टिप्स दिने वा नदिने भन्ने विषयमा अस्ट्रेलियाली समुदाय विभाजित बनेको देखिन्छ।
- टिप्स दिने वा नदिने भन्ने कुरा स्वेच्छीक हो।
- विशेष गरी आतिथ्य सम्बन्धी सेवा लिएपछि मानिसहरू टिप्स छाड्ने गर्दछन्।
- राम्रो सेवा दिए बापत १० प्रतिशतसम्म टिप्स दिन सकिन्छ।
- महामारीसँगै टिप दिने संस्कृति परिवर्तन हुदैछ।
सामान्य भाषामा टिप्स दिने भन्नुको अर्थ गुणस्तरीय सेवा प्राप्त गरे बापत खुसी भएर दिइने केही निश्चित रकम वा पैसा भनेर बुझिन्छ।
अस्ट्रेलियामा हुर्के बढेकाहरूका लागि पनि टिप्स दिने वा नदिने भन्ने कुरामा दोधार हुन सक्छ।
विदेशी टिपीङ्ग कल्चरकै सिको गरिएकाले अस्ट्रेलियामा टिप छाड्ने वा नछाड्ने भन्ने कुरामा मानिसहरू विभाजित भएको पाइन्छ, यद्यपि कतिपय अवस्थामा यसलाई सेवा प्रतिको कृतज्ञताका रूपमा पनि लिइने गरिन्छ।
के अस्ट्रेलियामा मानिसहरूले टिप दिन्छन्?
अस्ट्रेलियाको उपभोक्ता हित सम्बन्धी संस्था एसिसिसिमा कार्यरत बिल डिका अनुसार टिप दिने विषय नितान्त संस्कृतिसँग जोडिएको विषय हो।
“अमेरिकामा यो अनिवार्य जस्तै छ, कुनै रेस्टुरेन्टमा जानु भयो भने कृतज्ञता स्वरूप टिप दिनु पर्छ, ट्याक्सी चढ्दा पनि मानिसहरू टिपको आशा राख्छन्,” डिले भने।
सामान्य भन्दा उत्कृष्ट सेवा बापतको धन्यवाद स्वरूप केही दिनुले टिपको अर्थ राख्ने डिको भनाई छ।
“अस्ट्रेलियामा चाहिँ उत्कृष्ट ग्राहक सेवाका लागि कदर गरेको जस्तै हो, उदाहरणका लागि कुनै रेस्टुरेन्टमा हुनुहुन्छ, निकै राम्रो सेवा र खाना उत्कृष्ट लाग्यो भने, कृतज्ञताका लागि टिप छाड्न सक्नुहुन्छ,” उनले भने।
तर कतिपय मानिसहरू भने टिप दिनुलाई अनावश्यक ठान्दछन्।
अमेरिका जस्ता देशमा सेवा दिने व्यवसायमा काम गर्नेहरूको अवस्था भिन्नै हुने भएकाले, यहाँ त्यसको सिको गरेर फाइदा नहुने तर्क गर्छन्।
रिपोर्ट सुन्नुहोस्। के तपाईँले रेस्टुरेन्ट जाँदा वेटरलाई टिप्स दिने गर्नुहुन्छ? हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
थ्रिआरआरआर नामक रेडियो मार्फत खाना सम्बन्धी अहिलेसम्मकै लामो कार्यक्रमका निर्माता क्याम स्मिथ टिप छाड्ने वा नछाड्ने भन्ने कुरा व्यक्तिगत विचार भएको बताउँछन्।
“अन्य मुलुकको तुलनामा अस्ट्रेलियामा न्यूनतम पारिश्रमिक धेरै छ, अमेरिकामा तलब थोरै हुने भएकाले मानिसहरूले टिप छाड्ने गर्दछन्, यहाँ चाहिँ टिप दिने कि नदिने भन्ने मानिसहरूमा भर पर्छ,” उनले भने।
खाना खाइसकेपछि टेबुल वा टिप राख्नका लागि राखिएका भाँडोमा केही रकम राखिदिने गरिन्छ वा क्यासलेस पेमेन्ट मार्फत पनि निश्चित रकम टिपका रूपमा दिइने गरिन्छ।
यसरी जम्मा भएको टिप चाहिँ कामदारहरूले बाढेर लिने गर्दछन्।
टिप्स कति दिने त?
कति दिने भन्ने कुरा व्यक्तिगत रूपमा निर्धारण गर्ने भए पनि कतिसम्म दिने वा कति चाहिँ मानक हो भन्ने केही दिशानिर्देशहरू भने भएको क्याम स्मिथको भनाई छ।
“सजिलो भनेको १० प्रतिशत दिनु हो, तर कसैले उत्कृष्ट सेवा दिएको छ भने बढी पनि दिन सकिन्छ,” उनले भने।
महामारीको समयमा टिप्स
पछिल्लो समय भएको एक सर्वेक्षणले बाहिर खाना खान जाने मानिसहरूको परिवर्तन भएको व्यवहारका बारेमा अध्ययन गरेको छ।
व्यवसायलाई समर्थन गर्न पनि टिपिङ्ग संस्कृतिमा केही परिवर्तन आएको उक्त सर्वेक्षणले देखाएको छ।
ओपन टेबल नामक संस्थामा अन्तर्राष्ट्रिय बजार प्रबन्धकका रूपका कार्यरत रोबिन चियाङ्ग मानिसहरूको व्यवहारमा परिवर्तन आएको बताउँछन्।
“हामीले सर्वेक्षण गरेका २५ प्रतिशत अजिहरूले खुसी साथ टिप दिने गरेको बताए,” उनले भने।
उक्त सर्वेक्षणमा ३० वर्ष मुनीका मानिसहरू टिप्स दिनेमा अगाडी रहेको पनि देखाएको छ।
पछिल्लो समय क्यासलेस कार्ड र अनलाइन डेलिभरीले बजार लिइरहेका बेला नगद मै टिप्स दिने चलन भने कम हुँदै गएको देखिएको छ।
टिप दिनुको मुख्य उद्देश्य रेस्टुरेन्ट व्यवसायलाई सहयोग गर्नु भएकाले, टिप्सका लागि एप र क्यास लेस मेसिनमा देखिने अनुरोधलाई स्विकार्ने पर्छ भन्ने चाहिँ नभएको च्याङ्गको भनाई छ।

अन्य सेवामा टिप्स
ट्याक्सी ड्राइभरले टिप्सको आशा राख्दैनन्, यद्यपि उठेको रकममा राउन्ड अप अर्थात् सेन्टहरूको हिसाब नगरी डलरको मात्र हिसाब गर्ने भन्ने चलन चाहिँ रहँदै आएको छ।
हेयर ड्रेसर, व्युटीसियन र होटेल कर्मचारीले पनि टिप्सको आशा राख्दैनन्।
डेलिभरी ड्राइभरहरूको हकमा पनि केही रकम टिपका रूपमा दिने चलन छ।
तर अरूले के गर्छन् भन्दा पनि टिप दिने वा नदिने भन्ने कुरा नितान्त व्यक्तिगत निर्णय हो भन्ने कुरामा चाहिँ ख्याल गर्नुपर्दछ।





