अस्ट्रेलियाका ठुला व्यवसायहरूले मानिसहरूलाई कोभिड-१९ विरुद्धको खोप लगाउन प्रोत्साहन गरी, सरकारको मद्दत गर्ने बताएका छन्।
यस विषयमा ठोस योजना निर्माण गर्ने संघीय ट्रेजरर जश फ्राइडनबर्ग र स्वास्थ्य अधिकारीहरूले बुधबार कर्पोरेट प्रमुखहरू सँग अनलाइन वार्ता बसेका थिए।
"अस्ट्रेलियाका ३० वटा भन्दा बढी ठूला कम्पनीका प्रमुखहरू उपस्थित थिए," फ्राइडनबर्गले भने।
कोल्सका प्रमुख कार्यकारी अधिकृत, कमनवेल्थ बैङ्क, वेसफार्मर्स, भर्जिन, क्वानटास लगायत अरू थुप्रै कम्पनीहरू अनलाइन वार्तामा उपस्थित थिए।
देश भरको पूर्ण जनसङ्ख्याको केवल ९ प्रतिशतले मात्र खोप लगाएको अवस्थामा, यो सङ्ख्या बढाउने योजनालाई प्राथमिकता दिइएको थियो।
बनिङ्ग्स र अफिसवर्कसका मालिक वेसफार्मर्स, र अन्य केही व्यवसायहरूले आफ्ना कार्यस्थललाई खोप लगाउने ठाउँको रूपमा प्रयोग गर्न दिने बताएका छन्।
त्यस्तै, विमान कम्पनीहरूले खोप लगाएका मानिसहरूलाई नियमित ग्राहकको रूपमा लिने कुरा पनि अघि सरेका थिए। अमेरिकामा खोप लगाएका मानिसहरूलाई इनाम स्वरूप निःशुल्क बियर, लटरी र गाँजा समेत दिन थालेका छन्।

अहिलेको समयमा अस्ट्रेलियालीहरू एकताबद्ध हुनु पर्ने फ्राइडनबर्गले बताए। "देशका सबै आर्थिक क्षेत्रका प्रमुखहरू भेला भएकोमा म निकै आभारी छु," उनले भने।
यो "टिम अस्ट्रेलिया" को समय हो।यो हामी सबै एकतावद्ध हुनु पर्ने समय हो।
स्वास्थ्य प्रणाली माथि कम दबाब पर्ने गरी काम गर्नु पर्ने कोभिड-१९ भ्याक्सिन टास्कफोर्सका लेफ्टिनेन्ट जोन फ्रुवेनले बताए।
तर उता विपक्षी लेबर दलका प्रमुख एन्थनी एल्बनिजीले भने, यो वार्ता केवल जनतालाई देखाउन मात्र गरेको भनी बताए।
पहिले नै व्यवसायहरूसँग किन सहकार्य नगरेको भनी लेबरका ट्रेजरी प्रवक्ता जिम चामर्सले प्रश्न गरेका छन्।

"व्यवसायहरूसँगको कुराकानी यति जरुरी थियो भने, यो आयोजना गर्न जश फ्राइडनबर्गलाई १८ महिना किन लग्यो?," उनले भने।
"एक पटक फेरी, व्यवसायहरूको संलग्नता समस्या होइन, यहाँ भ्याक्सिनको सङ्ख्या अपर्याप्त नहुनु समस्या हो।"
वर्तमान अवस्थामा माग अनुसार खोप उपलब्ध नहुनाले व्यवसायहरूले तुरुन्तै मद्दत गर्न मिल्दैन।
आउँदो अक्टोबर महिना सम्म एमआरएनए खोपहरू अस्ट्रेलिया आइपुग्ने भनिएको छ, र अहिले भने अस्ट्रेलियाको खोप वितरण प्रक्रिया विश्वका अन्य देश भन्दा निकै पछाडि परेको छ।
यो पनि पढ्नुहोस्:

नेडक सप्ताह: तपाईँ नजिकै रहेका आदिवासीय महत्त्व बोकेका स्थानहरू







