“लाजमर्दो!”: नयाँ कोरोना प्याकेजमा विदेशी विद्यार्थीहरूलाई सरकारले उपेक्षा गरेको आरोप

उच्च शिक्षा क्षेत्र सम्बन्धी पछिल्लो राहत प्याकेज स्वदेशी विद्यार्थीहरू माथि मात्र केन्द्रित भएको घोषणा गर्दा आफूहरूद्वारा कुनै सङ्कोच नलागेको शिक्षा मन्त्रीले बताएपछि युनियनहरूले त्यसको विरोध गरेका छन्।

Chief Medical Officer Professor Brendan Murphy and Minister for Education Dan Tehan speak to the media at a press conference at Parliament House in Canberra, Sunday, April 12, 2020. (AAP Image/Mick Tsikas) NO ARCHIVING

Chief Medical Officer Professor Brendan Murphy and Minister for Education Dan Tehan speak to the media at a press conference at Parliament House in Canberra. Source: AAP

सङ्घीय शिक्षा मन्त्री ड्यान टिहानले इस्टर आइतबारका दिन घोषणा गरेको उच्च शिक्षा क्षेत्र समेट्ने नयाँ आर्थिक प्याकेजमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि कुनै थप सुविधाहरू नपरेपछि अस्ट्रेलियाली सरकार माथि उनीहरूलाई उपेक्षा गरेको आरोप लागेको छ।

नेशनल टर्शरी एजुकेसन युनियन (एनटीईयू) भनिने देशभरका उच्च शिक्षा क्षेत्र सम्बन्धी कर्मचारीहरूको प्रतिनिधित्व गर्ने राष्ट्रिय उच्च शिक्षा सङ्घले अस्ट्रेलियामा अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मद्दत पुग्ने थप कार्यक्रम सरकारी तहबाट नहुनुलाई “लाजमर्दो”को संज्ञा दिएको हो।

“समय राम्रो रहेको बेला हामीले उनीहरूबाट पैसा लियौँ, त्यो पनि यत्ति विघ्न लियौँ कि सन् २०१८ मा त त्यो पैसा हाम्रा विश्वविद्यालयहरूको कुल आर्जनको २६ प्रतिशतभन्दा पनि बढी थियो। अब, स्थिति अनुकूल नहुँदा भने, हामी उनीहरूलाई ‘माफ गर, तिमीहरू अब आफ्नै भरमा छौ’ भनिरहेका छौँ। यो त एकदमै लाजमर्दो व्यवहार भयो,” एनटीईयूका राष्ट्रिय अध्यक्ष एलिसन बार्न्सले भनिन्।

त्यसै गरी ग्रिन्स सिनेटर मेहरीन फारुकीले पनि सरकारको पछिल्लो सन्देशले हज्जारौं अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई विमुख पार्ने बताउँछिन्।

“सरकारको ‘घरेलु विद्यार्थी पहिले’ भन्ने सन्देशमा सङ्कीर्ण सोचको गन्ध एकातर्फ छ भने अर्को तर्फ अन्तर्राष्ट्रिय विद्यार्थीहरू बेसहारा अवस्थामा नै छाडिदिनु निर्लज्जताको पराकाष्ठा हो,” उनले भनिन्।

कोभिड-१९ का कारण उत्पन्न आर्थिक सङ्कटलाई सम्बोधन गर्ने हेतुले सङ्घीय सरकारद्वारा अस्थायी भिसा धारकहरूलाई उनीहरू निवृत्तिभरणसम्मको पहुँच प्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय विद्यार्थीहरूले प्रति दुई हप्ता काम गर्न पाउने घण्टाको अवधि वृद्धि गरिदीइसकेको छ।

तर, अस्ट्रेलियामा रहेका थुप्रै विदेशी विद्यार्थीहरू भने आफूहरूले पनि अरू जस्तै आर्थिक अनिश्चितता भोगिरहेको बताउँछन्।

विशेष गरेर उनीहरू मध्ये धेरै बेरोजगार हुनुका साथै सङ्घीय सरकारको १३० अर्व डलरको लागतमा स्थापना भएको जबकीपर योजना घेरा बाहिर पर्ने हुनाले अन्तर्राष्ट्रिय विद्यार्थीहरू अस्ट्रेलियामा आफ्नो भविष्यलाई लिएर चिन्तित रहेको बताइएको छ।

उता, सरकारको घोषणा बारे आफ्नो प्रतिक्रिया दिँदै अस्ट्रेलियाली विश्वविद्यालयहरूको छाता सङ्गठन यूनिभर्सिटिज अस्ट्रेलियाकी प्रमुख डेबोराह टेर्रीले विश्वविद्यालयहरूद्वारा आफ्ना सबै विद्यार्थीहरूलाई सक्दो सहयोग गरी नै रहेकोमा जोड दिएकी छिन्।

"हाम्रा धेरै विद्यार्थीहरू भाडा तिर्न र खाना किन्न सङ्घर्ष गरिरहेका छन्। विश्वविद्यालयहरूले सक्दो सहयोग त प्रदान गरिरहेका छन्, तर अझ थप काम गर्नुपर्ने आवश्यकता छ,” उनले भनिन्।

अघिल्लो हप्ता मात्रै अस्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको हकहित बारे कार्यरत काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट्स अस्ट्रेलियाले (सीआईएसए) विभिन्न देशका राजदूतावास, अवैतनिक दूतका कार्यालयहरू र हाई कमिसनहरूलाई अस्ट्रेलियामा रहेका र उनीहरूले प्रतिनिधित्व गर्ने मुलुकका विद्यार्थीहरू लक्षित कल्याणकारी प्याकेज ल्याउन आह्वान गरेको थियो।

अधिकांश अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो जागिर गुमाउन पुगेको वा उनीहरूको सिफ्टमा निकै कटौती भएको कारण हाल उनीहरू निकै कठिन परिस्थितिमा रहेको सीआईएसएद्वारा जारी एक विज्ञप्तिमा उल्लेख छ।

e51e92a4-fc01-487c-ac40-ad8119148779

“यी अभूतपूर्व समयमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू असम्भव स्थितिमा छाडिएका छन्, लकडाउन र सिमानाहरू बन्द हुनुका साथै एकदमै कम विकल्प उपलब्ध रहेका कारण कारण उनीहरू घर फर्कन र आफैलाई सहयोग गर्न असमर्थ छन्,” उक्त विज्ञप्तिमा भनिएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ र हाललाई एकै घरमा बस्ने मानिस बाहेकका भेलाहरू दुई व्यक्तिमा सीमित गरिएका छन्।

कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्नुपर्छ।

यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा ००० (ट्रिपल जिरो)मा कल गर्नुहोस्।

नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि https://www.sbs.com.au/language/nepali/coronavirus-updates जानुहोस्।

 


Share

3 min read

Published

Updated

By Charlotte Lam

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now