छन्।
“ग्राहकले आफूले खाने खाना सुरक्षित छ र सफा तथा स्वच्छ वातावरणमा तयार गरिएको छ भन्ने विश्वास गर्न पाउने अधिकार राख्छन्,” प्रवक्ताले भने।
'नेम एन्ड सेम' सुची के हो
न्यु साउथ वेल्स फुड अथोरिटीले खाद्य सुरक्षा कानून उल्लङ्घन गरेका वा उल्लङ्घन गरेको आरोप लागेका व्यवसायहरूको नाम सहितको सूची सार्वजनिक रुपमा राख्ने गर्छ।
नेम एन्ड सेम सुचीले उपभोक्तालाई कहाँ खाने वा किनमेल गर्ने भन्नेबारे जानकारीसहित निर्णय लिन सहयोग पुर्याउँछ।
सबैभन्दा धेरै कुन ठाउँका खाना असुरक्षित
न्यु साउथ वेल्समा यो सूची सुरु भएयता खाद्य सुरक्षा उल्लङ्घनसम्बन्धी सबैभन्दा धेरै जरिवाना सूचना सिटी अफ सिड्नी, ब्लाकटाउन, विलाबी र बर्वुडका स्थानीय सरकारी क्षेत्रमा जारी गरिएको फुड अथोरिटीले जनाएको छ।
ती क्षेत्रमा खाद्य व्यवसायको सङ्ख्या धेरै भएकाले यस्तो अवस्था देखिएको बताइएको छ।
सन् २०२४–२५ आर्थिक वर्षमा राज्यमा जरिवाना हुने सबैभन्दा सामान्य खाद्य सुरक्षा उल्लङ्घनहरूमा फोहोर खाद्य परिसर, गलत खाद्य भण्डारण र अपर्याप्त हात धुने सुविधा रहेका थिए।
सबैभन्दा धेरै जरिवाना कतिसम्म
न्यु साउथ वेल्सको कानून अनुसार लोकल कोर्टमा दायर गरिने खाद्यसम्बन्धी अपराधमा प्रति कसुर अधिकतम १० हजार डलरसम्म जरिवाना हुन सक्छ।
प्राधिकरणले हालैको अर्को मुद्दाको बारेमा पनि उल्लेख गरेको छ, जसमा क्राउन प्लाजा टेरिगल प्यासिफिकलाई सन् २०२२ मा पाहुनाहरू बिरामी पर्ने गरी साल्मोनेला टाइफिम्युरियमयुक्त असुरक्षित खाना बिक्री गरेको आरोपमा मार्च सन् २०२६ मा दोषी ठहर गरिएको थियो।
गसफोर्ड लोकल कोर्टमा भएको सुनुवाइमा होटेललाई चार प्रमुख कसुरमा दोषी ठहर गर्दै ५३ हजार डलरभन्दा बढी जरिवाना तथा व्यावसायिक खर्च तिर्न आदेश दिइएको छ।
उनीहरूलाई चारवटा कसुरका लागि उपलब्ध अधिकतम १० हजार डलरका दरले जरिवाना गरिएको थियो।
साथै, १३ हजार डलर व्यावसायिक खर्च र ३४२ डलर अदालत शुल्क पनि तिर्न आदेश दिइएको थियो।
न्यु साउथ वेल्समा खुकुरी नेपाली रेस्टुरेन्टको जस्तो खाद्य व्यवसायसँग सम्बन्धित साल्मोनेला प्रकोप विरलै देखिने गरेको अथोरिटीले जनाएको छ।
यद्धपि ओजीफूडनेटको तथ्याङ्कअनुसार, अस्ट्रेलियाभर प्रत्येक वर्ष करिब ४१ लाख ग्यास्ट्रोएन्टराइटिसका घटना खाद्यजन्य रोगका कारण हुने गर्छन्, जसबाट अर्थतन्त्रमा वार्षिक करिब २ अर्ब ८१ करोड डलर बराबरको भार पर्ने अनुमान गरिएको छ।





