७४ वर्षीय बब चाल्मर्स एक हप्ता अघि स्ट्रोक अर्थात् मस्तिष्कघातको सिकार बन्न पुगेका थिए। अहिले उनी मस्तिष्कघातको लक्षण मानिने एट्रियल फिब्रीलेसन पत्ता लगाउनका लागि मोबाइल फोनको प्रयोग गर्दै छन्।
ए एफ पनि भनेर चिनिने एट्रियल फिब्रीलेसन हुँदा मानिसको मुटुको धड्कनको गति अनियम र छिटो हुन्छ, जसका काम स्ट्रोकको सम्भावना बढ्दछ।

ए एफ भएका मानिसहरूमा मस्तिष्कघात हुने सम्भावना आम मानिसहरूमा भन्दा पाँच गुना बढी हुन्छ। यस समस्याका कारण मुटुको धड्कन अनियमित हुँदा रगत जमेर ब्लड क्लट हुन सक्ने, र ती रगतका थक्का दिमागसम्म पुग्ने जोखिम हुन्छ।
स्ट्रोकका बिरामीहरूमा ए एफको लक्षण छिटो भन्दा छिटो पत्ता लगाउन महत्त्वपूर्ण रहेको रोयल मेलबर्न अस्पतालका न्युरोलोजिस्ट प्राध्यापक बरनार्ड यान बताउँछन्।
अस्ट्रेलिया, हंगकंग र चीनका १००० भन्दा बढी बिरामीहरूमा गरिएको एक तीन वर्षे अध्ययनले मोबाइल फोनको प्रयोग गरेर ए एफ पत्ता लगाउनु ८ दशमलव ५ प्रतिशत प्रभावकारी भएको बताउँछ। यसको तुलनामा वर्तमान समयमा प्रयोग गरिने हल्टर मोनिटरको प्रभावकारिता केवल २ दशमलव ६ प्रतिशत हुन्छ।
त्यसैले, यो निकै नै फलदायी आविष्कार भएको प्राध्यापक यान बताउँछन्।
यस नयाँ प्रविधिको प्रयोग गर्न २० सेकेन्ड मात्र लाग्छ, र परिणामका लागि हृदय रोग विशेषज्ञको निदानको पनि जरुरत हुँदैन। हल्टर मोनिटरको प्रयोग गर्दा भने २४ घण्टा लाग्दछ।

स्मार्टफोनमा चलाउन सकिने भएकाले धेरै जनाले सजिलै यसको प्रयोग गर्न सक्छन्, जसले गर्दा एक पटक मस्तिष्कघात भइसकेका मानिसहरूमा दोस्रो पटक हुने जोखिम कम हुन पुग्छ। स्ट्रोक फाउण्डेशनकी लिसा मर्फी भन्छिन् कि यस प्रविधिले देश भरी स्ट्रोकको रोकथाम गर्न अझ बढी सुलभ बनाउँछ।
डाक्टरहरूले यस अनुसन्धानले मस्तिष्कघातका बिरामीहरूका लागि स्वास्थ्य सम्बन्धी दिशानिर्देशहरू परिवर्तन गर्ने विश्वास व्यक्त गरेका छन्।






