बेलायत र अमेरिकामा अध्ययन गर्दै गरेका विश्वविद्यालय स्तरका विद्यार्थीहरूले पैसा तिरेर अरुकसैलाई आफ्नो असाइन्मेन्ट गराउन लगाउने काम नयाँ होइन।
“एस्से (निबन्ध) मिल” भनेर चर्चित यस्ता सेवा प्रदान गर्ने वेबसाइटहरूलाई बन्द गर्न कतिपय विश्वविद्यालयहरूले ऐन नै पनि निर्माण गर्न थालिसकेको बताइएको छ।
केही निश्चित रकम भुक्तानी गरेर लण्डन वा न्यु योर्कका विद्यार्थीले मजाले ‘आफ्नो काम’ किन्न सक्ने बताइँदै गर्दा खासमा चाहिँ यो कार्य केन्या लगायतका देशहरूबाट सञ्चालित हुने गरेको पाइएको हो।
सामाजिक शास्त्र र मनोविज्ञान विषय लिएर स्नातक तहमा अध्ययन गरिरहेका २३ वर्षीय डेभिड* आफ्नो पढाइको अन्तिम तिर छन्।
केन्याको नाइरोबी सहरका बासिन्दा उनी, अन्य विश्वविद्यालयका छात्रछात्रा जस्तै “एस्से” लेख्छन्।
तर उनी आफ्नै मात्र भने काम गर्दैनन्।

आफ्नो खर्च निकाल्न, बितेका दुई वर्ष यता उनले विश्वभरका अनजान मानिसहरूका लागि उनीहरूको गृहकार्य गरिदिएका छन्।
“म धेरैजसो चाहिँ अमेरिका र बेलायतबाट आउने काम गर्छु,” उनले भने।
“अहिलेसम्म त्यस्तै ३६५ जति असाइन्मेन्टहरु सकियो होला।”
डेभिड जे काममा व्यस्त छन्, सामान्य बोलीचालीको भाषामा त्यसलाई “चिटिङ” वा “ठगी” भनिन्छ।
तर उनी भन्छन् कि यस्तो काम नगरे आफू लगायत थुप्रै साथीहरूले आफ्नो पढाइलाई जारी राख्नै सक्दैनन्।
“मेरा धेरै भाइबहिनीहरू छन् र मेरा आमाबाबुले मलाई भर्ना गरिदिएर मेरो फीस पनि तिरिदिन सक्दैनन्,” उनी आफ्नो कामको बचाउ गर्दै भन्छन्।
“त्यसैले मैले आफ्नो लागि केही गर्नु थियो र यसो गर्दा परिवारलाई पनि केही सहयोग मिल्छ भन्ने लागेको हो।”

यसै कामबाट डेभिडले अहिले एउटा खेत भाडामा लिन सफल भइसकेका छन् जहाँ उनले केही श्रमिकहरूको सहयोगबाट फसल लगाउन सुरु गरिसकेका छन्।
डेभिड भन्छन् कि यसरी उनी आफ्नो भविष्यका लागि लगानी गर्दै छन्।
अनि के तपाईँलाई आफ्नो आयस्रोत बारे कुनै ग्लानि छ भन्ने प्रश्नमा उनी भन्छन्, “छैन, मलाई केही नराम्रो गरेँ भन्ने लाग्दैन।”
“हामीले काम गरिरहेका छौँ, कानूनी रूपमा पैसा कमाइरहेका छौँ।”
आफूहरूलाई उपयोगी बनाइरहेको पनि उनको दाबी छ।
डेभिड जस्तै केनेडी* पनि अर्काको पढाई सम्बन्धी काम गरिदिने कार्यमा संलग्न छन्।
उनलाई त “वरिष्ठ” नै भन्न मिल्छ - उनले यस्तो “ठगी” काम गरिदिन थालेको पाँच वर्षभन्दा धेरै भइसकेको छ।
डेभिड आफैँ काम गर्छन् भने केनेडीले त अन्य स्वतन्त्र कामदारहरूलाई आवश्यकता अनुसार काममा लगाउँछन्।

उनी आफूकहाँ ठुला “एस्से मिल” वेबसाइटहरूबाट आउने “अर्डरहरू” सबै भ्याउन कामदारहरू राख्ने बताउँछन्।
अमेरिका र पूर्वी युरोपबाट सञ्चालित यस्ता वेबसाइटहरूले चाहिँ तोकिएको शुल्कको आधासम्म आफ्नो भाग स्वरूप कट्टा गर्छन्।
यद्यपि पूर्व शिक्षक केनेडी भन्छन् कि उनले मनग्यै पैसा कमाउँछन्।
“मैले एक टिचर भएर कति नै कमाउँथे र, अहिलेको तुलनामा,” उनी भन्छन्।
“अहिले त सलिड कमाई हुन्छ!”
आफूले ठग्न मद्दत गरेका मानिसहरूले पछि गएर ठुला-ठुला पदमा पुगेर थुप्रै पैसा कमाउने बारे कुनै चिन्ता नरहेको स्पष्ट पार्दै केनेडी भन्छन्, “यो उनीहरूसँगको प्रतियोगिता होइन।”
“यो त गरिबीसँगको लडाइँ हो।”
अर्को तर्फ नाइरोबीको धनाढ्य क्षेत्रमा रहेको एक मल्टिमिडिया विश्वविद्यालयका विद्यार्थीहरूले पनि यस्तो शैक्षिक कार्य बेचबिखन गर्ने काम गर्छन् जसबाट ग्लाडिस मोरा न्याचियो जस्ता लेक्चररलाई दिक्क लाग्न थालिसकेको छ।

उनी भन्छिन् कि यस्ता चोरी-ठगीका काम उनलाई पटक्कै मन पर्दैन।
“व्यक्तिगत रूपमा भन्नुहुन्छ भने मलाई ठगीमा विश्वास छैन,” मोरा न्याचियो भन्छिन्।
“म मेरा विद्यार्थीहरूलाई के भन्ने गर्छु भने यो काम अनैतिक छ, यो ठिक छैन।”
तर फेरी, केही व्यक्ति विशेषका लागि भने छाया लेखन एक मात्रै उपलब्ध काम हुनसक्ने र यसैबाट ती मानिस एवम् तिनका परिवारको पेट पालिने भएकाले आफू दोधारमा रहेको पनि प्राध्यापिकाको भनाई छ।
उनी भन्छिन् कि यसको समाधान भनेकै ती ग्राहक देशले यस समस्याका लागि ठोस् कदम चाल्नु हो।
बिस्तारै त्यता तर्फ पनि काम भइरहेको देखिएको छ।

अघिल्लो वर्ष मात्रै अस्ट्रेलियाले शैक्षिक प्रयोजनका लागि हुने लेखन कार्यको किनबेच माथि प्रतिबन्ध लगाएको थियो र अब छिट्टै इङ्गल्यान्डले पनि सोही कदम पछ्याउने बताएको छ।
तर अन्तर्राष्ट्रिय सीमा सजिलै आरपार गर्ने सक्ने यस्तो काम रोक्न यस्ता प्रतिबन्धहरू कत्तिको प्रभावकारी हुन सक्छन् भनेर हेर्न बाँकी नै छ।
*गोपनियताका लागि नाम परिवर्तन गरिएको छ।
