SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्स: प्रहरीसमक्ष जान साहस बढेपछि यौन आक्रमणबारेका उजुरीमा उल्लेखनीय वृद्धि

न्यु साउथ वेल्समा यौनजन्य हिंसात्मक घटनाहरूको रिपोर्ट गर्ने कार्यमा 'उल्लेखनीय' वृद्धि भएको बताइएको छ।

Chanel Contos is pushing for major reforms to Australia's sex education curriculum.
Chanel Contos is pushing for major reforms to Australia's sex education curriculum. Source: Instagram

2 min read

Published



Skip to article content

केही समययता सञ्चार माध्यमहरूमा यौन उत्पीडनजन्य घटनाहरूको बारेमा चर्चा चुलिँदै गएका कारण किशोरीहरूलाई यसबारे प्रहरी समक्ष उजुरी दिन सजिलो भएको बताइएको छ।

न्यु साउथ वेल्स आपराधिक तथ्याङ्क र अनुसन्धान ब्युरोले उक्त खुलासा गरेको हो।

ब्युरोका अनुसार गएको मार्च महिनामा मात्र न्यु साउथ वेल्सभर ९४० वटा कथित रूपमा घटेका यौनजन्य हिंसाका घटनाहरू बारे राज्य प्रहरी समक्ष रिपोर्ट परेको थियो।

उक्त कार्यालयका अनुसार सो सङ्ख्या औसतभन्दा ६० प्रतिशतले बढी रहेको छ जस अन्तर्गत दुई तिहाइभन्दा बढी उजुरीहरू किशोर-किशोरीहरूद्वारा गरिएका हुन्।

र, १३ देखि १५ वर्षसम्मका ३०० जनाले मार्च महिनाभर प्रहरीकहाँ यौनजन्य हिंसालाई लिएर रिपोर्ट गर्न पुगेको बताइएको छ ।

ब्युरो भन्छ कि समकालीन तथा ऐतिहासिक दुवै किसिमका बलात्कारका घटनाहरूको उजुरीमा वृद्धि भएको देखिन्छ।

sexual assault
Source: Getty

कार्यकारी निर्देशक ज्याकी फिट्जगेरल्ड भन्छिन् कि मिडियामा यो विषय जसरी घनिभूत रूपमा छायो, त्यसका साथै राज्यका विद्यालयहरूमा कन्सेन्ट वा अनुमति बारे बृहत् रूपमा चलाइएको छलफलहरूले महिलाहरूलाई यौनजन्य हिंसाका बारेमा बोल्न अभिप्रेरित गर्‍यो।

उनका अनुसार बलात्कारका घटनाहरू बढेको भन्दा पनि यौनजन्य आक्रमणका घटनाबारे पीडितहरू अगाडी आउन चाहेकाले उजुरी सङ्ख्या बढेको हो।

"साधरणतया १० या १५ प्रतिशत वयस्कहरू मात्र यौन दुराचारका घटनाहरू बारे प्रहरीमा रिपोर्ट दर्ता गराउँछन्," फिट्जगेरल्डले भनिन्।

"मार्च २०२१ को बढोत्तरी हेर्दा भने सही वातावरण मिल्दा थप पीडितहरू अगाडी आउने देखियो।"

यसरी अगाडी आउने पीडितहरूका लागि थप उपयुक्त कार्य गरिनुपर्ने पनि ज्याकी फिट्जगेरल्ड बताउँछिन्।

यस्ता उजुरीहरू बढी मात्रामा सिड्नीका पूर्वी सबर्बहरू, मुख्य सहरी केन्द्र, राइड, नर्थ सिड्नी, बकम्हिल्स र हक्सबरीमा परेको पनि न्यु साउथ वेल्स आपराधिक तथ्याङ्क र अनुसन्धान ब्युरोको भनाई छ।

उता, राज्य सरकारले पनि यौन सहमति शिक्षाबारे आफूहरूले नयाँ स्कूले पा‌ठ्यक्रम विकास गरिरहेको अघिल्लो साता घोषणा गरेको छ।

Consent advocate Chanel Contos.
Chanel Contos. Source: Instagram

सिड्नीकी एक पूर्व छात्रा चनेल कोन्टोसले विद्यालयहरूमा चाँडो र राम्रो यौन सहमतिका बारेमा पठनपाठन हुनुपर्ने भन्दै सुरु गरेको एउटा बिन्ती-पत्रमा ३८,००० भन्दा पनि बढिले हस्ताक्षर गरेपछि न्यु साउथ वेल्स सरकारको उक्त भनाई आएको हो।

कोन्टोस्ले बिहीवार एबीसी रेडियोसँग कुरा गर्दै भनिन् कि यसबारे थप कार्य हुनु जरुरी छ।

"मानिसहरू अधिकारीहरू समक्ष आफ्नो कुरा राख्न बढी आत्मविश्वासी भएको अनुभूति गरिरहेका छन्, पहिलेको जस्तो त्रास उनीहरूमा छैन।"

यसका साथै राज्य सरकारले आफ्नो यौन सहमति सम्बन्धी कानूनमा केही परिवर्तनहरू गर्ने बताएको थियो।

सरकारका अनुसार परिवर्तित ऐनका कारण अब यौन अपराधका मामिलाहरूमा सफलतापूर्वक मुद्दा चलाउन सकिने छ।

सरकारी आँकडाहरूका अनुसार न्यु साउथ वेल्समा ९० प्रतिशत वयस्क तथा ८० प्रतिशत बाल यौन दुराचारका पीडितहरू स्त्री लिङ्गी छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now