खवाजा, शास्त्री र अक्रमसँगै दुई नेपालीलाई पनि क्रिकेट अस्ट्रेलियाद्वारा बहु-सांस्कृतिक दूत घोषित

क्रिकेट अस्ट्रेलियाले दुई जना नेपाली सहित आफ्नो 'मल्टिकल्चरल एम्ब्यासडर प्रोग्राम' को घोषणा गरेको छ।

(L to R) Usman Khawaja, Bijaya Joshi, Ravi Shastri, Amit Lohani and Wasim Akram are among the Cricket Australia Multicultural Ambassadors.

(L to R) Usman Khawaja, Bijaya Joshi, Ravi Shastri, Amit Lohani and Wasim Akram are among the Cricket Australia Multicultural Ambassadors. Credit: Getty Images/Graham Denholm/Stringer, Facebook/Bijaya Joshi, Getty Images/Gareth Copley-ICC/Contributor, Supplied/Amit Lohani, Getty Images/Visionhaus/Contributor

विभिन्न कार्यक्षेत्रबाट दुई वर्षे अवधिका लागि चुनिएका ५४ जना 'मल्टिकल्चरल एम्ब्यासडर' अर्थात् बहु-सांस्कृतिक दूतहरूमा नेपाली पृष्ठभूमिका अमित लोहनी र विजय जोशी परेका हुन्।

लोहनी क्वीन्सल्यान्ड नेप्लीज क्रिकेट एसोसिएसनका अध्यक्ष हुन् भने जोशी एडिलेड नेप्लीज क्रिकेट एसोसिएसनका अध्यक्ष हुन्।

‘अस्ट्रेलियन क्रिकेट मल्टिकल्चरल एक्सन प्लान’ अन्तर्गत सुरु गरिएको उक्त कार्यक्रमको मुख्य लक्ष्य अस्ट्रेलियाको क्रिकेटमा समावेशीकरण बढाउनु र सकारात्मक परिवर्तन ल्याउनु रहेको बताइएको छ।

एम्ब्यासडरहरूको सूचीमा चर्चित अस्ट्रेलियन क्रिकेटरहरू उस्मान खवाजा र अलाना किङ्देखि पाकिस्तानका पूर्व क्रिकेटर वसिम अक्रम, पूर्व भारतीय प्रशिक्षक तथा कप्तान रवि शास्त्री लगायत स्वास्थ्य, खेलकुद, शिक्षा र सरकारी क्षेत्रका व्यक्तित्वहरू रहेका छन्।

"मल्टिकल्चरल एम्ब्यासडर प्रोग्रामले समकालीन अस्ट्रेलियन समुदायलाई झल्काउने क्रिकेट अस्ट्रेलियाको प्रतिबद्धता देखाउनुका साथै सबै पृष्ठभूमिका मानिसहरूलाई स्वागत गर्दछ," क्रिकेट अस्ट्रेलियाका प्रमुख कार्यकारी अधिकृत निक हक्लीले बताए।

"हाम्रा उद्देश्यहरू स्पष्ट छन्: समुदायका बहु-सांस्कृतिक सदस्यहरूलाई क्रिकेटसँग आबद्ध रहने, अवरोधहरू हटाउने, विश्वास निर्माण गर्ने र विकासका लागि थप अवसरहरू सिर्जना गर्ने।"

मल्टिकल्चरल एक्सन प्लानका पाँच उद्देश्य सहभागिता, प्रदर्शनी, प्रतिनिधित्व, अनुभव र सञ्चार तथा संलग्नता हुन्।

नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, बङ्गलादेश, अफगानिस्तान र अस्ट्रेलिया तथा अस्ट्रेलियाका आदिवासी समुदायका दूतहरू मार्फत खेल सम्बन्धी रहेका चुनौतीहरूलाई सम्बोधन गर्ने संस्थाको भनाइ छ।

चुनौती र अवसर दुवै

“चुनौती अलिकति के छ भने, नेपालबाट खेलिसकेका राष्ट्रिय खेलाडीहरूले यहाँको स्टेट लेभलमा खेल्ने मौका पाएका छैनन्,” अमित लोहनीले एसबीएस नेपालीसँगको कुराकानीमा बताए।

देशलाई पहिले नै प्रतिनिधित्व गरिसकेका खेलाडीहरूको सीपलाई हामीले यहाँको स्टेट अथवा सिनियर लेभलमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने कुरा मैले अगाडी राखेको छु। चुनौती भनेको एक्सपोजरको कुरा हो ... यसमा हामीले काम गर्नु पर्छ।
अमित लोहनी

खेल समीक्षक सुदिन पोख्रेलले यी नियुक्ति कागजमा मात्र सीमित नरहोस् भन्ने आशा व्यक्त गरेका छन्।

“उहाँहरूले नेपाली क्रिकेटको विकासको लागि के गर्न सक्नु हुन्छ, त्यसमा ध्यान दिनु पर्‍यो,” उनले भने।

त्यो सम्बन्ध खालि कागजमा, सोसल मिडियामा र भन्नको लागि र स्टेटस लेख्नको लागि मात्र सीमित नभएर त्यसले केही सकारात्मक प्रभाव हाम्रो क्रिकेट र हाम्रो खेलाडीहरूमा परोस् भन्ने म धारणा राख्छु।
सुदिन पोख्रेल

हाल अस्ट्रेलियामा सामुदायिक र संस्थापक रूपमा सक्रिय रहेको नेपाली क्रिकेटलाई क्रिकेट अस्ट्रेलियाको पहलले सकारात्मक ऊर्जा दिने नेप्लीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)का अध्यक्ष प्रेमराज उप्रेतीको भनाइ छ।

“अस्ट्रेलियाले यो कार्यक्रम पहिलादेखि नै गर्दै आइरहेको थियो, तर यसपालि नेपालीलाई पनि अवसर पाएको हुनाले हाम्रो समुदायले यहाँ खेलिरहेको क्रिकेटको पहिचान भएको छ,” उनी भन्छन्।

यसको प्रभाव अहिले तत्कालीन नपरे पनि, आउँदो पुस्तालाई यसले प्रभाव पार्छ।
प्रेमराज उप्रेती

यो कार्यक्रमले नेपालका खेलाडीहरू अस्ट्रेलियामा खेल्न आउने मौकाहरू सिर्जना हुने आफ्नो अपेक्षा रहेको लन्चेस्टन नेपाली क्रिकेट क्लबका पूर्व अध्यक्ष रामकुमार श्रेष्ठको भनाइ छ।

"यसले क्रिकेट अस्ट्रेलिया र क्रिकेट एसोसिएसन अफ नेपालको लागि पुलको काम गर्न सक्छ," उनले बताए।


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now