हवाई दुर्घटनामा पाँचको मृत्यु
नेपालमा फेरी अर्को हवाई दुर्घटना भएको छ। काठमाण्डूबाट रसुवाका लागि बुधवार उडेको एअर डाइनेस्टीको '९ एन-एजेडी' हेलिकप्टर नुवाकोटमा दुर्घटनाग्रस्त भएको हो।
हेलिकप्टर चार जना यात्रु बोकेर काठमाण्डूबाट रसुवाको स्याफ्रुबेँसीका लागि उडेको थियो। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हेलिकप्टरमा रहेका पाइलट र अन्य चार यात्रुको मृत्यु भएको छ।
दुर्घटनामा परेका चार यात्रु चिनियाँ नागरिक रहेको बताइएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिउँसो १:४५ मा उक्त हेलिकप्टर उडेको थियो।
अधिकारीहरूका अनुसार उडेको तीन मिनेटमै हेलिकप्टरको सम्पर्क काठमाण्डूको टावरसँग टुटेको थियो। दुर्घटना लगत्तै बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त घटनाको छानबिन गर्न एक आयोग गठन गरेको छ।

दुई सता अघि अर्थात् जुलाई २४ मा काठमाण्डूबाट पोखराका लागि उडेको सौर्य एअरलाइन्सको विमान टेक अफ गर्ने बित्तिकै दुर्घटनाग्रस्त भएको थियो। विमानमा रहेका १८ जना मध्ये क्याप्टेन बाहेक सबैको मृत्यु भएको थियो। यस्ता घटनाले नेपालको पर्यटन क्षेत्र नै प्रभावित हुन सक्ने संचार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले बताए।
''यो नयाँ सरकार आएपछि हामीले दुई पटक शोक वक्तव्य जारी गरिसक्यौँ। त्यसैले नेपाली आकाश सुरक्षित छैन भन्ने देखि सक्यो, '' उनले भने। ''यसले सिंगो पर्यटन क्षेत्र प्रभावित छ। दुर्घटनामा परेका यात्रुहरू लगानीको क्षेत्र अवलोकन गर्न गएको देखिएको छ। यो घटनाले विदेशी लगानीलाई पनि प्रभावित पारेको छ। ''
यसैबिच अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिले हवाई सुरक्षाको मापदण्ड कार्यान्वयन बारे छानबिन गरी नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ। सोही बैठकमा नागरिक उड्डयन प्राधिकरणले प्रारम्भिक अध्ययनका अनुसार हेलिकप्टर दुर्घटना हुन सक्ने कारणबारे सांसदहरूलाई जानकारी दिएको थियो।
प्राधिकरणका निर्देशक प्रदीप अधिकारीले प्रारम्भिक अनुमान बारे समितिमा आफ्नो धारणा राख्दै भने, ''सरसर्ती हेर्दा 'ब्याड वेदरमा' हेलिकप्टर प्रवेश गरेको कारण बादलभित्र प्रवेश गरेको कारण र फर्कने क्रममा लेफ्ट टर्न गर्दा खेरी ठोक्किएको देखिन्छ। ''
भारतका विदेश सचिवको नेपाल भ्रमण
भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुई दिने भ्रमण सकेर सोमबार स्वदेश फर्केका छन्।
दुई दिने भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु देउवा राणा, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरूसँग भेट गरे। सोमबार उनले पशुपतिनाथ मन्दिरको दर्शन समेत गरे।
भारतीय विदेश सचिव मिश्रीसँगको भेटका क्रममा प्रधानमन्त्री ओलीले उनको भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा पठाएका छन्। आइतबार भएको शिष्टाचार भेटका क्रममा ओलीले निम्ता पठाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तै परराष्ट्र मन्त्री राणाले मिश्रीसँगको भेटमा दुई देशबिचको कनेक्टिभिटी बढाउने विषयमा कुराकानी गरेको बताइएको छ। परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस नोटका अनुसार मन्त्री राणाले भेटमा थप हवाई रुट उपलब्ध गर्न आग्रह गरिन्।
स्वास्थ्य बिमा बढाउने तयारी
प्रदीप पौडेलले स्वास्थ्य बिमाको दायरा कम्तीमा पाँच लाख बनाउने गरी बिमा सम्बन्धी नीतिगत र कानुनी व्यवस्था पुनरावलोकन गर्ने बताएका छन्।
मन्त्रालयको प्राथमिकता तथा कार्य योजना सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा यस विषयमा थप जानकारी दिँदै मन्त्री पौडेलले भने, ''बिमाको बारेमा हामीले बिमा यस्तो हुनपर्छ मात्र भनेका छैनौँ। बिमाको प्रिमियम कसरी बढाउनु पर्छ पनि भनेका छौँ। हामी समाधान सहित आएका छौँ। ''
पूर्व स्वास्थ्य मन्त्री, पूर्व स्वास्थ्य सचिव, स्वास्थ्य क्षेत्रका अन्य विभिन्न सरोकारवाला निकायका प्रतिनिधि र विज्ञहरूसँग सुझाव संकलन गरी उक्त कार्य योजना तयार पारेको मन्त्रालयले जनाएको छ।
देखियो हैजा
बर्खा याम सुरु भएसँगै देशभर विभिन्न स्थानमा हैजा संक्रमण फैलिएको अधिकारीहरूले बताएका छन्। इपिडिमियोलीजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार देशभर गरी ४७ जनामा यस्तो संक्रमण देखिएको छ।
संक्रमण हुनेको संख्या अझ बढी हुन सक्ने महाशाखाले अनुमान गरेको छ। सरकारी तथ्याङ्क अनुसार सबैभन्दा धेरे संक्रमण ललितपुरमा देखिएको छ। ललितपुरमा मात्र ३४ जनामा यस्तो संक्रमण देखिएको छ।
यस्तै प्युठान, रुपन्देही, कैलाली र काठमाण्डूमा पनि हैजा संक्रमण फैलिएको अधिकारीहरूले बताएका छन्।
प्रचण्डलाई नेतृत्व छाड्न सुझाव
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई पार्टीको नेतृत्व छोड्न सुझाव आएको छ।
दलका उपमहासचिव जनार्दन शर्माले बैठकमा यस्तो सुझाव दिएका हुन्। पार्टी निर्माणका समस्या समाधानका उपाय र आगामी कार्यभार शीर्षक लिखित प्रस्ताव पेस गर्दै शर्माले यस्तो सुझाव दिएका हुन्।

२०४३ सालदेखि निरन्तर दलको नेतृत्व गर्दै आएका प्रचण्डले परिवारवाद लादेको आरोप शर्माले लगाएका छन्। साथै वैचारिक मत राखे नेताहरूलाई बदनाम गर्न प्रचण्डले पार्टी तथा राज्यसत्ताको समेत दुरुपयोग गरेको आरोप लगाएका छन्।
शर्माले उनले पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्न लागेको भन्ने हल्ला प्रचण्ड प्रधानमन्त्री हुँदा बालुवाटारबाट चलाएको आरोप समेत लगाएका छन्।
यसैबिच नेकपा माओवादी केन्द्रका नेताहरूले पार्टी शुद्धीकरण अभियान चलाउन जोड दिएका छन्। स्थायी कमिटीको बैठकमा नेताहरूले यस्तो धारणा राखेको प्रवक्ता अग्नि सापकोटाले बताएका छन्।
बैठकमा राखिएका धारणाहरूबारे जानकारी दिँदै सापकोटाले भने, ''कहीँ न कहीँ हामी संसदीय परिपाटीबाट प्रदूषित भएका छौँ। त्यो प्रदूषणबाट मुक्त गर्न शुद्धीकरण अभियान चलाउनुपर्छ।''
उपाधि भिडन्तमा भारतसँग हार्यो नेपाल
काभा महिला नेसन्स भलिबल लिगमा नेपालले दोस्रो स्थान हात पारेको छ। घरेलु दर्शकले भरिएको कभर्ड हलमा भएको फाइनलमा नेपाल भारतसँग ३-२ सेटले पराजित भएको हो।
लिग चरणमा भारतलाई पहिलो पटक हराउँदै इतिहास रचेको नेपाली महिला टोलीले उपाधिका भिडन्तमा भने त्यही किसिमको प्रदर्शन गर्न सकेन।
बुधवार भएको फाइनलमा भारतले नेपालाई २३-२५, २५-१४, २२-२५, २५-२१ र १५-५ले पराजित गरेको थियो। यस अघि भने लिग चरणमा नेपालले भारतलाई हराएको थियो।
भारतमाथिको ऐतिहासिक जितका लागि आफ्नो टोलीले निकै मेहनत गरेको प्रशिक्षक जगदीश भट्टले बताएका थिए। प्रतियोगिता अघि रुसको टिमसँग अभ्यास गर्ने मौका मिलेकोले पनि नेपालको प्रदर्शनमा निकै सुधार आएको उनको भनाइ रह्यो।
दोस्रो भएको भलिबल टोलीलाई काठमाण्डू महानगर पालिकाले जनही एक लाख रुपैयाँ सहित सम्मान गरेको छ। यस्तै राष्ट्रिय खेलकुद परिषद्ले प्रतियोगितामा सहभागी खेलाडीलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिनका लागि खेलकुद मन्त्रालय मार्फत सरकारलाई सिफारिस गरेको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।







