आफ्नै एउटा घर हुनुलाई "दि ग्रेट अस्ट्रेलियन ड्रिम" वा 'अस्ट्रेलियालीहरूको ठुलो सपना'को रूपमा लिने गरिन्छ।
तर घरहरूको अहिलेको मूल्य कति बढेको छ भन्ने समस्यालाई धेरै अनुसन्धानहरूले देखाइसकेका छन्।
घरजग्गाको किफायती मूल्यबारेको पछिल्लो अनुसन्धान भई रहँदा गत वर्ष नै पूर्व ट्रेजरर जश फ्राईडेन्बर्गले यो कुरालाई स्वीकारेका थिए।
"२५ देखि ४४ वर्ष समूहमा रहेकाहरू घर मालिक बन्ने क्रम घटेको छ।"
घर किन्ने सम्बन्धमा देखिएको उक्त गिरावटको ढाँचा भाडाका घरहरूमा पनि देखिन थालेको छ।
घर किन्ने सपना त परको कुरा भाडाको घर खोज्दा खोज्दै ६ महिना बितिसकेको क्यानबेरा निवासी रितेश पाण्डेले बताएका छन्।
"रेन्ट महँगो प्लस हामीले एजेन्सीमा गएर माग्दा पनि रुम नपाउने त्यस्तो अवस्था छ यहाँ। मैले आफैँले खोज्न थालेको आज छ महिना भइसक्यो।"
बजारमा राखिएका घरहरू पाउन धरौटी पनि दिने साथै अलिकति बढाएर भाडा तिर्ने भन्दा पनि आवेदनहरू अस्वीकार हुने गरेको पाण्डेको अनुभव छ।
सन् २०२१ को जनगणनाले आफ्नो घर भाडामा लगाउनेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको देखाएको छ, विशेष गरी पछिल्ला केही वर्षहरूमा।
बेटर रेन्टिङ्ग नामक भाडामा बस्नेहरूको समूहका जोल डिग्नम भन्छन् यस्तो किसिमको बसाइ प्रबन्ध अहिले निकै धेरै देखिने गरेको छ।
"र अहिले अस्ट्रेलियामा लगभग ७० लाख जति मानिसहरू भाडामा बसिरहेका हुन सक्छन्। यो एकदमै ठुलो जनसङ्ख्या हो।"
जीवनभर घर भाडामा बस्ने प्रस्ताव आइरहँदा धेरै प्रमाणहरूले के देखाएको छ भने यो सजिलो भने छैन।
पुरा रिपोर्ट सुन्नुहोस्: भाडामा बस्ने घर पाउन र त्यसलाई जोगाउन तनाव बढ्दोहाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
एङ्ग्लिकेयर अस्ट्रेलियाले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार यसको प्रभाव महसुस गर्नेमा सामाजिक कल्याण भुक्तानीको सुविधा लिनेहरू मात्र छैनन्, फुल टाइम काम गर्नेहरू पनि यसबाट प्रभावित भएका छन्।
एङ्ग्लिकेयरकी कार्यकारी निर्देशक क्यासी चेम्बर्स भन्छिन् १० वर्ष अगाडी देखि गरिएको अध्ययनको सुरुवातमा अवस्था खराब नै देखाएको थियो तर समयसँगै यो झन् खराब हुँदै गएको पाइएको छ।
भाडामा बस्नेहरूको लागि सबैभन्दा ठुलो समस्या भनेको यसको मूल्य नै हो।
भाडामा घर लिन निकै महँगो छ र भाडामा बस्नेहरूको समूहहरू भन्छन् त्यसरी घर भाडामा लिएर बस्नेहरूका लागि प्रदान गरिने सुरक्षामा कमी छ।
विशेष गरी त्यस्ता स्थानहरूको गुणस्तर र कति अवधिसम्म बस्न मिल्छ भन्ने व्यवस्थालाई लिएर पर्याप्त सुरक्षा नभएको उनीहरूको भनाइ छ।
साथै घर धनीहरूले भाडाको रकममा कतिसम्म वृद्धि गर्न सक्छन् भन्नेबारे कुनै सीमितता नभएको जोल डिग्नम बताउँछन्।
"र यो (घर भाडा किफायतीका चुनौतीहरू) अहिले सहरहरू साथसाथै ग्रामीण क्षेत्रमा पनि निश्चित रूपमा प्रवेश गरिसकेको छ।"
प्रोपर्टी काउन्सिल अफ अस्ट्रेलियाका प्रमुख कार्यकारी केन मोरिसन अघिल्लो सरकारको प्रतिवेदनले पनि यो अवस्था सुध्रनु पूर्व अझ बिग्रने देखाएको बताउँछन्।
"साँच्चिकै भन्दा आगामी चार वर्षमा हामीले घरहरूको आपूर्तिमा तिन गुणाले कमी आउने अपेक्षा गरेका छौँ, त्यो पनि यस्तो समयमा जब हाम्रो जनसङ्ख्या वृद्धि भने सामान्य बन्दै छ, अहिले अन्तर्राष्ट्रिय सीमाहरू खुलेपछि।"
केन मोरिसन भन्छन् माग अनुसार कम आपूर्ति भएका कारण भाडामा बढ्ने घरहरूको भाउ बढेको छ।

जे कारणले मूल्य बढेको भए पनि मानवीय तत्त्वलाई भने बिर्सन नहुने भाडामा बस्नेहरूको समूहहरू बताउँछन्।
जोल डिग्नम सबैले बस्नको लागि स्थान पाउनु पर्ने बताउँदै भन्छन्, अहिलेको बजार भाडामा बस्नेहरूको पक्षमा छैन।
"यो घरधनीहरूको बजार हो र मानिसहरूले जे भेट्टाउँछन् त्यही लिइरहेका छन्।"
क्यानबेराका रितेश पाण्डेले जति भाउ राखे पनि मान्छेले घर पाउन प्रतिस्पर्धामा उत्रनै पर्ने बाध्यता रहेको बताए।
एङ्ग्लिकेयरकी क्यासी चेम्बर्सले बारम्बार एक ठाउँबाट अर्को ठाउँमा सर्दा व्यक्ति र परिवारहरूलाई नराम्रो प्रभाव पार्ने धेरै उदाहरणहरू देखेको बताइन्।
"हामीले एक जना आमासँग कुरा गरेका थियौँ र उनको छ वर्षीय बच्चा आठ फरक विद्यालय र बाल स्याहार केन्द्रहरूमा गएका थिए।"
उनका अनुसार सरकारी आवास व्यवस्था कम आय भएकाहरूका लागि सही विकल्प होइन किनभने यसका लागी निकै लामो समय पर्खनु पर्छ, चाहे अवस्था जतिसुकै नाजुक किन नहोस्।
यथार्थमा सरकारी वासस्थानको सङ्ख्याहरू त घट्ने क्रममा रहेको चेम्बर्स बताउँछिन्।

एङ्ग्लिकेयरको नयाँ रिपोर्टले किफायती वासस्थानको सङ्कटबाट बाहिरिन एक योजना प्रस्तुत गरेको छ।
उनीहरूले निजी घरलाई भाडामा लगाउने प्रणालीमा सुरक्षित र लामो समयका लागि उपलब्ध गराउने ढाँचाको प्रयोग गर्न भनेका छन्।
चेम्बर्स भन्छिन् उनीहरूको योजनामा कर प्रणालीमा सुधार प्रमुख रहेको छ किनभने उनीहरूका अनुसार अहिलेको प्रणालीले अवस्था झन् बिगारेको छ।
प्रोपर्टी काउन्सिल पनि कर प्रणालीमा परिवर्तन चाहन्छ।
केन मोरिसन भन्छन् केही समायोजनहरूले पनि सस्तो आवास वितरणलाई प्रोत्साहन गर्न सक्छ।
"सस्तोमा आवास प्रदान गर्न सामुदायिक आवास प्रदायकहरूलाई थप सहायता गर्ने। साथै निजी निर्माणकर्ताहरूलाई पनि भाडामा लगाउने घरहरूको परियोजनामा किफायती भाउमा घर उपलब्ध गराउन प्रोत्साहन गर्ने।"
यी सम्भावित परिवर्तनहरू कहिले सम्ममा कार्यान्वयन हुन्छन् भन्ने स्पष्ट छैन।
सङ्घीय ट्रेजरर जिम चामर्सले आगामी अक्टोबरको बजेटमा मानिसहरूले चाहेको जस्तो सबै कुरा नभएको सङ्केत गरिसकेका छन्।
यो पनि पढ्नुहोस्

घरजग्गाको भाउ किफायती बनाउन अस्ट्रेलिया सरकारमाथि जोड






