अस्ट्रेलियामा यहुदी विरोधी घटनाहरू पहिले कहिल्यै नदेखिएको स्तरमा हुन थालेको हामीले हाल अनुभव गरिरहेका छौँ। यस सम्बन्धी चर्चा हामीले एसबीएस एक्जामिन्सको योभन्दा अगिल्ला अङ्कहरूमा गरिसकेका छौँ। आज भने हामी तपाईँहरूलाई जायोनिजम् अनि के इजरेल विरोधी वा जायोनिस्ट विरुद्ध लाग्नु एन्टिसेमिटिजम् हो त भन्ने बारेमा एक प्रस्तुति सुनाउँदै छौँ।
एलेक्स रिभचिन एक्जीक्युटिभ काउन्सिल अफ अस्ट्रेलियन ज्युरीका सह कार्यकारी प्रमुख हुन्।
जायोनिजम्का विषयमा एउटा किताब समेत लेखेका उनी भन्छन् कि जायोनिस्टबारे यहुदी समुदाय भित्रै पनि अन्योल छ।
उनी भन्छन् जायोनिजम् यहुदी मानिसहरूको आफ्नै भूमिका लागि अधिकार हुनुपर्छ भन्ने मान्यतालाई समर्थन गर्ने विचार हो।

जायोनिजम्को विचार १९औँ शताब्दीको अन्त्य तिर सुरु भएर २०औँ शताब्दीमा धेरै प्रयोग हुन थालेको मानिन्छ।
धार्मिक तथा जातीय अल्पसङ्ख्यकका रूपमा यहुदीहरूले विश्वभर भोग्नुपरेको उत्पीडनको एक प्रतिक्रिया स्वरूप यो सुरु भएको थियो।
पहिले प्यालेस्टाइनको क्षेत्रभित्र रहेको जमिनमा इजरेलले आफ्नो स्थापनाका साथै स्वतन्त्रता सन् १९४८ मा घोषणा गरेको थियो।
उक्त समयदेखि सधैँ यसको विरुद्ध आवाजहरू उठिरहेका छन् र केही मानिसहरूको विचारमा इजरेलको अस्तित्व नै हुनु हुँदैन थियो।
सन् २०२३ को सात अक्टोबरमा इजरेल-हमास युद्ध सुरु भएदेखि प्यालेस्टिनी सीमा भित्र रहेको गाजा सहरमा आक्रमण गर्दा मानव अधिकार हनन तथा युद्ध अपराधका आरोप इजरेल र इजरेली सरकार दुवै विरुद्ध लागिरहेको छ।
तर रिभचिन भन्छन् कि यहुदीहरूको इजरेली भूमिसँगको सम्बन्ध निकै गाढा र गहिरो छ।
उनका अनुसार यो नाता आदिम कालदेखि कै हो।
यसरी उक्त भूमिसँग परापूर्व कालदेखि नै बलियोसँग सम्बन्ध गाँसिएको भएर नै इजरेलको आलोचना यहुदी मानिसहरूका लागि असह्य हुने गरेको छ।
तर पनि, इजरेली राज्य विरुद्ध बोल्दैमा वा उसको आलोचना गर्दैमा एन्टिसेमेटिक वा जायोनिजम् विरोधी नै हो भन्न मिल्दैन।
अनि, अस्ट्रेलियन सेन्टर फर जूविस सिभिलाइजेसन्का निर्देशक एसोसिएट प्रोफेसर डेभिड स्लुकी भन्छन् कि यो अरू कुनै देश हुनु जस्तै हो, केही न केही कुरामा आलोचना त भई नै हाल्छ।
उनको विचारमा, अरू देशका मानिसहरूसँग हुने आफ्नो भूमिबारे कुनै रोकटोक बिना बोल्न पाउने अधिकार, यहुदीहरूलाई नभएको हो कि भन्ने कुराले पनि अवस्थालाई अलि अफ्ठेरो बनाएको हो।

एसोसिएट प्रोफेसर स्लुकी अगाडि भन्छन् कि एन्टिसेमिटिजम् इजरेल विरोधी विमर्शका रूपमा पनि प्रस्तुत हुन सक्छन् - 'जू' वा 'यहुदी' जस्ता शब्दको प्रयोग गर्न छाडेर, जायोनिस्ट वा इजरेली जस्ता शब्दहरूलाई छान्दा।
उनका विचारमा मानिसहरूले मिडिया जायोनिस्टको नियन्त्रणमा छ भन्नु वा उनीहरूले विदेश नीतिमा आधिपत्य कायम गरेका छन् भन्नु एन्टिसेमिटिजम् हो किनकि यसो भन्दा जू वा यहुदीहरूले संसार नै कब्जा गरेको बुझिन्छ।
यस्तो आलोचना इजरेल वा इजरेली सरकार वा कुनै राजनीतिक विचारधाराका विरुद्ध नभएर यहुदी मानिसहरू प्रति लक्षित हुनु सही नभएको डेभिड स्लुकीको धारणा छ।
र यस्ता बहसहरूले समुदायलाई थप ध्रुवीकरण गरेको पनि उनको भनाई छ।
अस्ट्रेलियामा रहेका कति यहुदीहरूले आफूलाई जायोनिस्ट भनेर चिनाउँछन्, ठ्याक्कै तथ्याङ्क हामी कसैसँग छैन।
तर, विभिन्न सर्वेक्षणहरूका अनुसार यो सङ्ख्या ७० देखि ८० प्रतिशत रहेको छ।
अनि, जायोनिस्टका रूपमा आफूलाई पहिचान गर्ने यहुदीहरूको सङ्ख्या पनि घट्दो छ।
सेरा स्वार्ट्ज मानव अधिकारको क्षेत्रमा काम गर्ने एक कानूनी सल्लाहकार हुन्।
उनी भन्छिन् कि केही यहुदीहरू मिलेर यो वर्ष जूइस काउन्सिल अफ अस्ट्रेलियाको स्थापना गरेका छन्।
स्वार्ट्जका अनुसार यो सङ्गठनमा लागेका यहुदीहरू हाल गाजामा चलिरहेको इजरेली कारबाही निकै गलत भएको सोच्छन् र सबै यहुदीहरूले इजरेलले गर्ने सबै कार्यहरूको समर्थन गर्छन् भन्ने सोचबाट दुःखी छन्।
उनी जायोनिजम्लाई फरक ढङ्गले व्याख्या गर्छिन् र भन्छिन् कि यो राजनीतिक अवधारणा हो जसको प्रयोग प्यालेस्टिनी मानिसहरूलाई आफ्नो भूमिबाट बेदखल गर्न चालिएका कदमहरूलाई यथोचित देखाउन प्रयोग गरिएको छ।
स्वार्ट्जका अनुसार जायोनिजम् र यहुदी पहिचानलाई एकै ठाउँमा मिलाउने कामले नै अस्ट्रेलियामा एन्टिसेमिटिजम्लाई बढवा दिइरहेको छ।
त्यसो भए यसले अब यहुदी समुदायलाई कता तिर डोर्याइरहेको छ त?
डेभिड स्लुकी मान्छन् कि पछिल्लो एक वर्ष इजरेल, गाजा र लेब्नन्बाट आएका समाचारहरूले मुस्लिम समुदाय लगायत सबैलाई प्रभावित गरेको छ र यो विषयले निम्त्याएको मनोवैज्ञानिक प्रभाव हामी सबैले भोगेका कारण एक आपसमाथि करुणाको भावना राख्दै अगाडी बढ्नु थाल्नुपर्छ।





