गत वर्ष कोरोना महामारीको कारण लकडाउन भएदेखि अस्ट्रेलियाका फ्र्याङ्क ह्विटलिङ अझै पनि पोखराको एउटा होटेलमा बसिरहेका छन्।
यस्तै अर्का अस्ट्रेलियाली स्टिभ रोबर्टस् पनि कहिले कपिलवस्तु र बर्दियावासमा नेपाली महिलाहरूलाई क्रिकेट प्रशिक्षण दिँदै त कहिले धरानमा लाहुर जान तैयारी गरिरहेका युवाहरूलाई अङ्ग्रेजी सिकाएर नेपालमै बसिरहेका छन्।
उनीहरूजस्ता झन्डै १०० को सङ्ख्यामा नेपालमा कोरोनाको कारण फसेका अस्ट्रेलियाली नागरिकहरूलाई आफ्नो मुलुक फर्कन रोक लगाइएको र जान चाहेमा धेरै आर्थिक र मानवीय सास्ती सहनुपर्ने भएकोले नेपालको सरकारसँग उनीहरू आफूजस्तै अन्य विदेशीहरूसँग मिलेर भिसाको प्रावधानहरू खुकुलो पार्न आग्रह गरिरहेका छन्।
यस विषयमा फ्र्याङ्क ह्विटलिङ भन्छन्, "हाम्रो भिसा बारम्बार रद्द भइराख्छ र त्यसलाई नवीकरण गराइराख्नु पर्छ।"
"हरेक पटक यस्तो हुँदा हामी सबैलाई तनाव हुन्छ र अब हामी नेपालमा बस्न पाउने हो कि यहाँबाट जान पर्ने हो भन्ने विषयले अन्योलमा पर्छौँ। त्यसैले अहिले हामी नेपाल सरकारसँग आफ्नो भिसाको समस्याको दीर्घकालीन उपाय तथा विकल्प खोज्न पहल गर्ने कार्यमा जुटेका छौँ।”
गत वर्ष फ्र्याङ्क नेपालमा ज्यानुअरी १ मा आइपुगेका थिए र उनलाई स्वतः तीन महिनाको भिसा दिइएको थियो।
उनको भिसाको अवधि सक्नु अघि उनी पोखराको अध्यागमन विभाग पुगे र फेरि सरकारले उनलाई दुई महिनासम्म नेपाल बस्न थप अनुमति दिँदै भिसामा छाप लगाइदियो।

यसै ताका नेपालमा पहिलो लकडाउन सुरु भयो।
फ्र्याङ्क र उनीजस्तै विदेशीहरू चाहेर पनि कतै निस्कन पाएनन्।
यसबिचमा जब उनको भिसाको अवधि सकियो, तब उनले करिब तीन महिना जति समय नेपालमा अवैध रूपमै बसेको बराबर भयो।
लकडाउनको कारण अध्यागमन विभागले उनीजस्ता कोही पनि विदेशीसँग सम्पर्कमा आएर भिसाको काम गर्न सकेन।

केही समय बितिसकेपछि विभागले फ्र्याङ्कलाई भिसा अवधि थप्न मन भए कार्यालयमा आउन आग्रह गर्यो।
उनी खुसीसाथ गए र उनलाई सन् २०२० को डिसेम्बर १५ सम्मको भिसा अवधि थप गरियो।
वर्षको अन्तिम महिना भएकोले यो मिति अघि उनी कार्यालय पुगे र ज्यानुअरी ३१ सम्मको भिसा थप गरे।
अध्यागमन विभागले उनलाई अर्को आधिकारिक वर्ष पनि नेपालमा बस्ने हो भने ज्यानुअरीदेखि मे महिनासम्मको ५ महिने भिसा थप गर्ने सुविधा रहेको जानकारी गरायो।
त्यसपछि उक्त समय अनुरूप उनले यसको पनि महसुल तिरे र यस बिचमा कोरोनाको दोस्रो लहरको लकडाउन पनि सुरु भयो।
यस भिसा अवधिको पनि म्याद सकियो तर अध्यागमन विभाग त्यस बेलासम्म सञ्चालनमा नआएको हुनाले उनले करिब १ महिना फेरि भिसा विहीन हुनुपर्यो।
अहिले उनले थप गरेको भिसामा जुलाई महिनासम्मको म्याद तोकिएको छ।
अब त्यसपछि नेपाल सरकारले कस्तो नीति अपनाउने हो, फ्र्याङ्क र अन्य उनीजस्तै विदेशीहरूलाई केही थाहा छैन।
आफ्नो कामबाट अवकाश लिइसकेको जिन्दगीमा छुट्टी मनाउन नेपाल आएका उनको आर्माडेल (न्यु साउथ वेल्स) मा आफ्नो नाममा जुन अपार्टमेन्ट छ, त्यो भाडामा दिएर त्यसैको आमदानीबाट नेपालमा बसिरहेका छन्।

उनलाई आफ्नो देशको सरकारको कडा नियम र महँगो क्वारेन्टिन महसुल तिर्नभन्दा नेपालको सुन्दरतामै आगामी एक वर्ष जति बिताउन मन छ।
उनको इच्छा अनुसार हुने हो भने अबको आधिकारिक वर्ष २०२१ को डिसेम्बरसम्मको उनी भिसा लिन चाहन्छन्।
यसो भएमा बिचमा आफ्नो मातृभूमि फर्कन उनलाई जुन बेला अनुकूल हुन्छ, त्यस बेला उक्त निर्णय लिएर अस्ट्रेलिया जान्छु भन्ने उनलाई आस छ।
स्टिभ रोबर्ट्स फ्र्याङ्कजस्तै नेपालमा रहेका एक अर्का अस्ट्रेलियन पात्र हुन्।
उनले फेसबुकमा नेपालमा रहेका अस्ट्रेलियन नागरिकहरूलाई ‘ग्रुप’ बनाएर सम्पर्कमा राखेका छन्।
गत वर्षदेखि अहिलेसम्म करिब २० जना अस्ट्रेलियालीहरू नेपालबाट अर्को मुलुक गएको, तर आफ्नो देश भने नगएको उनी बताउँछन्।

गत वर्ष कोरोनाको कारण नेपालमै बसोबास गरिरहेका उनी यस देशका युवाहरूलाई सीपमूलक कामहरू सिकाउन रुचाउँछन्।
उनले पनि आफ्नो भिसा र नेपालबाट आफ्नो मुलुक फर्कने विषयमा नेपालको अध्यागमन विभागसँग बारम्बार सम्पर्कमा आउनु पर्यो।
अस्ट्रेलियाको दूतावाससँग सम्पर्क गर्न खोज्दा उनीहरूबाट यस विषयमा कुनै पनि सहयोग नपाएको उनी बताउँछन्।
उनी मेलबर्नका हुन् र अस्ट्रेलिया र एसियाका केही मुलुकमा आफ्नो लगानी र व्यवसायको आमदानीले नेपालमा आफ्नो खर्च जुटाउँदै बसिरहेका छन्।
कोरोना महामारीको बेला आफ्नो मुलुकले उनीहरूजस्ता नागरिकलाई राम्रोसँग व्यवस्थित गर्न नसकेको उनको बुझाई छ।
उनी भन्छन्, “मलाई नेपाल सरकारले अबको १ वर्षको भिसा दियो भने म ढुक्क भएर यहाँ बस्ने थिएँ, किनभने अस्ट्रेलियामा पुगेर हामी बस्नुपर्ने क्वारेन्टिन केन्द्रहरू नै कोरोना महामारी फैलने उच्च सम्भावना रहेको स्थलका रूपमा पाइएको छ।”

फ्र्याङ्क र स्टिभ दुवै जना नेपालमा एक्लै बसिरहेका छन्।
उनीहरूजस्ता अन्य थुप्रै व्यक्तिहरू विदेशबाट आएर यस समय नेपालमै आफ्नो जीवन व्यथित गरिरहेका छन्।
बरु मापदण्ड अनुसार केही समयको लागि मात्र नेपालबाट बाहिर गएर भिसा लिने बेला तुरुन्त फर्केर आएर आफ्नो बसोबास कायम राख्ने उनीहरू मध्ये कैयौँको चाहना रहेको छ।
उनीहरू नेपालमा पनि एसियाका केही अन्य मुलुकहरूमा जस्तो सुलभ र लामो समयसम्मको व्यापारी भिसा तथा रिटायरमेन्ट भिसाको प्रावधान भएको देख्न चाहन्छन्।
नेपाललाई अस्ट्रेलिया सरकारले कोरोना महामारीको ‘रेड जोन’ भनेर पहिचान गरेको छ र यहाँबाट स्वदेश फर्कने चाहने अस्ट्रेलियाली नागरिकहरू फर्कनै चाहेमा अस्ट्रेलिया पुगेर तीन हजार अस्ट्रेलियन डलर तिरेर १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ।

यसमा हवाई टिकट प्रति व्यक्ति ४ देखि ६ हजार अमेरिकी डलरसम्म रहेको छ।
यात्राको समय पनि करिब ३७ घण्टा लामो हुनेछ, जसको कारण अस्ट्रेलिया पुगिसक्दा पीसीआर रिपोर्टको समेत आधिकारिक अवधि सकिसकेको हुन्छ।
नेपालबाट अस्ट्रेलिया जाने चार्टर फ्लाइटहरू बारम्बार रद्द पनि भइरहेका छन् भने व्यावसायिक उडान अगस्ट महिनाबाट सुरु हुने बताइएको छ।
त्यो पनि बिचमा रद्द हुने हो की चलिरहने, अनुमान गर्न सक्ने अवस्था छैन।

अहिले नेपालमा विदेशबाट घुम्न आउने विदेशी नागरिकलाई ९० दिनको भिसा दिइन्छ र यो अवधि कटेपछि अर्को ६० दिनको भिसा लागू गरिन्छ।
यसको निम्ति विदेशी पर्यटकले प्रति दिन अमेरिकी ३ डलर तिर्नुपर्ने हुन्छ।
यस अवधि पनि कटेपछि उनीहरूले दिनको ८ डलर जरिमाना तिर्नुपर्ने हुन्छ र कुल २१० दिनको अवधिपछि उनीहरूको बसाई अवैध हुन जान्छ।
यस्तै बाध्यताहरूको कारण नेपालमा रहेका अस्ट्रेलिया तथा अन्य मुलुकका नागरिकहरू मिलेर नेपाल सरकारलाई उनीहरूको भिसा सम्बन्धी केही सहुलियत दिनको निम्ति माग गरिराखेका छन्।

अध्यागमन विभागले ८ जुलाईमा एउटा नोटिस जारी गरेर नेपालबाट प्रस्थान गर्ने विदेशीहरूको भिसा छुटको अवधिको सम्बन्धमा जानकारी गराएको छ।
यसको अनुसार २८ अप्रिल २०२१ सम्म नेपालको वैद्य भिसा भएका र १५ जुलाई २०२१ भित्र नेपालबाट प्रस्थान हुने विदेशीको विमानस्थलबाटै भिसा नियमित गरिनेछ।
फ्र्याङ्क र अन्य विदेशी जसले जुलाईमा आफ्नो भिसामा थप अवधिको महसुल तिरे, उनीहरूको नेपालको बसाई कति दिन पुगिसकेको छ, त्यसको आधारमा नेपाल सरकारले उनीहरूको बसाई वैद्य या अवैध तोक्नेछ।
तर लकडाउनको समयलाई नगनीकन आधिकारिक समय अनुसारको २१० दिन कटिसकेका विदेशीको बसाइँलाई अवैध मानिएको छ।
जस कारण जुलाईपछि फ्र्याङ्क र स्टिभले नेपालबाट प्रस्थान गर्नुपर्ने अवस्था उत्पन्न हुनसक्छ।
यी पनि हेर्नुहोस्:

बेल्जियममा नेपाल लगायत अन्य देशका आप्रवासीहरू अधिकार माग्दै भोक हडतालमा








