नेडक सप्ताह अस्ट्रेलियाली वार्षिक पात्रोमा एक विशिष्ट स्थान ओगट्ने कार्यक्रम हो।
हरेक वर्ष जुलाई महिनाको दोस्रो साता - अस्ट्रेलियाका आदिवासीहरू - एबोरिजिनल तथा टोरेस स्ट्रेट आइल्यान्डरहरूको इतिहास, संस्कृति र उपलब्धिहरूको एक उत्सवका रूपमा - नेडक सप्ताह आयोजना गर्ने गरिन्छ।
अङ्ग्रेजी भाषामा नेश्नल एबोरिजिनल एन्ड आइल्यान्डर्स डे अभजर्भेन्स कमिटीको छोेटो रूप नै नेडक हो।
एक साता लामो उत्सवमा रूपान्तरित हुनु अघि यो एक शोक दिवसका रूपमा मनाइने गरिएको थियो।
सन् १९३८ मा अस्ट्रेलिया दिवस मनाइँदै गर्दा आदिवासी प्रदर्शनकारीहरूले भने 'शोक दिवस' भन्दै सिड्नीबाट मोर्चा निकालेका थिए।
यो प्रदर्शन सफल भएपछि हरेक वर्ष - अस्ट्रेलिया दिवस भन्दा अगाडीको आइतबारलाई शोक दिवस भनेर मनाउन थालियो - जुन पछि गएर एबोरिजिनलहरूको राष्ट्रिय दिवसको रूपमा परिचित हुन थाल्यो।

यही जुलाई ४ देखि ११ तारिखसम्म मनाईँदै गरिएको सन् २०२१ को नेडक सप्ताहका लागि "हीइल कन्ट्री" अथवा भूमिलाई निको पार्नु भन्ने मूल नारा तोकिएको छ।
परम्परागत रूपमा यस धर्तीका स्वामी रहेका आदिवासीहरूको सांस्कृतिक विरासतसँग निकै कसिलो अन्तरसम्बन्ध गाँसिएको पर्यावरण र पवित्र स्थानहरूको थप सुरक्षा एवं जगेर्ना गरिनुपर्नेमा उक्त नाराले जोड दिन्छ।
वुरुन्जेरी र जा जा वुरुङ पृष्ठभूमिकी स्टेसी पाइपर भिक्टोरियाली नाइडक समितिकी अध्यक्ष हुन्।
हीइल कन्ट्रीले भूमि प्रतिको दायित्वलाई पनि दर्शाउँछ।
साथै जमिनसँग जोडिने अन्य सबै कुराहरू जस्तै कि सबै प्राणीहरू, अध्यात्म, पहिचान, कथा तथा मान्यताहरूलाई आदर गर्नुपर्ने बारे पनि यसले चर्चा गर्छ।

हीइल कन्ट्री हजारौँ वर्षदेखिको परम्परागत भूमि प्रबन्धन कार्यलाई पहिचान दिने कदमका साथ साथै मातृभूमिको रेखदेखका बारेमा पनि हो।
जमिनको हेरचाह भन्नुको अर्थ महत्त्वपूर्ण स्थानहरूसम्म मानिसहरूको पहुँच सीमित गरेर ती ठाउँहरूलाई सुरक्षा प्रदान गर्नु रहेको बताउँछिन् पाइपर।
क्यानबेरा वरपर हजारौंको सङ्ख्यामा महत्त्वपूर्ण स्थलहरू छन् र यी मध्ये कयौँको प्रवेशमा सर्वसाधारणलाई कुनै रोकटोक छैन।
ती स्थानहरुमा रहेका सांस्कृतिक पहिचानहरूको सुरक्षा तथा संरक्षणमा लागि परेका गुन्नावल भूमिका एक पुरुष हुन् - वाली बेल।

परम्परागत स्थलहरूको देखभाल गर्ने व्यक्ति भएता पनि केही यस्ता पवित्र स्थलहरूका विशिष्ट सांस्कृतिक चालचलनहरू पालना गर्नेु पर्ने बारे उनी कटिबद्ध छन्।
सिड्नीभन्दा लगभग २५ किलोमिटर उत्तरमा रहेको कुरीङगाइ चेस राष्ट्रिय निकुञ्ज भित्र मात्रै ३५० वटा आदिवासिय स्थलहरू पहिचान गरिएका छन्।
र यो राष्ट्रिय निकुञ्ज अस्ट्रेलियाभरमा नै एबोरिजिनल महत्त्वका स्थलहरूको सबैभन्दा बढी घनत्व भएको ठाउँ पनि हो।
यहाँ भित्र तपाईँले एबोरिजिनल विरासत झल्कने विभिन्न प्रतीकहरू हिँडडुल गर्दै हेर्न सक्नुहुन्छ जसमध्य उक्त भूमिका परम्परागत मानिसहरूद्वारा ढुङ्गामा कुँदिएका चित्रकला प्रमुख आकर्षणका रुपमा रहेको छ।

अस्ट्रेलियाका अन्य शहरहरूका मुटुमै पनि यस्ता विशिष्ट स्थलहरू पाउन सकिन्छ।
पर्थको किङ्स पार्क यस्तै एक आलङ्कारिक तथा सांस्कृतिक केन्द्र हो जहाँको बूड्जा गनारनिङ वक प्रख्यात छ।
यो गोरेटो बाटो अगाडि बढ्दै जाँदा दुई हाँगामा विभाजित हुन्छ जसमध्ये एकले पुरुषहरूको परम्परागत भूमिका तथा ज्ञानलाई दर्शाउँछ भने अर्कोले महिलाहरूको।
मेलबर्नको कुरा गर्दा भने २१ जुलाईदेखि एक नयाँ मोबाइल एपको माध्यमबाट तपाईँले अग्मेनटेड रियालिटी प्रविधिको मजा उठाउँदै फिट्जरोइको एबोरिजिनल इतिहाससँग भिज्न सक्नुहुनेछ।

स्थानीय वुरुनजेरी बासिन्दाहरूको वोइ वुरुङ भाषामा हिजो भनेर बुझाइने शब्द यालिनगुथ नाम दिइएको उक्त एप मार्फत प्रख्यात जेरट्रुड मार्गभरका एबोरिजिनल इतिहास थाहा पाउन सकिने योर्ता योर्ता भूमि पुत्र बबि निकोल्स बताउँछन्।
स्टेसी पाइपरका अनुसार यस वर्षको नाइडक सप्ताहको मूल मर्म पनि आदिवासी संस्कृति, पहिचान र भूमिको देख भाल गर्नु सबै अस्ट्रेलियावासीको उत्तिकै जिम्मेवारी रहेको बोध गराउनु हो।
नर्दर्न टेरोटरी र वेस्टर्न अस्ट्रेलियाका आदिवासी भाषा बोल्ने समूहहरूसँग मिलेर सीएसआईआरओ भनिने कमनवेल्थ वैज्ञानिक तथा औद्योगिक अनुसन्धान संस्थाले एबोरिजिनल मानिसहरूको पर्यावरण र परिस्थिति विज्ञान माथि कति बलियो पकड छ भनेर देखाउन पात्रोहरूको एक सङ्ग्रह नै प्रकाशित गरेको छ।
बबि निकोल्स भन्छन् कि इतिहासका यस्ता पाटाहरू बारे शिक्षा दिनु केवल एबोरिजिनल मानिसहरूको मात्र दायित्व होइन, नाइडक सप्ताह त हामी सबैले एक-अर्कालाई यस धर्तीका मानिसहरू, उनीहरूका संस्कृति र इतिहास बारे जान्न बुझ्न प्रेरित गर्ने पनि समय हो।

यो रिपोर्ट सुन्नुहोस्:नेडक सप्ताह: तपाईँ नजिकै रहेका आदिवासीय महत्त्व बोकेका स्थानहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।
सम्बन्धित सामाग्री:

अस्ट्रेलियाका आदिवासी बारे जान्नै पर्ने पाँच कुरा










