युक्रेन माथि रुसको आक्रमण र विश्व बजारमा देखिएको आर्थिक अनिश्चितताले अस्ट्रेलियाको मुद्रास्फीतिलाई सन् १९९० यता कै उच्च बनाउन पुग्यो।
लकडाउन र प्रतिबन्धबाट निस्कने क्रममा विश्वभर देखिएको आर्थिक सङ्कुचन अल्पकालीन हो वा दीर्घकालीन हो भन्ने विषयमा विश्वका विज्ञहरूबिच चर्चा सुरु भइसकेको थियो।
तर त्यति नै बेला युक्रेनमाथि रुसी आक्रमण सुरु भए पनि भने नसोचेको प्रतिफल निस्कियो।
खाद्यान्न र ऊर्जाको मूल्य एक्कासि आकासियो, भने अधिकांस देशमा यसको प्रत्यक्ष असर देखियो।
रूस र युक्रेनले विश्व बजारमा कब्जा जमाएको गौको मूल्यले मात्र नयाँ रेकर्ड कायम गरेन इन्धनको मूल्यमा पनि चर्को वृद्धि हुन पुग्यो।
यस माथि ओपेकले तेलमा आपूर्ति प्रतिबन्ध लगाएपछि अस्ट्रेलियामा अप्रिल महिनामा इन्धनको मूल्य हालसम्मकै उच्च हुन पुग्यो।
पछिल्लो समय मूल्य केही कम भएको भए तापनि युरोप भने ऊर्जा सङ्कटबाट गुज्रिरहेको छ।

एएनजेड बैंकको विदेश मुद्रा प्रमुख महाजविन जमान, युरोपले आफूले उपभोग गर्ने ९० प्रतिशत ग्यास विदेशबाट आयत गर्ने बताउँछिन्।
उनका अनुसार रुसले यसको ४५ प्रतिशत हिस्सा ओगटछ।
“आयात अवरुद्ध बन्दा ग्यासको मूल्यमा चर्को वृद्धि भयो, जाडो महिनामा पहिलेदेखि नै ग्यासको माग बढी रहेको थियो, आउँदो जाडोका लागि आपूर्तिको व्यवस्था भए पनि, रूस प्रतिको निर्भरता पनि अझै पनि कायम छ,” विदेश मुद्रा प्रमुख महाजविन जमान भन्छिन्।
विश्वमा मुद्रास्फीति बढाउन प्रमुख भूमिका खेल्ने चाहिँ, खाद्यान्नको मूल्य, ऊर्जा मूल्य र इन्धनको मूल्य नै प्रमुख हुन्।
अस्ट्रेलियामा चाहिँ यसको असर सन् १९९० यता कै सबैभन्दा धेरै अर्थात् ७.३ प्रतिशतसम्म पुग्यो।
बेरोजगारी दर ४८ वर्ष यता कै न्यून अर्थात् ३.४ प्रतिशत कायम भए तापनि मुद्रास्फितीसँग तलबको तालमेल नमिल्दा, यसको प्रत्यक्ष असर आम सावसाधारणलाई परेको एएमपि क्यापिटलका प्रमुख अर्थविद् सेन ओलिभर बताउँछन्।
यता रिर्जव बैंकले आकस्मिक अवस्थामा ०.१ % पुर्याएको ब्याजदर डिसेम्बरसम्म आउँदा ३.४ प्रतिशत पुर्याएको छ।
हरेक महिना ब्याजदर बढाउँदै राष्ट्रिय बैंकले डिसेम्बर महिनामा ब्याजदरलाई १० वर्ष यता कै उच्च बनाएको हो।
यसको प्रत्यक्ष असर मोर्गेज तिरीरहेकाहरुलाइ परेको छ भने उच्च वृद्धि भएको घरजग्गाको मूल्य पनि बिस्तारै कम हुँदै गएको छ।

सेन ओलिभर आगामी दिनमा घरजग्गाको मूल्य अझै कम हुने बताउँछन्।
“केही वर्षका लागि फिक्सड्दरमा लोन लिएकाहरूलाई यसले असर देखिन थाल्नेछ, ब्याजदर एक्कासि ५/६ % पुगेपछि, बजारमा नकारात्मक प्रभाव पर्नेछ,” सेन भन्छन्।
यस बाहेक सन् २०२२ मा अस्ट्रेलियाली डलर पनि केही कमजोर देखियो।
वर्षको सुरुमा ७५ अमेरिकी सेन्ट पुगेको अस्ट्रेलियन डलरको भाउ, ६२ सेन्टसम्म पुग्यो।
अमेरिकामा ब्याजदर बढ्नु र चीनमा लकडाउनले निरन्तरता पाउनुले अस्ट्रेलियाको अर्थतन्त्रलाई कमजोर बनायो।
महाजमिन जमान, अस्ट्रेलियाली डलरसँग सम्बन्ध राख्ने कमोडीटी र फलामको डिमान्डमा पनि असर पुगेको बताउँछिन्।
यता हवाई यात्राको विमानको टिकट मूल्य १५ वर्ष यता कै उच्च रहँदा विदेश भ्रमणमा जाने मानिसहरू पनि मारमा परेको देखिएको छ।





![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)