करिश्मा मानन्धरले १४ वर्षको उमेरमा सुरु गरेको फिल्मी करिअरलाई अगाडी बढाउन औपचारिक शिक्षालाई बिट मारेकी थिइन।
पछिल्लो ३५ वर्षदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेकी मानन्धरले अहिलेसम्म १०० भन्दा बढी चलचित्रहरूमा अभिनय गरिसकेकी छिन् भने चार वटा चलचित्रको निर्माण गरेकी छिन्।
सन् २००२ मा आफ्नै लगानीमा निर्माण गरेको चलचित्रले राम्रो व्यापार गर्न नसकेपछि केही वर्ष उनले अमेरिकामा बिताएकी थिइन्।
तर उनी फेरी नेपाल फर्किएर आएपछि भने राजनीतिमा प्रवेश गरेको कुराले चर्चामा आइन। तर सबैभन्दा धेरै चर्चा भयो उनले कक्षा ७ मा भर्ना गरेको विषयको।

हाल स्नातक दोस्रो वर्षमा अध्ययनरत करिश्मा मानन्धरले आफूले चलचित्र खेल्ने क्रममा सँगालेको कलाकारिता र प्राविधिक अनुभव पनि शिक्षा कै हिस्सा भएको बताइन्।
उनका लागि आफूभन्दा ३० वर्ष कम उमेरका विद्यार्थीहरूसँग सहपाठीका रूपमा अध्ययन गर्दा उमेरका कारण स्मरण गर्ने क्षमतामा कमी आएको अनुभव एउटा सङ्घर्ष थियो नै साथमा सामाजिक सञ्जालमा उनीमाथि बर्सिने "गाली" लाई छिचोलेर विश्वास राखी रहनु झन् गाह्रो रह्यो।
मानन्धर भन्छिन् उनको विद्यार्थी जीवनमा फर्किने निर्णय माथि नकारात्मक टिप्पणी गरिँदा कतिपय समयमा "के गरिराखेको छु" भन्ने प्रश्नहरू मनमा आउने गरेको थियो।
म पब्लिक फिगर, अनि अहिलेको सोसल मिडियाको जमानामा यति धेरै न्युजहरूमा मैले गाली अनि कदर, दुइटै किसिमको खानुपर्थ्यो, जसले मलाई कमजोर बनाउँथ्यो समय समयमा र मलाई [पढाई] छोडिदिन्छु जस्तो हुन्थ्यो।करिश्मा मानन्धर
"अनि त्यसलाई मान्छेहरूले कमेडीको रूपमा, हाँसोको रूपमा लिई राखेको थियो," उनले भनिन्।
तर व्यवहारिक र शैक्षिक हिसाबले सिक्ने चाहना आफूमा सधैँ रहने गरेको र त्यसैको फलस्वरूप राजनीतिमा पनि प्रवेश गरेको उनको भनाइ छ।
सन् २०१६ मा स्थापना भएको तत्कालीन जनशक्ति पार्टीको (हाल समाजवादी पार्टीमा गाभिएको) उद्घाटन कार्यक्रममा उद्घोषण गर्ने क्रममा अङ्ग्रेजी उच्चारण र अतिथिहरूको परिचय गलत दिएको भन्दै मानन्धरको बारेमा सामाजिक सञ्जालहरूमा नकारात्मक टिप्पणीहरू गरिएका थियो।
त्यो घटनाले पनि पढाइलाई निरन्तरता दिन "प्रेरक" को भूमिका खेलेको उनले बताइन्।
चालिस वर्षको उमेरमा विद्यालय गएको कुराले चर्चा पाएको विषयमा भने मानन्धर त्यसलाई “सहज रूपमा” लिइनु पर्ने विचार राख्छिन्।

"मैले लेट एजुकेसन लिएको भएर फरक देखिन्छ, तर मेरो विचारमा यो सहज रूपमा हुनुपर्छ जस्तो लाग्छ," उनी भन्छिन्।
"कोही कुशल गृहिणी होला, कोही कुशल टेलर मास्टर होला… किन शिक्षा लिनलाई लेट भएको हुन्छ त? हुँदैन नि, फेरी पनि जान सकिन्छ, अझै आफूलाई अपग्रेड गर्न सकिन्छ भन्ने सन्देश दिन पनि यो मेरो यात्रा हो।"
उनी भन्छिन् यदि आफ्नो यो आँटले कसैलाई औपचारिक शिक्षामा फर्काउन थोरै भए पनि योगदान गर्यो भने त्यो उनका लागि धेरै खुसीको कुरा हुनेछ।







