लैङ्गिकतामा आधारित एक हिंसा सम्बन्धी सर्वेक्षणले युवा महिला र पुरुषहरूबिच यौनलाई हेर्ने दृष्टिकोण एकदमै फरक भएको देखाएको छ।
गैर-नाफामूलक संस्था यङ वुमेन्स एलायन्स (वाईडब्ल्यूए)द्वारा सञ्चालित दुई वर्षीय अध्ययनले १८ देखि २८ वर्षका ३,३०० युवा अस्ट्रेलियनहरूलाई यौन र अन्य सम्बन्धप्रति उनीहरूको मनोवृत्तिको बारेमा सर्वेक्षण गरेको थियो।
उक्त रिपोर्टका अनुसार पाँचमध्ये एक महिलाले लैङ्गिक हिंसा एवम् सम्बन्ध बारे समस्या अनुभव गरेको र १० मध्ये नौ जनाले यौन दुर्व्यवहारलाई "अपरिहार्य" अर्थात् यौन दुर्व्यवहारबाट बच्न नसक्ने सोच्ने देखाएको छ।

वाईडब्ल्यूएकी संस्थापक रिजिना यादवका अनुसार रिपोर्टले अस्ट्रेलियामा लिङ्गको आधारमा हुने हिंसा एक ठुलो समस्या बनेको देखाएको छ। यसलाई सम्बोधन गर्न थप रणनीतिको आवश्यकता रहेको उनले बताइन्।
"कन्सेन्ट प्रोग्रामहरू न त सोचे झैँ प्रभावकारी हुन सकेका छन् न त व्यवहारमा परिवर्तन ल्याउन नै," उनले एसबीएस न्युजलाई भनिन्।
अझ हाम्रो संस्कृतिमा यौन दुर्व्यवहारबाट बच्नै नसक्ने धारणा भएको यादवको भनाइ छ।
युवाहरूलाई प्रगतिशील मानिने भए पनि, महिला र पुरुषहरूको मनमा यौन, सहमति, लैङ्गिक हिंसा, र सम्बन्धलाई लिएर रहेका मान्यतामा ठुला फरक छन्।
पुरुषहरूले सेक्सलाई शक्तिको रूपमा हेर्छन्
सबै भन्दा ठुलो फरक भने, पुरुष र महिलाको सेक्सलाई हेर्ने दृष्टिकोणमा पाइएको छ।
"अस्ट्रेलियाका युवकहरूले सेक्सलाई शक्तिको रूपमा हेर्छन्," यादव भन्छिन्।
सेक्सलाई शक्ति को रूपमा हेरिन्छ त भन्ने बारे आफ्नो सहमतिलाई शून्यदेखि १० सम्म स्कोर गर्न भनिएकोमा पुरुषहरूले ५.५ को अङ्क रिपोर्ट गरेका थिए।
तुलनात्मक रूपमा, महिलाहरूले भने केवल २.६ को अङ्क दिएका थिए।
अस्ट्रेलियाका युवकहरूले सेक्सलाई शक्तिको रूपमा हेर्छन्।रिजिना यादव, योङ्ग वुमेन्स एलायन्स
सर्वेक्षणको अतिरिक्त, वाईडब्ल्यूएले अनलाइन र प्रत्यक्ष भेट गरेर बाह्र हजार युवाहरू र अन्तर्वार्ता मार्फत थप ३०० सहभागीहरूका विचार सङ्कलन गरेको थियो।
यौन बारे आफ्ना विचार राख्दा, पुरुषहरू आफू 'पोर्न'मा सेक्स देखाएको तरिकाले र साथीहरूसँग 'रिलेसन्सिप' बारे गरेको कुराकानीले प्रभावित भएको यादव बत्ताउँछिन्।
"सेक्स भनेको पुरुषको आनन्दको लागि हुने कुरा हो, महिला त्यहाँ हुने मात्र हो, दुवै बिचको पारस्परिक सम्बन्ध होइन भन्ने धारणा छ," उनले भनिन्।
पुरुषहरूले सेक्सलाई किशोरबाट पुरुष बन्न गर्नै पर्ने चिजको रूपमा हेर्ने रिपोर्टले देखाएको छ। त्यसै गरी उनीहरू जीवनको उद्देश्य खोज्न पनि सङ्घर्ष गरिरहेका छन्।
यादवका अनुसार यी कुराहरू आर्थिक अस्थिरता र परम्परागत भूमिका वरिपरि भइरहेका परिवर्तनबाट प्रभावित छन्। यसले उनीहरूमा आफ्नो सम्बन्धमा शक्ति लाद्ने इच्छा जगाउन सक्छ।
"हामीले अहिले 'वेटहुड' बढ्दै गएको देखेका छौ। युवाहरू विवाह गर्ने, घर किन्ने, डिग्री कमाउने र आर्थिक रूपमा स्थिर हुने जस्ता वयस्कताको कोसेढुङ्गा पार गर्न धेरै समय पर्खिरहेका छन्। ती परम्परागत 'स्टेटस सिम्बल'हरू बिना, युवाहरू निजी रूपमा स्टेटस पाउन चाहन्छन्। शक्ति र सम्बन्धको सन्दर्भमा, सेक्स त्यो स्टेटस पाउने तरिका हो," उनले भनिन्।
महिलाहरू सेक्सको बारेमा फरक सोच्छन्
अर्को तर्फ महिलाहरूले सेक्सलाई शक्तिको रूपमा नहेर्ने बताए। पुरुषहरूको तुलनामा उनीहरूले सेक्स गर्दा बढी पिडा अनुभव गर्ने उनको भनाइ छ।
उनीहरूको विचारमा यौन गतिविधिको उद्देश्य पनि फरक छ।
"महिलाहरूले सेक्सलाई पारस्परिक अनुभवको रूपमा हेरेको रिपोर्ट गरेका थिए। उनीहरूको विचारमा त्यहाँ शारीरिक सम्बन्धको साथ भावनात्मक सम्बन्ध पनि छन्" यादव भन्छिन्।
उनीहरूलाई आज्ञाकारी वा निष्क्रिय रूपमा चित्रण गर्ने सेक्सका 'विजुअल रिप्रेजेन्टेसन'बाट पनि महिलाहरू प्रभावित भएको बताउँछन्।
यादवका अनुसार, पुरुष र महिलाबिचको दृष्टिकोणको भिन्नताले लिङ्ग आधारित हिंसामा ठुलो प्रभाव पार्न सक्छ।

"'इन्टिमेट' सम्बन्धहरू समाजमा समान सहभागिताको आधार हुन्, र सेक्स यसको ठुलो हिस्सा हो," उनी भन्छिन्।
'जेन्डर रोल्स' अर्थात् परम्परागत लैङ्गिक भूमिकाहरू भएका सम्बन्धहरूमा जहाँ महिलाहरू यौन रूपमा खुल्ला हुन वा आनन्द अनुभव गर्न सक्दैनन्, त्यहाँ लिङ्ग-आधारित हिंसाको दर उच्च भएको वाईडब्ल्यूएको रिपोर्टले देखाएको छ।
लैङ्गिक हिंसा पीडित महिलाहरूमा देखिने अरू नकारात्मक प्रभावहरूमा पढ्न नखोज्ने, पदोन्नति नखोज्ने, महत्त्वाकाङ्क्षा घट्ने लगायत बिना पारिश्रमिक अरूको हेरचाह गर्दाको उच्च बोझ समावेश छन्।
"यसको परिणाम साँच्चै नै गम्भीर छन्," यादव भन्छिन्।
पुरुषहरूले लैङ्गिकतामा आधारित हिंसाको रोकथामको बारेमा कसरी सोच्छन्?
सर्वेक्षणले पुरुषहरूले लैङ्गिक हिंसा रोकथामको बारेमा के सोच्छन् भन्नेमा स्पष्ट बुझाइ पनि दिन्छ।
पुरुषहरूलाई महिलाहरू प्रतिको आफ्नो दृष्टिकोण र व्यवहार सुधार्न सबैभन्दा प्रभावकारी के हुन्छ भनेर सोध्दा, उनीहरूले बताए कि: "आफ्नो बारेमा र समाजमा आफ्नो भूमिकाबारे राम्रो महसुस गर्ने तरिका पत्ता लगाउनु; जीवनमा थप उद्देश्य पाउनु।"
१० मध्ये ८.२ अङ्कका साथ , लैङ्गिक हिंसा रोकथामको यो उपायलाई पुरुषहरूले सबैभन्दा धेरै स्कोर दिएका थिए। झन् लैङ्गिक हिंसाको अपराधी भएका पुरुषहरूले यसलाई १० मध्ये ८.९ को औसत स्कोर दिएका थिए।
यो कुरा पहिले राम्ररी स्पष्ट नभएको यादवको भनाइ छ।
पुरुषहरू यसो किन गर्दै छन् त भन्ने कुरामा यसले एक नयाँ दृष्टिकोण दिएको छ।रिजिना यादव, योङ्ग वुमेन्स एलायन्स
विगतको अनुसन्धानहरू पुरुषसत्तात्मक लैङ्गिक मान्यताहरूको प्रभावमा केन्द्रित थिए। ती मान्यताहरूले पुरुषहरूमा अधिकारको भावनालाई प्रोत्साहित गर्ने मानिन्थ्यो।
तर यादवले 'नर्डिक प्याराडोक्स'को उदाहरण दिइन्। यो एक यस्तो विरोधाभास हो जहाँ उच्च लैङ्गिक समानता भएका नर्डिक देशहरूमा अझै पनि लैंगिक हिंसाको स्तर उच्च रहेको रिपोर्ट गरिन्छ।
"पुरुषहरूको उत्तरले सायद हामीलाई यस व्यवहार बारे अलि बढी जानकारी दिन्छ," उनी भन्छिन्।
"वास्तवमा यो मानिसहरूको आफूलाई मूल्यवान् ठान्ने , प्रशंसा महसुस गर्नुपर्ने, र उद्देश्य स्थापना गर्नुपर्ने आधारभूत चाहनामा जान्छ। हामी विरोधी हुनु वा लाज पैदा गर्नुको सट्टा यो किन र के हो भनेर यसलाई बुझ्न खोजिरहेका छौँ।"
अर्को तर्फ महिलाहरूले भने लैङ्गिक हिंसाको लागि कडा सजाय नै उत्तम रोकथाम उपाय हो भन्ने सोच्ने रिपोर्टले पत्ता लगाएको छ।
महिलाहरूबाट दोस्रो सबैभन्दा लोकप्रिय सुझाव भने युवाहरूका लागि सम्मानजनक व्यवहारबारे 'वर्कसप' अर्थात् कार्यशाला सञ्चालन गर्ने थियो।
महिलाहरू के चाहन्छन् र उनीहरूका लागि के उपलब्ध छ?
महिलाहरूले सम्भावित साझेदारलाई कसरी हेर्छन् भन्ने कुराले पनि पुरुष र महिलाबिचको भिन्नता स्पष्ट हुन्छ।
"युवतीहरूले के चाहन्छन्, आफ्नो जीवन र जीवनसाथी बारे के कल्पना गरिरहेका छन्, र वास्तवमा उनीहरूको लागि के उपलब्ध छ, यस बिचको अन्तर एकदमै चिन्ताजनक छ," यादव भन्छिन्।

युवतीहरू 'जेन्डर रोल्स'बाट टाढा जान र 'फेमिनिस्ट' अर्थात् नारीवादी विचारधारा भएका पुरुषलाई डेट गर्न चाहन्छन् भन्ने कुरा रिपोर्टले खुलाएको छ।
महिलाहरूले 'फेमिनिस्ट' पुरुषहरूलाई डेट गर्ने इच्छा रिपोर्ट गरे पनि धेरैले वास्तवमा त्यसो गरिरहेका थिएनन्।
रिपोर्टले अस्ट्रेलियन युवतीहरूले 'फेमिनिस्ट' विचारधारा भएका पुरुषहरूलाई किन डेट गर्दैनन् भन्नेबारे स्पष्टीकरण दिएको छैन तर उपलब्धता एउटा सम्भावित कारक भएको यादवले बताइन।
युवाहरूलाई लक्षित गर्ने शिक्षाको आवश्यकता
रिपोर्टले महिला र बालबालिकामाथि हिंसा रोक्नका लागि स्थापित गरिए नीतिहरुलाइ चुनौती दिएको छ। यसले संघीय सरकारको सन् २०२२ - २०३२ को महिला र बालबालिकामाथि हिंसा अन्त्य गर्ने राष्ट्रिय योजनाको आलोचना गर्दै, उक्त योजनाले हिंसा सम्बन्धी केवल सामान्य सन्देशहरू दिने बताएको छ।
युवाहरूलाई लक्षित गर्ने उचित रणनीतिहरूको आवश्यकता भएको कुरामा पनि रिपोर्टले जोड दिएको छ। युवावस्थामा साथीहरूको विचार पनि एकदमै प्रभावशाली भएकाले, तिनीहरूको दृष्टिकोणलाई चुनौती दिनु पनि एक किसिमको उपयोगी रणनीति हुन सक्छ।
"लिङ्ग आधारित हिंसाका प्रवृत्तिहरू १२ वर्षको आसपास सुरु हुन्छन् र साथीहरूको दृष्टिकोणले यसलाई अझै बढवा दिन सक्छ। त्यस समयमा, लिङ्ग आधारित हिंसा के हो र यसको नकारात्मक परिणामहरू के हुन् भन्ने कुरा बुझाउने हस्तक्षेपहरूको आवश्यकता हुन्छ।"
"हामीलाई शिक्षा प्रणाली मार्फत ज्ञान, साहस, र संयम जस्ता सिद्धान्तहरू फैलाउन आवश्यक छ, यी गुणहरूले लिङ्ग आधारित हिंसासँग लड्न मदत गर्न सक्छन् " यादवले भनिन्।
रिपोर्टले स्ट्यानफोर्ड विश्वविद्यालयले विकास गरेको "डिजाइनिंग योर लाइफ" कोर्सहरूको लागि वित्तीय सहायताको सिफारिस पनि गरेको छ। उक्त कोर्सले युवाहरूलाई कसरी कसैको दमन नगरी आफ्नो पहिचान, शक्ति र उद्देश्य प्राप्त गर्न सक्छन् भन्ने सोच्न मद्दत पुर्याउन सक्छ।
युवाहरूको दृष्टिकोण कहिलेकाहीँ पुरानो पुस्ताभन्दा बढी परम्परावादी हुन सक्ने यादव बताउछिन्।
रिपोर्ट अनुसार सन् १९८९ र १९९५ बिच जन्मिएका महिलाहरू मध्ये ५१ प्रतिशतले आफ्नो जीवनकालमा यौन हिंसा अनुभव गरेको रिपोर्ट गरेका छन्, जबकि सन् १९७३ र १९७८ बिच जन्मिएका ३४ प्रतिशत र सन् १९४६ र १९५१ बिच जन्मिएका २६ प्रतिशत महिलाहरूले त्यस्तो अनुभव गरेका छन्।
"हाम्रा वर्तमान उपायहरू प्रभावकारी छैनन्; हामीले रणनीतिक र लक्षित दृष्टिकोण अपनाउनु आवश्यक छ।"
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
