स्वागत गर्ने प्रचलन प्राय भाषण, नृत्य वा परम्परागत पातहरू जलाएर धुवा निकाल्ने समारोहको रूपमा हुन्छ।
'वेलकम टु कन्ट्री' वा देशमा स्वागत गर्ने समारोहहरू परम्परागत मालिकहरूले मात्र गर्ने गर्दछन् जसको भूमिमा बसेर उक्त कार्यक्रम आयोजना गरिएको हुन्छ।
मुख्य बुँदाहरू:
- 'एक्नलेजमेन्ट अफ कन्ट्री' र 'वेलकम टु कन्ट्री' फरक हुन्।
- कुनै एक क्षेत्रका परम्परागत मालिकहरूले मात्र सो स्थानको वेलकम टु कन्ट्री प्रस्तुती दिन सक्छन्।
- आफ्नै भाषामा एक्नलेजमेन्ट तयार गर्न स्रोतहरू उपलब्ध रहेका छन्।
'वेलकम'को के अर्थ छ?
क्यानबेरा क्षेत्रकी नुनावाल वृद्धा जुड बार्लो, 'वेलकम टु कन्ट्री' भनेको आध्यात्मिक सुरक्षा सुनिश्चित गर्नु भएको बताउँछिन्।
"देशमा स्वागत गरिनु भनेको तपाइले आफ्नो आत्मिक पुर्खाहरूसँग भन्नु हो कि 'यो मानिसलाई आउन दिनुस्। हामी विश्वास गर्छौँ कि उनीहरूले हाम्रो देशलाई कुनै क्षति पुराउँदैनन् त्यसैले उनीहरूलाई पनि हानि नगर्नु' ", उनी भन्छिन्।
"जब म कुनै अर्को आदिवासीहरूको देशमा जान्छु म पनि यसरी नै स्वागत पाउन प्रयास गर्छु अनि मलाई ती आत्माहरूलाई म त्यहाँ भएकोमा कुनै समस्या नभएको अनुभूति हुन्छ, किनभने उनीहरू अझै पनि हामीसँगै छन् - उनीहरू जनावरहरूमा छन्, उनीहरू रुखहरूमा छन्।"
रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
'कन्ट्री' भनेको के हो?
'कन्ट्री' वा 'देश' भन्ने शब्दले केही जटिल विषयहरूको प्रतिनिधित्व गर्दछ। यसलाई भूमि, जलमार्ग, आकाशहरूको व्याख्या गर्न प्रयोग गरिन्छ। तर यसले जीवन, परिवार र सम्बन्धलाई पनि जनाउँछ।
जुड बार्लो भन्छिन्, "यो भनेको एक शक्ति हो जुन म यो देशमा रहँदा अनुभव गर्छु। जब म यहाँ हुन्न मेरो जीवनबाट केही कुरा छुटेको जस्तो लाग्छ। यो मेरो पुर्खाहरूसँगको सम्बन्ध पनि हो किनभने एबोरजिनल मानिसहरूको मौखिक इतिहास छ, र देशले ती कथाहरूलाई समेटेको हुन्छ।"
'वेलकम टु कन्ट्री'मा के जो कोहीले प्रस्तुति दिन सक्छन्?
स्वागत समारोहमा तपाईँहरू जम्मा भएको भूमिका परम्परागत मालिकहरूले नै प्रस्तुति दिनु पर्ने हुन्छ।

प्राय कुनै निश्चित क्षेत्रका संरक्षकहरूको समूहलाई परम्परागत मालिक भनेर औपचारिक रूपमा स्विकारिएको हुन्छ।
दक्षिण पूर्वी अस्ट्रेलियाका गनाइ एन्ड मनारो पुरुष पल प्याटन फेडेरेसन अफ भिक्टोरियन ओनर कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत हुन्।
"परम्परागत मालिकहरू कुनै स्थान वा देशसँग जोडिएका हुन्छन् र उक्त भूमिसँगको उनीहरूको सम्बन्धलाई सम्मान गर्नु निकै महत्त्वपूर्ण हुन्छ, अथवा त्यो सांस्कृतिक परिदृश्यलाई- हजारौँ पुस्ताहरूको त्यो सहनशील सम्बन्धलाई," उनी भन्छन्।
अस्ट्रेलियाका केही भागमा परम्परागत मालिकहरू चिर-परिचित हुन्छन्।
अन्य भागमा मालिकहरूको पहिचान गर्न केही अध्ययनको आवश्यकता पर्दछ, विशेष गरी यदि उनीहरूलाई औपचारिक रूपमा मान्यता दिइएको छैन भने।
तपाइले स्थानीय एबोरजिनल ल्यान्ड काउन्सिल वा एबोरजिनल स्वास्थ्य सङ्गठनहरूलाई सम्पर्क गरे उनीहरूले सही दिशा देखाउन सक्नेछन्।

के 'एक्नलेजमेन्ट अफ कन्ट्री' फरक हो?
'एक्नलेजमेन्ट अफ कन्ट्री' अर्को महत्त्वपूर्ण स्वागत मन्तव्य हो, जुन कुनै छलफल वा कार्यक्रमहरूको सुरुवातमा प्रस्तुत गरिन्छ।
'वेलकम टु कन्ट्री' भन्दा यो किन फरक छ भने यसलाई परम्परागत संरक्षकहरूले प्रस्तुत गर्नु पर्छ भन्ने हुँदैन।
रोडा रोबर्ट्स एसबीएसमा आदिवासी संस्कृति सम्बन्धी सुझाव दिने एल्डर इन रेसिडेन्स हुन् र उनी भन्छिन्, "'एक्नलेजमेन्ट अफ कन्ट्री' हामी जो कोहीले गर्न सक्छ, श्वेत र अश्वेत, हामी जहाँबाट आएको भए पनि।
"एक्नलेजमेन्ट भनेको तपाईँ आदिवासीहरूको स्थानमा पाहुना भएर आउनुभएको स्वीकार गर्नु हो।"

एक्नलेजमेन्टको तयारी
'एक्नलेजमेन्ट अफ कन्ट्री' तयार गर्दा, पहिले नै लेखिएको कुरालाई पुनः प्रयोग गर्न सकिन्छ। तर, आफ्नै आवाजमा र मन देखि नै भनिएमा शब्दले थप वजन पाउँछ।
यसमा कस्तो शब्दहरू प्रयोग गर्ने भनेर पहिले नै निर्धारण गरिएको छैन, तर एकनलेजमेन्ट तयार गर्न अनलाइनमा स्रोतहरू उपलब्ध रहेका छन्।
यसलाई सच्चाइका साथ गर्नु निकै महत्त्वपूर्ण हुने जुड बार्लो बताउँछिन्।
"र, यसलाई अन्तिम समयमा तयार नगर्नुहोला, रट्ने पनि होइन, तर आफ्नो पुरा कार्यक्रमको एक हिस्साको रूपमा यसबारे पनि योजना बनाउनुहोस्- यत्तिकै पछि सम्झिएको जस्तो गरी होइन। त्यो नै सम्मान गर्ने तरिका हो।"
आफू भेला भएको देशलाई समावेश गर्न र त्यसको परम्परागत नाम प्रयोग गर्न भने सावधानी अपनाउनु पर्ने हुन्छ।
"सधैँ परम्परागत मालिकहरूको नाम लिएर सम्बोधन गर्नु पर्छ यदि उनीहरू औपचारिक रूपमा मान्यताप्राप्त छन् भने, र विगत, वर्तमान र भविष्यका वृद्धहरू प्रति सम्मान व्यक्त गर्नु पर्दछ।"
यदि परम्परागत मालिक को हुन् भनेर स्पष्ट नभएमा परम्परागत मालिकहरूलाई सामान्य रूपमा वा समष्टिमा स्वीकार गर्नु बुद्धिमानीपूर्ण हुन्छ।
"त्यो स्थान विशेषलाई लिएर कुनै प्रतिस्पर्धा रहेको भए, त्यसबारे पनि सम्बोधन हुनु पर्छ।"
