आधुनिक र लोक सङ्गीतको अद्भुत सम्मिश्रणबाट मनमोहक सङ्गीत तयार पार्ने साङ्गीतिक समूह अहिले अस्ट्रेलियाका विभिन्न राज्यहरूमा आफ्नो प्रस्तुति दिइरहेको छ।
ब्यान्डले परम्परागत नेपाली, भारतीय र बङ्गाली बाजाहरूको प्रयोग गर्दे सङ्गीत सिर्जना गर्दै आएका छन्।
ज्याज मनपराउनेहरूका लागि आफ्नो गीतसङ्गीत प्रिय भएको ब्यान्डका देव आशिष मोथे बताउँछन्।

दार्जिलिङमा जन्मिएका मोथेले परम्परागत मुर्चुङ्गा, दोतारा र इसराज बाजा बजाउनुका साथै नेपाली लगायत बङ्गाली र अङ्ग्रेजी भाषामा पनि गीत गाउँछन्।
ब्यान्डका प्रमुख गायक भने बङ्गाली पृष्ठभूमिका राजु दास बाउल हुन्।
विभिन्न वाद्यवादनमा दक्खल राख्ने बङ्गाली पृष्ठभूमिकै अर्का बाद्यवादक गौरव च्याटर्जीको उपस्थितिले ब्यान्डलाई अन्य साङ्गीतिक समूह भन्दा अलग पहिचान दिएको छ।
'थ्री सीज' ब्यान्डको स्थापना
देव आशिष मोथे दार्जिलिङका चिया बगानमा हुर्के बढेका सङ्गीतकर्मी हुन्।
त्यहाँको चिया बगानमा चिया टिप्न आउनेहरूले गाउने गीत गुनगुनाएको सुनेर आफूले पनि सङ्गीत सिकेको उनले एसबीएस नेपालीलाई बताए।
पछि विद्यालय पढ्ने क्रममा भारतको पश्चिम बङ्गालस्थित शान्ति निकेतनमा पुगे पछि उनको भेट म्याट कीगन, राजु दास र गौरवसँग भयो।
स्याक्सोफोन बजाउने अस्ट्रेलियाली सङ्गीतकर्मी म्याट कीगनसँगको भेट पछि सङ्गीत कर्मलाई मिलेर अगाडी बढाउने उनीहरूले निर्णय गरे।
त्यसरी थ्री सीज ब्यान्डको जन्म भयो।
अस्ट्रेलियामा तेस्रो साङ्गीतिक भ्रमण
अघिल्लो पटक सन् २०१८ मा अस्ट्रेलिया आएको ‘द थ्री सीज’को लागि यो तेस्रो अस्ट्रेलियाली टूर हो।
करिब १५ वर्षदेखि सँगै रहेको यस समूहले एसियाका प्राय सबै जसो मुलुक र बेलायतमा समेत आफ्नो प्रस्तुति देखाइसकेको छ।
यस पटकको टूरमा टास्मेनिया र मेलबर्न पछि सिड्नीका विभिन्न स्थानमा ब्यान्डले आफ्नो प्रस्तुति दिँदै छ।
देव आशिषले अस्ट्रेलिया भ्रमण निकै रमाइलो भइरहेको एसबीएस नेपालीसँगको कुराकानीका क्रममा बताएका छन्।
यहाँका दर्शक निकै रुचि देखाएर सुन्नुहुन्छ, फोन बन्द गरेर सुन्न आउनुहुन्छ। अहिले घरमा यस्तो दर्शक पाइँदैन।देव आशिष मोथे
मेलबर्नका प्रस्तुतिमा ज्याज ल्याबले दिएको प्रतिक्रिया - “डिलिसियस”ले - देव र ब्यान्डका अन्य सदस्य निकै उत्साहित छन्।
‘द थ्री सीज’लाई विशेष गरी ज्याज सुन्ने दर्शकहरूले रुचाउने देव आशिषको भनाइ छ।
“मैले हिमालयन फोल्क इन्स्ट्रुमेन्ट बजाउँछु, राजुले बङ्गाली बाउल बजाउँछ, प्राय जसो बङ्गाली अडियन्स हुन्छ, नेपालीहरू पनि आउनु हुन्छ।”

देव आशिष मोथे: “वान म्यान एनजिओ”
देव आशिषले यस अघि नेपाली भाषा सजिलो तरिकाले सिकाउनका लागि वर्णमाला सम्बन्धी एनिमेटेड भिडियो पनि तैयार पारिसकेका छन्।
यस पटक भने नेपाली सिकाउनका लागि तयार पारिएको उक्त पाठ्य सामाग्रीलाई गेमका रूपमा पनि परिमार्जन गरिएको उनले बताए।
अबको योजना लोपोन्मुख पहाडिया भाषाको संरक्षणका लागि जनजाति भाषाहरूका वर्णमालाको सामाग्री तयार पार्नमा आफू लागिपरेको उनको भनाई छ।
राई, लिम्बु जस्ता लोपोन्मुख भाषाको वर्णमाला बनाएर विद्यालयहरूमा लिएर जाने योजना छ। टेक्नोलोजीको माध्यमले भाषालाई जगेर्ना गर्न सक्छौँ कि जस्तो लाग्छ।देव आशिष मोथे

अन्य सामाजिक कार्य गर्नका लागि आफू एक्लैले संस्था समेत चलाउने गरेको उनले सुनाए।
आफ्नो क्षेत्रमा रहेको टिस्टा नदी फोहर हुँदै गएपछि यसको संरक्षणका लागि पनि आफ्नो तर्फबाट विभिन्न कार्यक्रम चलाउने गरेको उनले बताए।
“टिस्टा नदीको बारेमा थ्री सीजसँग मिलेर एउटा कविता पनि रेकर्ड गरेको छु, वातावरण संरक्षणका लागि थुप्रै गीतहरू लेखिएका छन्,” उनले भने।
महामारीमा लागेको “साढे सातको दशा”
“घाम छ्वाङ्ग देखिनका लागि बादल लागेकै हुनु पर्ने रैछ,” महामारीका बेला ब्यान्डका सदस्यहरू बीच कुराकानी नै हुन छाडेको प्रसङ्ग जोड्दै देव आशिषले भने।
उनका अनुसार विभिन्न मुलुकमा हुन लागेको टूरहरू महामारीले रोकिए पछि उनीहरू करिब तीन वर्ष घर भित्रै बसे, आम्दानीको कुनै स्रोत पनि बनेन।
“तर पनि हामी ढलपल भएनौँ। ”
“हामी सबै फ्रील्यान्स म्युजीसियन हौँ, घर पनि चलाउनु पर्छ, यस्ता टूरहरूले हामीलाई धेरै सहयोग गर्छ।”

सङ्गीतमा लाग्न खोज्ने पारखीहरूको लागि उनको यस्तो सन्देश छ।
"मिनिमलिस्टिक हुनु पर्छ म्युजिकमा आउनको लागि; कम्ती भोक राखेर बस्न सक्नु पर्छ। जुनै पनि ठाउँमा अडाप्ट हुन सक्नु पर्छ," उनले भने।
"त्यो ढ्यान्टड्यान हुनको लागि तपाईँ धेरै खट्नु पर्छ, आफूमा विश्वास हुनु पर्छ।"
अहिले आधुनिक युगमा आफ्ना प्रतिभालाई प्रविधि मार्फत संसारसम्म पुराउन सकिने उनी बताउँछन्।
"हाम्रो हातमा टेक्नोलोजी छ। हामी एउटा बटन थिचेर संसारलाई आफ्नो कुरा भन्न सक्छौँ। यसलाई राम्रोसँग प्रयोग गर्नु पर्छ," उनले भने।
म यो मुर्चुङ्गा बजाएर यहाँ अस्ट्रेलिया आउँदै छु। यो मुर्चुङ्गासँग मेरो लगाव, जातित्व र माया छ। यस्तो खालको माया मनमा हुनु पर्छ, त्यो मायाले नै डोराउँछ।देव आशिष मोथे
"औरत र मरदको माया मात्र हैन, आफ्नो भाषा र संस्कृतिप्रतिको माया।"
यससँगै ब्यान्डले बेलायतको चर्चित रियल वर्ल्ड स्टुडियोजमा रेकर्ड गरेको नयाँ एल्बम छिटै सार्वजनिक गर्ने तयारीमा रहेको मोथेले बताए।
