क्रिकेटमा पुरुष तर्फको आईसीसी टी-२० वर्ल्ड कप प्रतियोगिता १६ अक्टोबरदेखि अस्ट्रेलियामा सुरु भएको छ।
क्रिकेट प्रेमीहरूका लागि अति प्रतीक्षित यस खेलको आयोजना हुन पाएकोमा अस्ट्रेलियालाई निकै गर्व रहेको पूर्व अस्ट्रेलियाली क्रिकेटर ब्रेट लीले बताए।
"यस मार्फत हामीले क्रिकेट मात्र नभएर, अस्ट्रेलियाले प्रदान गर्ने विभिन्न अवसरहरू पनि प्रदर्शन गर्ने छौँ," उनले एसबीएससँगको कुराकानीमा बताए।
"मानिसहरू जहाँबाट आए पनि, उनीहरूका विश्वास जे भए पनि - हामी सबैलाई अस्ट्रेलियामा आएर क्रिकेट हेर्न खुला हृदयका साथ स्वागत गर्दछौँ।"

विश्व जगतमा नेपाली क्रिकेट
नेपालमा हाल जारी टी-२० लिगमा ली मेन्टरको रूपमा गत सेप्टेम्बरमा पुगेका थिए।
उनी भन्छन् कि नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय मैदानमा पुराउन "दर्शक"को आवश्यकता छ।
"यस्तो रूपमा विकास भएमा आउँदा पाँच देखि दस वर्ष भित्र नेपाली क्रिकेटरहरू पनि आइपिएलमा खेलेको देख्न सकिन्छ," उनले बताए।
नेपाली खेलाडीहरूलाई ठूलो मैदानमा लैजान र उनीहरूको सहजता अनुसार माथिल्लो स्तरमा पुराउन आवश्यकता छ। नेपालले भारत, पाकिस्तान र श्रीलङ्काको जस्तो दर्शक सङ्ख्या पाएको छैन।ब्रेट ली, पूर्व अस्ट्रेलियाली क्रिकेटर

क्रिकेटमा दक्षिण एसियाको सहभागिता र विकास
सन् २००२/०३ को आइसीसी वर्ल्ड कपको अन्तिम खेलदेखि दक्षिण एसियाली क्रिकेटमा धेरै प्रगति भएको ली बताउँछन्।
"सन् २००२ को खेलमा भारतलाई 'वास्तवमा हामीले पनि जित्न सक्छौँ ' भन्ने लागेको थियो," उनले भने।
"अस्ट्रेलियाले दक्षिण एसियाली क्रिकेटबाट धेरै कुराहरू सिकेको छ, र त्यस्तै गरी, यहाँका प्रशिक्षकहरू आइपिएलमा जाँदा भारतमा पनि धेरै मद्दत पुगेको छ।"

क्रिकेट प्रेमीहरूका लागि यो एक खेल मात्र नभएर संस्कृतिको रूपमा लिइन्छ।
एसियाली पृष्ठभूमिका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा पुग्नको लागि हरेक अवसरको उपयोग गर्नु पर्ने लीले बताए।
"यदि कसैलाई राम्रो क्रिकेटर बन्नु मन छ भने, आफू भन्दा धेरै सीप जान्ने मान्छेसँग खेल्नु पर्छ, र गएका केही दशकमा सोही भएको छ।"






