नयाँ वर्ष सन् २०२१ सालको यो पहिलो महिना - जनवरी। र धेरै मानिसहरूले वर्ष भर स्वास्थ्य र फिट रहन वर्षको यो पहिलो महिनामा सङ्कल्प गर्छन्, आफैँ सँग वाचा गर्छन्। तर, कोभिड-१९ महामारीका कारण लागु गरिएका सामाजिक दुरीका प्रतिबन्ध र लकडाउनहरूका कारण थुप्रै मानिसहरूले शारीरिक र मानसिक रूपमा स्वस्थ रहनका लागि जिम जानुको साटो अन्य उपायहरू अपनाउन थालेका छन्।
सबै तिर लकडाउन, सामाजिक दुरी र घरै बस्ने नियम लागु हुँदा, वर्कआउट अर्थात् व्यायाम गरी अनलाइन माध्यमहरूमा राखिएका भिडियोहरू आज भोलि निकै चर्चामा रहेका छन्।
लन्डनमा हालै तेस्रो चरणको कडा लकडाउन सुरु भएको छ। र त्यहाँको लन्डन फिटनेस स्टुडियोका विज्ञहरूले नोगा (NOGA) भनिने एउटा नयाँ योजना सुरु गरेका छन्। यो, योगालाई सजिलो ढङ्गले गर्नका लागि तयार पारिएको योगा प्रशिक्षक एलेक्जान्ड्रा ग्रिम्श बताउँछिन्।

'योगा गर्न मन नलाग्ने मानिसहरूको लागि मैले नोगा तयार परेकी हुँ।', उनी भन्छिन्।
'"ओम" जस्ता शब्दहरूको जप गर्दा धेरै मानिसहरू अप्ठ्यारो महसुस गर्छन्। नोगामा हामीले संस्कृत शब्दहरूको प्रयोग गर्दैनौँ, र साथै योगा गर्दा शरीरका विभिन्न आसनहरूले जस्तै फाइदा यसले दिन्छ।'
यो विधि अपनाउँदा प्रशिक्षकहरूले आफ्नो शरीरको वजन या टिआरएक्स हार्नेसको (TRX harness) प्रयोग गर्छन्। यो कोठाको सिलिङबाट झुन्डाइन्छ र यसको इलास्टिकले व्यायाम गर्न मद्दत गर्छ।
लकडाउनले गरेको अर्को प्रभाव भने - हामीले स्क्रिनको अगाडी बिताउने समय निकै बढेको छ। हामी मध्य धेरै जना घरबाटै आफ्नो कम्प्युटर, ल्यापटप र मोबाइल फोनबाट काम गर्छौँ। आफ्ना साथीभाइ परिवार सँग कुरा गर्नका मोबाइल फोनको प्रयोग गर्छौँ, र टिभीमा पनि त्यत्तिकै धेरै समय बिताउँछौँ।
यसका कारण योगा र व्यायामको आवश्यकता हाम्रो शरीरलाई मात्र होइन, हाम्रा आँखालाई पनि रहेको 'अनुहारको योगा सम्बन्धी विज्ञ' डानियेल कोलिन्स बताउँछिन्।
उनी आँखाको लागि हजारौँ वर्ष देखि चलिआएका परम्परागत योगा विधिहरूको प्रयोग गर्छिन्, र त्यससँगै छाला र अनुहारका मांसपेशीहरूको बारेमा अनुसन्धान गरी, त्यसबारे रहेका आधुनिक ज्ञानको पनि प्रयोग गर्छिन्।
कोलिन्सका वर्कआउट भिडियोहरू पनि अनलाइनमा पाउन सकिन्छ।

त्यस्तै गरी, घरमा व्यायाम गर्न गाह्रो लाग्ने मानिसहरूका लागि, छिट्टै स्वस्थ र फिट हुने अर्को एउटा विकल्प पनि छ - TruSculpt Flex। यो तरिकाले शरीरका मांसपेशीहरूमा कम दबाब पर्छ, र ती छिट्टै 'टोन अप' हुन्छन्। यसलाई मसल स्कल्प्टिङ पनि भनिन्छ।
यो अमेरिकामा बिकास भएको पद्धति हो, र आज यसको प्रयोग हस्तीहरू माझ निकै चर्चित बनेको छ।
यसमा पेट, खुट्टा, हात लगायत शरीरका अन्य भागहरूमा विशेष किसिमको प्याडको प्रयोग गरिन्छ।
डाक्टर प्रीमा भिगले बेलायतमा पनि यसको परिचय गराएकी छिन्।
चौध दिनको अवधिमा चार वटा ४५ मिनेटका सेसनहरू हुन्छन्, र दोस्रो दिन भन्दा अगाडी नै यसको नतिजा देखिन थाल्ने डाक्टर भिग बताउँछिन्।
नोगा, आँखाको योगा, या मसल स्कल्प्टिङ - आफूलाई सजिलो हुन्छ भने, र आफ्नो क्षेत्रका प्रतिबन्धहरूले दिन्छ भने, घर बाहिर छोटो समयको लागि हिँड्दा पनि स्वास्थ्यलाई फाइदा पुग्छ।
यस नयाँ वर्ष आफूलाई स्वास्थ्य र तन्दुरुस्त राख्न तपाईँले के-के गर्ने सोच्नु भएको छ त?





