SKIP TO MAIN CONTENT

भिसा नियमका कारण थप एक वर्षका लागि १४ हजार दक्ष जनशक्ति अस्ट्रेलिया बाहिरै रहने

बुधवारदेखि विद्यार्थी र दक्ष कामदारका लागि सरकारले अन्तर्राष्ट्रिय सीमा खोले तापनि पढाई सक्काएर ४८५ भिसा प्राप्त गरेकाहरू भने अझै केही समय कुर्नुपर्ने देखिएको छ।

Gaurav Baral.
Having to pay the fee for a Temporary Graduate visa for a second time is a cause of concern for Gaurav Baral from Nepal. Source: Supplied

3 min read

Published


Skip to article content

हाल अस्ट्रेलियाको सीमा नागरिक, स्थायी बासिन्दा र उनीहरूका एकदमै नजिकका आफन्तका बाहेक विद्यार्थी वा केही दक्ष कामदार लागि मात्र खुलेको छ।

उता, केही दिन अघि मात्रै अध्यागमन मन्त्री एलेक्स हअकले “यात्रा प्रतिबन्धका कारण आफ्नो अस्थायी ४८५ भिसाको म्याद अस्ट्रेलिया बाहिर रहेको बेला गुमाएको भए भिसाका लागि पुन आवेदन दिन मिल्ने” बताएका थिए।

तर भिसाका लागि आवेदन दिन भने सन् २०२२ जुलाई अर्थात् अर्को वर्षको मध्यबाट मात्र मिल्ने भएको छ।

सरकारी आँकडाहरूका अनुसार सिमा बन्द रहेको अवधिमा करिब ३० हजार विद्यार्थीहरुले ४८५ भिसा प्राप्त गरेका थिए भने आफ्नो भिसाको अवधि अस्ट्रेलिया बाहिरै रहेर बिताएका गौरव बराल जस्ता करिब १४ हजार भिसावाहकहरू खुसि छैनन्।

बुटवलका गौरव बरालले मास्टर्स इन प्रोफेसनल एकाउन्टीङ्ग पढ्नका होम्स् इन्स्टीच्यूटमा करिब ४० हजार डलर खर्च गरे।

पढाई सक्काए पश्चात् सन् २०१९ डिसेम्बरमा ४८५ भिसा प्राप्त गरेर नेपाल गएका बराल, कोरोनाभाइरस महामारीका कारण अस्ट्रेलियाले सीमा बन्द गरेपछि भने उतै फसे।

“मेरो टेम्पररी ग्र्याजुएट भिसा डिसेम्बर २०१९ मा जारी भएको हो, मैले यसलाई दुई महिना मात्र प्रयोग गर्न पाए,” उनले भने।

“यदि मैले पुन: आवेदन दिनु पर्ने हो भने थप १,६८० डलर तिर्नु पर्ने हुन्छ ... हाम्रो आम्दानीको कुनै स्रोत छैन, २१ महिनादेखि हामी यहिँ छौं।”

बराल जस्तै भारतको पन्जाब, लुधियानाकी सपना बर्मा पनि ठुला सपना बोकेर अस्ट्रेलिया आएकी थिइन्।

आफ्नो अध्ययनका लागि ८० हजार डलरभन्दा पनि बढि रकम खर्च भएको उनी बताउँछिन्।

अस्ट्रेलियामा दुई वर्ष काम गर्ने अधिकार प्राप्त गरेको केही समयमै आफ्नी एक्ली आमालाई भेट्न सन् २०२० मा भारत फर्किइन तर महामारीका कारण उतै रोकिइन्।

“म मेरी आमा जो एकल अभिभावक हुन् उनीसँग केही समय बिताउन चाहन्थे, उनी अधिकांस समय एक्लै पर्छिन्,” उनले भनिन्।

Sapna Verma.
Sapna Verma, whose Temporary Graduate visa has expired, feels the Australian government is not treating her fairly. Source: Supplied

ग्रिन्स पार्टीका अध्यागमन तथा न्याय सम्बन्धी प्रवक्ता निक मक्किमले ३० नोभेम्बरका दिन अध्यागमन मन्त्री एलेक्स हअकलाई एक पत्र लेखी “मितिलाई किन एक जुलाईमा सारिएको हो र यी समूहका मानिसलाई किन प्राथमिकतामा पारिएन” भनेर सोधेका थिए।

“अहिलेसम्म मैले यसको जवाफ पाएको छैन,” उनले भने।

"करिब ३० हजार ४८५ भिसावाहकहरू आफ्नो गल्ती बिना नै फसेका छन्.......उनीहरूलाई निष्पक्ष रूपमा मयार्दा र सम्मान सहित व्यवहार हुनुपर्छ।”

एसबीएस न्युजले अध्यागमन मन्त्री हअकलाई प्रतिक्रियाका लागि माग गरेपछि भने गृह मामिला विभागमा सम्पर्क राख्न भनिएको थियो जसले हामीलाई दिएको प्रतिक्रियामा कानूनी अड्चन देखाइएको छ।

तर, सिनेटर म्याकिम भने यस्तो प्रतिक्रिया पर्याप्त नभएको बताउँछन् ।

“विभिन्न खाले भिसाहरूको व्यवस्थापन समयमै गर्न असफल हुनु गृह मामिलाले भोग्दै आएको इतिहासदेखिको समस्या हो," उनले भने।

सिनेटर मक्किम सरकारले भिसा पुन: आवेदनका लागि शुल्क लिन नहुने तर्क गर्छन्।

“यदि कुनै म्युजिकल कन्सर्टमा वा कुनै खेल समारोहमा,आफ्नो गल्ती बिना कार्यक्रम स्थगन भएको अवस्थामा उसले या त टिकट शुल्क फिर्ता पाउँछ या त अर्को पल्ट सोही टिकट प्रयोग गर्ने सुविधा पाउँछ,” उनले भने।

“र यही कुरा ४८५ भिसामा पनि लागु हुनुपर्छ, कि त उनीहरूले तिरेको शुल्क फिर्ता हुनुपर्छ या त अर्को पल्ट आवेदन दिँदा शुल्क मिनाहा हुनुपर्छ।”

लिज एलेन लामो भिसा प्रोसेसिङ्ग समयका कारण पनि यहाँको दक्ष जनशक्ति अभावलाई बढावा दिइरहेको बताउँछिन्।

उनी एक जनसांख्यिकी हुन् र भन्छिन्, “अस्ट्रेलियामा निःसन्देह सीपको तीव्र अभाव छ।"

“यदि हामी अस्ट्रेलियामा कार्यबलको आवश्यकताका बारेमा कुरा गछौ भने हामीलाई यहाँको स्थानीय जनसङ्ख्याले योगदान गर्न सक्ने भन्दा बढी मानिसको खाँचो छ....हामी आगामी केही समयका लागि प्रत्येक वर्ष करिब ५ लाख थप मानिस आवश्यक हुने देख्छौं।”

सिनेटर मक्किम पनि भिसा सम्बन्धि काममा भएको ढिला-सुस्तीले अस्ट्रेलियाको नाम जोगाउन सहयोग नगरेको बताउँछन्।

“यसले अस्ट्रेलियाको प्रतिष्ठामा ठुलो प्रभाव पारेको छ, हामीले अस्ट्रेलिया बस्न छाडेका मानिसहरुका बारेमा सचेत छौ, र उनीहरू आफ्नो डिग्री पुरा गर्न, स्नातक अध्ययन गर्न वा काम गर्नका लागि अन्यत्र जाने निर्णय गरेका छन्,” उनले भने।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now