सामान्यतया महिलाहरूले अवकाश लिँदा पुरुषहरू भन्दा आधा मात्र बचत गरेका हुन्छन् र त्यसमा पनि आप्रवासी महिलाहरू त आर्थिक रूपमा सचेत नहुँदा झन् धेरै जोखिममा रहेका हुन्छन्।
अवकाशका लागी योजना बनाइ रहँदा, वर्षौँ काम गरेर जम्मा भएको सुपरएनुएसन सुरक्षित भविष्य सुनिश्चित गर्न निकै सहयोगी हुने गर्दछ।
तर सुपरएनुएसन प्राप्त गर्नका लागी भने केही जटिल प्रक्रियाहरू पार गर्नु पर्ने हुन्छ।
अस्ट्रेलियाली ट्रेड युनियनको परिषद् (एसीटीयु)ले महिलाहरूका लागी १५ प्रतिशतको फास्ट ट्राक सुपरएनुएसन सुनिश्चित गरिनु पर्ने माग गरिरहेको छ, जसले गर्दा अवकाश पछिको समयमा उनीहरूले अरूको भर पर्नु नपरोस्।
एसीटियुकि सहायक सचिव स्कट कनोली भन्छन् महिलाको आय पुरुष भन्दा कम हुन्छ र त्यसै कारण उनीहरूको सुपरएनुएसन पनि उनीहरूको तलब अनुसार नै कम हुन्छ।
"सबैभन्दा प्रमुख बेफाइदा भनेको महिलाहरूले काममा जाने र निस्कने कारणले गर्दा उनीहरूको सुपरएनुएसन प्रभावित हुन्छ, चाहे त्यो हेरचाहका लागी होस्, बच्चा हुर्काउन होस् वा पार्ट टाइम र क्याजुअल काम गर्नाले होस्। उनीहरूको बचत यसले गर्दा प्रभावित हुन्छ साथै उनीहरूले सुत्केरी बिदामा रहेको बेला पनि सुपर पाउँदैनन्।"
एसीटियुका अनुसार सरकारले आगामी वर्षको मध्य तिर सम्मका लागी ९.५ प्रतिशतको सुपरएनुएसन दर निर्धारण गरेको छ र त्यो बिस्तारै बढेर १२ प्रतिशतसम्म पुग्ने छ।
साथै युनियनले अवकाश आय समीक्षा गर्दा महिलाहरू माथि सुपरएनुएसनमा भएको भेदभावलाई पनि एक हिस्सा बनाइनु पर्ने माग गरेको छ।

यसै वर्षको मध्य तिर आउने उक्त स्वतन्त्र समीक्षाले अवकाश लिने उमेर, स्वयम् सेवी बचत र वृद्ध जनसङ्ख्या बढे सँगै कसरी अवकाश आय प्रणालीले काम गर्छ भन्ने सम्बन्धमा जाँच गर्दछ।
२७ वर्ष अगाडी सुपरएनुएसनलाई अनिवार्य बनाइए पछि सङ्घीय सरकारले उक्त समीक्षाका लागी सहमति जनाएको थियो र युनियनले यतिखेर सोही समीक्षामा महिलाहरू माथि देखिएको असमानताका विषयमा पनि अध्ययन गर्नु पर्ने माग राखेको हो।
कनली सुपरएनुएसन प्रणालीको संरचनामा दोष रहेको भन्दै राजनीतिलाई पर राखेर भविष्यमा महिलाहरूको जीवनयापनमा कसरी सुधार गर्ने भन्ने बारे ध्यान पुर्याइनु पर्ने बताउँछन्।
ब्याङ्किङ्ग शाही आयोगले आफ्नो प्रतिवेदन सार्वजनिक गरेको पनि एक वर्ष भएको छ र त्यसले पनि सुपरएनुएसनलाई समावेश गरेको थियो।
उक्त रिपोर्टले सुपरएनुएसन बेच्नका लागी बनाइएको कुनै उत्पादन नभएको भन्दै धेरै कर्मचारीहरूको एक भन्दा बढी अकाउन्ट हुने गरेको उल्लेख गरेको छ।

प्राय: नयाँ काम सुरु गरेका कर्मचारीहरूले आफ्नो रोजगारदातालाई आफ्नो पहिले नै सुपरएनुएसन अकाउन्ट भएको बारे जानकारी दिदैनन र अर्को नयाँ अकाउन्ट नै खोल्छन्।
अस्ट्रेलियाको सामुदायिक सङ्गठनहरूको राष्ट्रिय परिषद् फेक्काकि मेरी पटेटससले सामान्यतया सुपरएनुएसनबारे पर्याप्त जानकारी नदिइने गरेको भन्दै यसबारे थप जानकारीको आवश्यकतामा जोड दिएकी छन्।
"आप्रवासी महिलाहरूको लागी एक त भाषा समस्या छ साथै स्थानीय प्रक्रिया तथा अभ्यास, सुपरएनुएसनका कानुनी प्रावधानहरूसँग अभ्यस्त छैनन्।"
उनका अनुसार महिलाहरूको कार्य अवधिमा विभिन्न कारणले विश्राम लिनु पर्ने र समग्रमा अवसरहरूबाट नै वञ्चित हुनुपर्ने भएका कारणले पनि अन्ततः उनीहरूको सुपरएनुएसनमा असर पुग्छ।
फेक्काले एकल महिलाहरू जो ५० वर्षको उमेरमा अवकाश लिन्छन् उनीहरू आर्थिक रूपमा आत्मनिर्भर हुन नसके निकै जोखिममा रहने भन्दै चिन्ता व्यक्त गरेको छ।
सुपरमा महिलाहरू नामक एक समूहकी स्यान्ड्रा बक्ली धेरै एकल महिलाहरूले अवकाश लिँदै गर्दा केहीले गरिबी भोग्नु परिरहेको स्वीकार छिन।
"मेरो बिचारमा अवकाश लिनु र सम्मान पूर्वक अवकाश लिनुमा फरक हुन्छ र हामीले त्यसकै बारेमा कुरा गरिरहेका छौँ। हामीले कुरा गरेको यस्तो अवस्था हो जहाँ महिलाहरू हप्तामा एक पटक घरबाहिर गएर आफ्ना साथीहरू सँग भेटेर कफी पिउन सकुन्। जहाँ उनीहरूको फ्रिजले काम गर्न छोड्यो भने त्यसलाई मर्मत गर्न वा नयाँ फ्रिज किन्न सकुन्।"









