कोभिड-१९ महामारी सँगै अन्तराष्ट्रिय कूटनीतिक सम्बन्धहरू अनलाइनको दुनियाँमा सरेका थिए। विश्वका प्रमुख नेता तथा अधिकारीहरूले थुप्रै महत्त्वपूर्ण वार्ताहरू भिडियो कन्फरेन्स मार्फत गर्दै आएका छन्।
तर यस पालिको जी सेभेन बैठकको लागि भने अस्ट्रेलियाका प्रधान मन्त्री स्कट मोरिसन प्रत्यक्ष भेटवार्ताका लागि स्वयम् नै बेलायत जाने भएका छन्। आफ्नो कार्यकाल भरीका सबै भन्दा महत्त्वपूर्ण बैठकहरू मध्य यो एक रहेको उनले बताए।
उक्त बैठकको लागि प्रधान मन्त्री मोरिसन क्यानबेराबाट बेलायतको कोर्निश रिभिएरामा जाने भएका छन्। जी सेभेन प्लसका नेताहरूको यस पालिको बैठक कर्नवालको समुन्द्री तट छेउ हुने भएको छ।
जी सेभेनका सदस्यहरू मध्य अस्ट्रेलिया भने पर्दैन; यसमा संसार भरका सात धनी राष्ट्रहरू पर्दछन् - क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राष्ट्र अमेरिका। सदस्य नभए तापनि अस्ट्रेलियाका प्रधान मन्त्रीलाई, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका नेताहरू सँगै विशेष अतिथिको रूपमा निम्त्याइएको छ।
भारतका प्रधान मन्त्री नरेन्द्र मोदीलाई पनि आमन्त्रित गरिएको थियो, तर भारतको वर्तमान कोभिड-१९ अवस्थाका कारण उनले अनलाइन सहभागिता जनाउने भएका छन्।

यो पनि पढ्नुहोस्:

मेलबर्नमा लकडाउन आज रातीबाट हट्दै तर मास्क भने अनिवार्य नै
प्रधान मन्त्री मोरिसनले अमेरिकाका राष्ट्रपति जो बाइडेन सँग द्विपक्षीय वार्ता बस्ने भनिएको छ। त्यस्तै, मोरिसनले दक्षिण कोरियाली राष्ट्रपति र जापानी प्रधान मन्त्री सँग छुट्टा छुट्टै औपरचिक वार्ता बस्ने पनि बताइएको छ।
दक्षिण चिनिया समुद्री क्षेत्रको बढ्दो सेना बल, र व्यापारमा आएका समस्याहरू वार्ताका मुख्य विषय हुने छन्। त्यस्तै, कोरोना भाइरसको उत्पत्ति सम्बन्धी अमेरिकाले गरिरहेको अनुसन्धानमा पनि मोरिसनले सहयोग प्रदान गर्ने छन्।
यी सबै बीच, मौसम परिवर्तनको सन्दर्भमा भने सन् २०५० साल सम्म कार्बन उत्सर्जनलाई शून्य प्रतिशत सम्म झार्ने ठोस प्रतिबद्धता भने मोरिसनले व्यक्त गरेका छैनन्। तर संसारका थुप्रै राष्ट्रहरूले यही लक्ष लिएको भनी उनले स्वीकार गरेका छन्।

यता संघीय विपक्षी नेता एन्थनी अल्बनिजीले भने, राष्ट्रिय लिबरल सरकार भित्र जीवाश्म इन्धनको प्रयोग समर्थन गर्ने सदस्यहरूको विरुद्ध जान प्रधान मन्त्री मोरिसनसँग पर्याप्त शक्ति नरहेको बताए।
प्रधान मन्त्री मोरिसनले लन्डन गई बेलायती प्रधानमन्त्री बोरिस जनसनलाई पनि भेट्ने छन्। उनीहरूले दुई देश बिचको एक स्वतन्त्र व्यापार सम्झौतालाई सिद्धान्त उतारेका छन्। तर यसको कार्यान्वयन गरी थप अस्ट्रेलियाली सामग्रीहरू आयात गरेमा अरू देशहरू सँग पनि यस किसिमका सम्झौता गर्नु पर्ने सक्ने भनी बेलायती किसानहरूले चिन्ता व्यक्त गरेका छन्।
त्यस्तै, बेलायत जानु अघि मोरिसनले सिंगापुर गई क्षेत्रीय सुरक्षा सम्बन्धी कुराकानी गर्ने छन्। त्यस्तै, सबमरीन सम्बन्धी लाखौँ डलर बराबरको सम्झौता बारे कुरा गर्न मोरिसन फ्रान्स गई, त्यहाँका राष्ट्रपतिसँग पनि कुरा गर्ने भएका छन्।








