दुर्घटनाबारे अनुसन्धान गर्नका लागि पाँच सदस्यीय जाँचबुझ टोली गठन भएको सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले बताएका छन्।
बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भित्र भएको एक विमान दुर्घटनामा सहचालक सहित १८ जनाको मृत्यु भएको छ।
नागरिक उड्डयन प्राधिकरणका अनुसार बुधवार बिहान काठमाण्डूबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान ९एन-एएमई (9N-AME) बिहान करिब ११:१२ बजे दुर्घटनामा परेको थियो। विमानमा १९ जना रहेको बताइएको छ।

''त्रिभुवन विमानस्थलबाट टेक अफ गर्ने बेला राइट टर्न भएर ब्यालेन्स बिग्रिएर चिप्लिएर ठोक्किएको हो," दुर्घटनाबारे त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले बताए।
उनका अनुसार जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै पुगेर दुर्घटनाग्रस्त भएको थियो।
उद्धारका लागि खटिएको टोलीले दुर्घटना स्थलबाट चालकलाई भने जीवितै उद्धार गरेको प्रवक्ता झाको भनाइ छ।
जहाजका चालक मनिषरत्न शाक्यको उद्धार पश्चात् नजिकैको केएमसी अस्पतालमा उपचारका लागि लगिएको अधिकारीहरुले बताएका छन्। अस्पतालले उपलब्ध गराएको विवरण अनुसार हाल उनको अवस्था सामान्य रहेको छ।
जहाज परीक्षणका लागि पोखराका लागि उडेको प्रवक्ता झाको भनाइ छ।
''सी जाँचका लागि जहाज पोखरा जाँदै थियो। जहाजमा एक विदेशी नागरिक सहित १९ जना रहेका थिए। यात्रुको सूचीमा एक बालकको पनि नाम रहेको छ," उनले भने।
यसरी ज्यान गुमाउने मध्ये एकै परिवारका तीन सदस्य रहेको बताइएको छ। अधिकारीहरूका अनुसार एयरलाइन्सका प्राविधिक मनुराज शर्मा, उनकी श्रीमती र छोराको दुर्घटनामा एकै साथ मृत्यु भएको हो।

हवाई उडानसम्बन्धी विज्ञ कुमार चालिसे यसरी जहाजको परीक्षणका लागि जान लागेको उडानमा परीक्षणका लागि चाहिने दक्ष प्राविधिक टोली बाहेक अन्य व्यक्ति लान नहुन बताउँछन्।
यसबारे प्राष्ट पार्दै उनले भने, "यो त एकदमै गैर कानुनी काम हो। यसमा प्राविधिक टोली मात्र जाने हो। त्यसमा पनि उक्त जाँचका लागि चाहिने प्राविधिकहरू मात्र।''
''परिवारका सदस्य त प्राविधिक भित्र पर्दैन त्यसैले यो कस्तो प्रक्रिया पुर्याएर अनुमति दियो त?"
प्रक्रिया पुगे नपुगेको विषयमा एसबीएस नेपालीले गरेको प्रश्नको जवाफमा प्रवक्ता झाले भने, ''सम्पूर्ण प्रक्रिया पुर्याएको थियो।''
परीक्षण गर्न समय लाग्ने भएकाले सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा एक महिनाका लागि जहाज राख्नका लागि ह्याङ्गर भाँडामा लिएको बताइएको छ।
बुधवार भएको दुर्घटनाको प्रारम्भिक विवरण हेर्दा २०७९ साल माघ १ गते पोखरा विमानस्थल नजिकै भएको अर्को एक ठुलो विमान दुर्घटनासँग मिल्दो जुल्दो देखिएको विज्ञ चालिसेले बताए।
''पोखरामा जस्तै यहाँ पनि इन्जिनले साथ नदिएको जस्तो देखिएको छ। पोखरामा जबसम्म जहाजमा स्पिड थियो तबसम्म चल्यो, स्पिड गएपछि जहाज स्पिन भयो र तल झर्यो। चालकको कुनै कन्ट्रोलनै हुँदैन त्यसमा। यहाँ पनि त्यही भएको जस्तो देखिन्छ,'' उनले भने।
''यहाँ चाहिँ टेक अफ गर्दा नै समस्या आयो। मेरो शङ्का के छ भने जहाजको दायाँ इन्जिनले काम गरेन। विभिन्न कारण हुन सक्छ। तर दायाँ इन्जिनमा पावर चाहिँ थिएन।''
प्रधानमन्त्री, गृहमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री घटना स्थलमै पुगेर दुर्घटनाबारे विवरण लिएका थिए।

यस्ता दुर्घटनाले नेपाली आकाश सुरक्षित नरहेको सन्देश अन्तर्राष्ट्रिय जगतमा जाने चालिसेले बताए।
''नेपालको उड्डयन क्षेत्र सुरक्षित छैन भन्ने त भई नै सकेको छ। त्यसै हट्छ नाम कालो सूचीबाट? यसरी हरेक वर्ष दुर्घटना हुने देशमा। यसको (दुर्घटनाको) प्रभाव त हामीलाई पर्छ," उनले भने।
युरोपियन युनियनले करिब एक दशक यता नेपाली एयरलाइन्सहरूलाई कालो सूचीमा राख्दै आएको छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।







