मुख्य बुँदा
- अस्ट्रेलिया दिवसले सन् १७८८ मा ब्रिटिसहरूले सिड्नी कोभमा युनियन ज्याकको झण्डा फहराएको दिनलाई जनाउँछ, जुन उपनिवेशको सुरुवात थियो।
- ज्यानुअरी २६ आदिवासी र टोरेस स्ट्रेट आइल्यान्डर इतिहासको पीडादायी अंश हो।
- सर्वेक्षणहरूले बहुमत अस्ट्रेलियनहरू अस्ट्रेलिया डेलाई ज्यानुअरी २६ मा नै मनाउन चाहेको देखाउँछ।
ज्यानुअरी २६ आधिकारिक रूपमा अस्ट्रेलिया डे हो जुन देशको राष्ट्रिय दिवस हो।
तर यहाँका आदिवासी साथै कतिपय अस्ट्रेलियनहरूका लागि यो उत्सव मनाउने दिन होइन।
कमिल्लारोय, कूमा र मुर्रावारिका अभियानकर्ता तथा पोडकास्टर बो स्पीयरिम यो दिन नजिकिँदै जाँदा उदास महसुस गर्छन्।
"जब यो दिन आउँछ, र त्यो बिहानीमा मलाई लाग्छ कि मा कसैको अन्त्येष्टिमा जाँदै छु। मलाई थाहा छ यो दिन केही नराम्रो भएको थियो। यो धेरै नराम्रो अनुभूति हो।"
किन अस्ट्रेलिया डे ज्यानुअरी २६ मा मनाइन्छ?
ज्यानुअरी २६ अस्ट्रेलियामा उपनिवेशको सुरुवात भएको दिन हो।
यो त्यो दिन हो जब ब्रिटिसहरूले पहिलो पटक सन् १७८८ मा सिड्नी कोभमा युनियन ज्याकको झण्डा फहराएका थिए।
अस्ट्रेलिया डे सन् १९३५ देखि ज्यानुअरी २६ मा मनाउन थालिए पनि सन् १९९४ देखि मात्र राष्ट्रव्यापी रूपमा यस दिनमा सार्वजनिक बिदा दिन सुरु गरियो।
केही अस्ट्रेलियनहरूले आफ्ना साथीहरू र परिवारसँग बारबिक्यू आयोजना गरेर, बीचमा गएर वा देशका विभिन्न स्थानमा आयोजित आतिशबाजीका कार्यक्रमहरूमा उपस्थित भएर यस दिनको उत्सव मनाउँछन्।
यस दिनमा अस्ट्रेलियाको नागरिकता वितरण समारोहहरू पनि गरिन्छ।
तर ज्यानुअरी २६ लाई सन् १९३८ देखि आदिवासी र टोरेस स्ट्रेट द्विप समूहका मानिसहरूले "शोकको दिन" को रूपमा विरोध गर्दै आएका छन्।
पछिल्लो समयमा बढ्दो सङ्ख्यामा अस्ट्रेलियनहरूले यस दिनमा उत्सव मनाउन अस्विकार गर्नुका साथै यो राष्ट्रिय बिदाको दिनलाई अर्को मितिमा सार्नु पर्ने मत राख्न थालेका छन्।

आदिवासी अस्ट्रेलियनको लागि यो किन शोकले भरिएको दिन हो?
योर्टा योर्टा महिला र युनिभर्सिटी अफ वलङगङ की वरिष्ठ लेक्चरर डा समर मे फिन्ले ज्यानुअरी२६ आदिवासी र टोरेस स्ट्रेट आइल्याण्डरहरूका लागि समस्याग्रस्त दिन भएको भनाइ राख्छिन्।
यस दिनले उनीहरूबाट भूमि खोसिएको र उनीहरूलाई आफ्नै संस्कृतिबाट अलग गराइएको सुरुवातलाई जनाउने उनको भनाइ छ।
“यो भेदभाव, जातीयताको सुरुवात हो, र यो हाम्रा पुर्खाहरूले ६५,००० वर्षदेखि हिँड्दै आएको भूमि र समुदायबाट हाम्रा मानिसहरूलाई वञ्चित गरिएको त्यो समयको सुरुवात हो।”
भूमि विस्थापन, नरसंहार, रोग लाग्ने र बच्चाहरूलाई जबरजस्ती उनीहरूका अभिभावकबाट टाढा लैजाने अवस्थाको सामना गर्नुपरेका कारण ब्रिटिस उपनिवेश आदिवासी अस्ट्रेलियनहरूका लागि विनाशकारी साबित भएको छ।
प्रणालीगत भेदभाव, खराब स्वास्थ्य अवस्था, र न्याय प्रणालीमा अत्यधिक उपस्थिति लगायतका औपनिवेशिक प्रभावहरू आज पनि महसुस गरिन्छ।
डा फिन्ले सबै अस्ट्रेलियनहरूलाई आफ्नो देशको इतिहासको बारेमा जान्न आग्रह गर्छिन्।
परिवर्तन, स्वीकारोक्ति कि खारेज, के होला समाधान?
पछिल्लो एक सर्वेक्षणले ज्यानुअरी २६ मा नै अस्ट्रेलिया डे राख्नु पर्ने पक्षमा बहुमत अस्ट्रेलियनहरू रहेको देखाएको छ। तर पनि प्रत्येक वर्ष यस मितिलाई सार्नु पर्ने बहस भने चलेकै हुन्छ।
यो मितिसँग जोडिएको इतिहासलाई हेरेर कतिपय अस्ट्रेलियनहरूले यसलाई आफूहरूको जमिन माथि 'आक्रमण' भएको वा 'अस्तित्व' रक्षा गर्ने दिनका रूपमा स्मरण गर्ने गर्छन्।
धेरै आदिवासी अस्ट्रेलियालीहरू मिति सार्न चाहन्छन्, यद्यपि केहीले यसलाई परिवर्तन गर्नु भन्दा यसको इतिहासलाई मान्यता दिनुलाई प्राथमिकता दिन्छन्।
बोइ स्पीयरिम जस्ता केहीले भने यो दिन पूर्ण रूपमा खारेज गर्नुपर्ने धारणा राख्छन्।
"यो देशमा शान्तिपूर्ण रूपमा बसोबास गरिएको थियो वा आदिवासी मानिसहरूलाई के भएको थियो त्यो स्वीकार गर्नु हुँदैन भन्ने औपनिवेशिक बुझाइलाई समाप्त गर्नु पर्छ।"

कसरी मनाइन्छ ज्यानुअरी२६ लाई ?
आदिवासी समूहहरूले यस दिनमा देशभर जुलुस, र्यालीका साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्छन्।
स्पीयरिमले ब्रिसबेनमा केही मार्चहरूको आयोजना गर्छन्। र उनी भन्छन् कि यसले आफूलाई सशक्त महसुस गराउँछ।
राना हुसैन आदिवासी र गैर-आदिवासी अस्ट्रेलियनहरू बिच मेलमिलाप प्रवर्द्धन गर्ने गैर-नाफामूलक प्रतिष्ठान, रिकन्सिलियसन अस्ट्रेलियाकी बोर्ड सदस्य हुन्।
र उनी ज्यानुअरी २६ लाई लिएर रहेको समस्या आदिवासीको मात्र नभई सम्पूर्ण अस्ट्रेलियनहरूको हुनु पर्ने भनाई राख्छिन्।
यो मितिलाई लिएर रहेको संवेदनशीलतालाई स्वीकार गर्दै, धेरै काउन्सिलहरूले ज्यानुअरी२६ मा नागरिकता समारोह आयोजना गर्न बन्द गरेका छन्।
अस्ट्रेलिया डेमा देशभर सार्वजनिक बिदा दिइन्छ।
र यदि यो सप्ताहन्तमा पर्यो भने त्यही सोमबार सार्वजनिक बिदा हुन्छ।
डा फिन्ले केही कार्यस्थलहरूले आफ्ना कर्मचारीहरूलाई यस दिनमा काम गर्ने र अर्को दिन छुट्टी लिने विकल्प दिने गरेको भनाइ राख्छिन्।

आदिवासी अस्ट्रेलियनहरूलाई आप्रवासीहरूले कसरी समर्थन गर्न सक्छन्?
हुसैन अस्ट्रेलिया डेको दिन हुने जमघटहरूले आशा र एकता प्रदान गर्ने भनाइ राख्छिन्।
"आदिवासीहरूले मिति परिवर्तन गर्न वा यस दिनले उनीहरूका लागि के अर्थ राख्छ भन्ने बारे स्वीकार गर्न जोड दिँदा आदिवासी समर्थकहरूको रूपमा, मलाई लाग्छ कि हामी उनीहरूको पछाडि उभिन वास्तवमै महत्त्वपूर्ण छ।"
स्पीयरिम विश्वास गर्छन् कि युद्ध र अतिक्रमणको अनुभव गरेका आप्रवासीहरूले आदिवासी सङ्घर्षहरू प्रति सहानुभूति राख्न सक्छन्।
दोस्रो पुस्ताको आप्रवासीको रूपमा, हुसैनले धेरै आप्रवासीहरू किन अस्ट्रेलियन भएको आफ्नो नयाँ पहिचान मनाउन चाहन्छन् भन्ने बुझेकी छिन्।
तर हामी सबै अस्ट्रेलियनहरूले हाम्रो देशको साँचो इतिहासको बारेमा गम्भीर कुराकानी गर्न आवश्यक छ भन्ने उनको विश्वास छ।
र उनी हामीले यसलाई मनाउन समावेशी तरिका खोज्न सक्नेमा जोड दिन्छिन्।
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au मा इमेल पठाउनु होस्








