सिड्नीकी विद्यार्थी लक्ष्मी बुढाथोकीलाई नेपालमा रहेको आफ्नो स्कुटर बेच्नुपरेको थियो तर आफूलाई यसको प्रक्रिया थाहा नहुँदा अलमलमा परेको बताउँछिन्।
अस्ट्रेलियाबाट नै स्कुटर बेच्न खोज्दाको अनुभव उनले यसरी सुनाइन्।
नेपालमा रहेको मेरो स्कुटर बेच्नुपरेको थियो, सुरुमा त मैले मिल्दैन होला सोचेको थिए, तर यहीँबाट नेपालमा रहेको सवारी साधन बेच्न मिल्छ भन्ने थाहा पाउँदा खुसी लाग्यो। प्रक्रिया राम्रोसँग थाहा छैन, नेपालदेखि नै डकुमेन्ट मगाउनुपर्ने रहेछ।लक्ष्मी बुढाथोकी, विद्यार्थी
मेलबर्नमा रहेकी स्नेहा शर्मा विदेशमा रहेकाहरूलाई यो व्यवस्था सहयोगी हुने धारणा राख्छिन्।
“अस्ट्रेलियामा बसेर नेपालमा रहेका आफ्ना सवारीसाधन बिक्री गर्न मिल्छ भन्नेबारे जानकारी त छैन, तर यस्तो सुविधा हुनु एकदम नै राम्रो हो, सानो सानो कामको लागि नेपाल गइरहनु परेन।”
क्यानबरास्थित नेपाली दूतावासका उपप्रमुख कुलबहादुर मगर भन्छन् कि आफ्नो नाममा नेपालमा रहेका सवारी साधन बेच्नको लागि ‘पावर अफ एटर्नी’ अर्थात् अधिकृत वारेसनामा प्रक्रियाको प्रयोग हुन्छ।

अधिकृत वारेसनामा भनेको आफ्नो अधिकार अरू कोही व्यक्तिलाई दिनु हो।
यसको कानूनी प्रक्रिया रहेको मगरले बताएका छन्।
जुन व्यक्ति अस्ट्रेलियामा छ, तर नेपालमा सवारी साधन बेचबिखन गर्नुपर्ने हो भने सम्बन्धित व्यक्ति नै नेपाल जानु पर्ने हो, तर अधिकृत वारेसनामा बनाएर आफ्नो अधिकार अर्को व्यक्तिलाई दिन सकिन्छ। त्यसको लागि वारेसनामाको डकुमेन्ट लिएर दूतावासमा आएर राजदूत समक्ष सहीछाप गरी प्रमाणीकरण गर्नुपर्छ र डकुमेन्ट नेपाल फिर्ता पठाउनुपर्छ।कुलबहादुर मगर, उपप्रमुख, नेपाली दूतावास क्यानबरा
नेपालको कानूनले तोकेको वारेसनामाको ढाँचाबारे सबैलाई थाहा नहुन सक्ने भएकाले, यस प्रक्रियाको लागि वकिलको सहायता लिन उचित हुने उनले बताए।
वारेसनामा प्रमाणीकरणका लागि भने राजदूतको उपस्थिति चाहिने हुनाले दूतावास पुगिसकेपछि फर्कन नपरोस् भनेर आफू जानु अघि नै दूतावासको वेबसाइटमा अपोइन्टमेन्टको लागि व्यवस्था गरिएको मगरले बताएका छन्।
राजदूतले मात्र प्रमाणीकरण गर्नुपर्ने हुँदा, कहिलेकाहीँ राजदूत कुनै कारणवश दूतावास बाहिर जानुभएको अवस्थामा मानिसहरू फर्कनु नपरोस् भनेर अपोइन्टमेन्टको व्यवस्था गरिएको छ।कुलबहादुर मगर, उपप्रमुख, नेपाली दूतावास क्यानबरा
बाइक र स्कुटर जस्ता दुई पाङ्ग्रे सवारी साधनका लागि मन्जुरीनामा भए पुग्ने, र त्यसमा दूतावासबाट राजदूत बाहेक अन्य अधिकृतको हस्ताक्षर भए पनि पर्याप्त हुने मगरले बताए।
तर चार पाङ्ग्रे गाडीका लागि भने वारेसनामा नै चाहिने उनको भनाइ छ।

त्यस्तै, नेपालबाट यसरी कानूनी कागजात अस्ट्रेलिया पठाउँदा चाहिँ के-के कुरामा ध्यान दिनु पर्छ त?
नेपालबाट वारेसनामाको कागजात अस्ट्रेलिया पठाउँदा या त कुरियर गरेर पठाउनु पर्छ।
इमेलमार्फत पठाउने हो भने, अस्ट्रेलियामा त्यसलाई अनिवार्य रूपमा नेपाली कागजमा प्रिन्ट गरेर दूतावासमा पेस गर्नु पर्ने मगरले बताए।
त्यस्तै, दूतावासबाट हस्ताक्षर भए पछि क्यानबराको नेपाली दूतावासले आफ्नो वेबसाइटमा त्यस कागजातको सफ्ट कपी अपलोड गर्ने, तर सम्बन्धित व्यक्तिले कुरियर मार्फत नै नेपाल पठाउनु पर्ने उनको भनाइ छ।
यस सम्पूर्ण प्रक्रियाका लागि तपाईँले दूतावासले तोके अनुसार शुल्क तिर्नु पर्ने हुन्छ।
यसरी कानूनी पाटो पूरा गरेर तपाईँले आफू अस्ट्रेलिया भए तापनि नेपालमा रहेको आफ्नो नामको सवारी साधन बेच्न सक्नु हुन्छ।
प्रक्रिया बुँदागत रूपमा:
- अधिकृत वारेसनामाको लागि वकिलद्वारा नेपालको कानून अनुसार कागजात तयार गरिन्छ।
- उक्त वारेसनामा नेपालबाट कुरियर गरेर अस्ट्रेलिया पठाउनु पर्छ। यदि इमेलबाट पठाउने हो भने त्यसलाई अस्ट्रेलियामा नेपाली कागजमा प्रिन्ट गर्नुपर्छ। नेपाली कागज भने अनिवार्य छ ।
- त्यसपछि क्यान्बरास्थित दूतावासको वेबसाइटबाट प्रमाणीकरणको लागि अपोइन्टमेन्ट बुक गर्नु पर्छ।
- दूतावासमा नागरिकता वा पासपोर्ट सहित उपस्थित भएर राजदूतको अघि वारेसनामामा हस्ताक्षर भए पछि त्यसको प्रमाणीकरण हुन्छ।
- पुनः उक्त डकुमेन्ट कुरियर गरेर नेपाल पठाएपछि तपाईँको अनुपस्थितिमा वारेसनामामा उल्लेखित अर्को व्यक्तिले सवारी साधन बेच्न पाउँछन्।







