यस हप्ताका प्रमुख समाचारमा,
- प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता सम्बन्धी विधेयक दोस्रो पटक राष्ट्रपतिलाई पठाएका छन्। यो भन्दा पहिलो गत महिना राष्ट्रपति विद्यादेवी भण्डारीले त्यो विधेयक प्रमाणीकरण नगरी पुनर्विचारका लागि संसद्मा फिर्ता पठाएकी थिइन्। तर संसद्ले त्यसमा केही फेरबदल नगर्ने निर्णय गरेको छ भने नेपालको कानुन अनुसार राष्ट्रपति भण्डारीले दोस्रो पटक विधेयक प्रमाणीकरण गर्नै पर्ने हुन्छ।
- नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि बलात्कारको आरोप लागेको छ। एक १७ वर्षीय किशोरीले उनी विरुद्ध उजुरी दर्ता गरेपछि नेपाल प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ। ट्रिनिडाड एन्ड टोबागोमा रहेका लामिछानेले आफू निर्दोष रहेको भनेर सामाजिक सञ्जालमा लेखेका छन् र नेपालको कानुनमा भरोसा राखेर फर्केर आउने बताएका छन्। यसै हप्ता नाबालिगको बलात्कार गरेको आरोपमा थुनामा परेका अभिनेता पल शाहलाई पनि साढे दुई वर्षको जेल सजाय सुनाइएको छ।
- नेपालमा डेंगु र कोभिडको प्रकोप फैलिरहेको छ। डेंगुबाट चार जनाको निधन भइसकेको छ भने कोरोनाका सक्रिय सङ्क्रमित मानिसको सङ्ख्या २००० भन्दा बढी रहेको छ।
- र, बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनपछि नेपालले तीन दिन शोक मनाउने निर्णय गरेको छ।
यसै हप्ता ९६ वर्षको उमेरमा दिवङ्गत भएकी महारानी एलिजाबेथ संसारकै सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र प्रमुख थिइन्।
७१ वर्ष लामो शासनकालमा उनी दुई पटक नेपाल आएकी थिइन्, जुन नेपाल र ब्रिटेनबिचको लामो ऐतिहासिक सम्बन्धको प्रमाण पनि थियो।
महारानी एलिजाबेथको राज्याभिषेकसँग नेपालको प्रसङ्ग जोडिएको पनि ऐतिहासिक संयोग रहेको थियो।
सन् १९५३ मा सगरमाथामाथि पहिलो मानव पाइला परेको वर्षमा एलिजाबेथको राज्याभिषेक भएको थियो।
न्यु जिल्यान्डका एडमण्ड हिलरी र नेपालका तेन्जिङ नोर्गेले पहिलो पटक सगरमाथा आरोहण गरेको खबर एलिजाबेथको राज्याभिषेककै दिन मात्र बेलायत पुगेको थियो, र पत्रपत्रिकाले ती दुवै खबर एकै दिनमा पहिलो पृष्ठमा छापेका थिए।
सन् २०१७ मा पहिलो पटक महारानी एलिजाबेथ र उनका पति राजकुमार फिलिप नेपाल आएका थिए।
राजा महेन्द्रले उनीहरूको स्वागत गरेका थिए, र उनीहरूका लागि बाघ र गैँडाको सिकारको आयोजना गरेका थिए।

त्यस बेलामा महारानी एलिजाबेथले राजा महेन्द्रलाई उपहार दिएको बग्गी राजा वीरेन्द्रको राज्याभिषेकमा पनि प्रयोग गरिएको थियो।
दोस्रो पटक सन् १९८६ मा एलिजाबेथ र फिलिप फेरी नेपाल आएका थिए, र यस पटक भने बाघ र गैँडा संरक्षित वन्यजन्तुको सुचीमा परिसकेकाले सिकार आयोजना गरिएन।
नेपालका धेरै मानिस ब्रिटेनको सेनामा विगतमा लडेका र अहिले पनि रहेकाले पनि ब्रिटेनसँग नेपालको विशेष सम्बन्ध रहेको छ।

यसका साथै ब्रिटेन नेपालको ऐतिहासिक मित्र राष्ट्र भएकाले नेपाल सरकारले महारानी एलिजाबेथको निधनमा तीन दिन शोक मनाउने निर्णय गरेको छ।
सरकारी कार्यालय बन्द नहुने तर झण्डा हरू आधा झुकाइने बताइएको छ।
महारानी एलिजाबेथको निधनमा नेपालका थुप्रै उच्च पदस्थ अधिकारीले श्रद्धाञ्जली दिएका छन्।
नेपालस्थित बेलायती दूतावासमा राखिएको श्रद्धाञ्जली पुस्तिकामा सर्वप्रथम राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देश लेखेकी छिन् भने प्रधानमन्त्री शेर बहादुर देउवा, भूतपूर्व राजा ज्ञानेन्द्र शाह, र ब्रिटेनका लागि नेपालका भूतपूर्व राजदूत दुर्गा बहादुर सुबेदीले पनि महारानी एलिजाबेथको निधनमा दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।
नेपालप्रति सद्भाव राख्ने विदेशी राष्ट्रप्रमुख गुमाएकोमा धेरै साधारण नेपालीले पनि समवेदना व्यक्त गरेका छन्।






