के नेपाली “फोपी”को भविश्य पनि नेटफ्लिक्सको जस्तै उज्यालो होला त?

Fopi OTT Streaming Service Nepali

Roshan Silwal from FOPI spoke to SBS Nepali Source: Roshan Silwal/FOPI

संसारभर प्रसिद्ध भएका नेटफ्लिक्स, अमेजन प्राइम जस्तै नेपाली सेवा फोपी केही समय अघिबाट सुरु भएको छ। श्रव्यदृश्य सामग्री निर्माण तथा प्रदर्शन गर्ने विभिन्न सेवाका बिचमा नेपाली एप फोपीको विशेषताका बारेमा सो कम्पनिका निर्देशक रोशन सिलवालसँग सेवा भट्टराईले एसबीएस नेपालीका लागि गरेको कुराकानी।


फोपी एपको बारेमा छोटो परिचय दिनुस् न।

फोपी एउटा ओटिटि (ओभर द टप अर्थात् टेलिभिजनको नभएर इन्टरनेटमा हेर्न मिल्ने) प्लेटफर्म हो र एउटा भिडियो स्ट्रिमिङ एप पनि हो। हामीले चाहिँ ओरिजिनल सिरिजमा केन्द्रित भएर बनाइरहेका छौँ। अहिले हाम्रो ३०० भन्दा बढी एपिसोडहरू बन्ने क्रममा रहेका छन्। 

चलचित्र र शृङ्खलाहरू हेर्नका लागि हामीसँग टेलिभिजन छन् र अब युट्युब पनि छ जसमा थुप्रै कुरा सित्तैमा हेर्न पाइन्छ। त्यो सबै भन्दा फोपी कसरीफरक छ? यसले दर्शकलाई के दिइरहेको छ?

हामीले जति मौलिक सामग्री बनाइरहेका छौँ, सबै वर्गलाई लक्षित गरेर बनाइरहेका छौँ। युट्युबहरूले राख्दा राम्रो, नराम्रो कुनै पनि फिल्टर गरिएको हुँदैन भने हामीले चाहिँ गुणस्तरीय उत्पादन पस्किने कोसिस गरिरहेका छौँ।

शुल्क बारे कस्तो व्यवस्था छ?

यो एप आइओएस  र प्ले स्टोर दुवैमा उपलब्ध छ। सब्स्क्रिप्सन बेस मोडल (ग्राहक बन्ने) र पे पर भिउ (प्रत्येक पटक हेर्दा पैसा तिर्ने) मोडल छन्। अहिले हामीसँग दैनिक प्याकेजहरु पनि छन्। नेपालको हकमा स्थानीय पेमेण्ट गेटवेहरू छन् र अन्तर्राष्ट्रिय रूपमा डलर पनि एपले स्वीकार गर्छ। एपले कार्डहरू पनि लिन्छ, र ई सेवा र खल्तीलाई समायोजन गरेका छौँ, र भविष्यमा अरूसँग पनि गर्ने योजनामा छौँ।

रोशन सिलवालसँग सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

चलचित्रहरू बनाउनका लागि कस्तो किसिमको लगानी हुन्छ? निर्माता र फोपीको भूमिका कस्तो हुन्छ?

जति पनि अहिले फोपीका मौलिक शृङ्खला बनिरहेका छन्, त्यसमा हामी आफैँले नै लगानी गरिरहेका छौँ। बजारमा चलेका निर्माता, निर्देशकको टोली सहित अहिले नयाँ नयाँहरूलाई पनि मौका दिइरहेका छौँ। जसको पटकथा राम्रो हुन्छ, जसमा प्रतिभा छ र जसरी काम गर्नुभएको छ त्यो अनुभवहरू सबै हेरेर हामीले नयाँहरूलाई पनि काम दिई रहका छौँ।

तपाईँहरूले सबै उत्पादनमा आफैँ लगानी गर्ने योजना हो? कि अरूले बनाएका उत्पादन पनि किन्नुहुन्छ?

कसैको उत्पादन राम्रो छ भने हामी त्यो पनि लिन सक्छौँ। हामीलाई हरेक दिन धेरै प्रस्ताव आउँछन्, टेलिशृंखला, वेब सिरिज, चलचित्र, आदि।

सुरु सुरुमा त हामीले पुरा दिन नै चलचित्रहरू हेरेर पनि बितायौँ। तर हामीले हेरेको चीजको गुणस्तर हामीलाई चित्त बुझेन। त्यसपछि बिस्तारै बिस्तारै हामी निर्माण तिरै जानुपर्छ भन्ने लाग्यो।

त्यसैले हामीले अहिले के गर्छौँ भने जसकै काम गराइ प्रमाणित भएको छ, र जसले चाहिँ अलि राम्रो पृथक् काम गरेका छन्, उनीहरूलाई मौका दिन्छौँ। पहिला त हामी पटकथा हेर्छौँ। साँच्चिकै राम्रो छ भने त्यसलाई अगाडि बढाउँछौँ। त्यसपछि फेरी हाम्रो निर्माणको टिम बस्छ, अरू टिमहरू बस्छन्, र थुप्रै छलफल गरेर हामी गुणस्तर सुनिश्चित गर्ने प्रयास गर्छौँ। लिन त हामी अरूको निर्माण पनि लिन्छौँ। जस्तै अहिले हामीले पहिले बनिरहेका शृङ्खला किनेर हालेका पनि छौँ। त्यसको चाहिँ हामीले सिक्वेलहरु बनाइरहेका छौँ।

दर्शक कतिको हुनुहुन्छ?

हाम्रो ५ लाख जति डाउनलोड भएका छन् भने १८-१९ हजार सक्रिय प्रयोगकर्ता हुनुहुन्छ, जसको सङ्ख्या बढ्दै छ।

कोभिडको महामारीले तपाईँहरूको उत्पादनमा केही प्रभाव परेको छ कि छैन? अनि दर्शक सङ्ख्या बढ्यो पनि कि?

हो, प्रभाव परेको छ। भर्खर मात्र हाम्रो छायाङ्कन हुररु हुन थाल्यो। यो भन्दा अगाडि हाम्रो छायाङ्कन हुन सकेको थिएन। हामीले योजना मात्र बनाइरहेका थियौँ, यात्रा पनि गर्न सकेका थिएनौँ। समय तालिका पनि बिग्रियो। एउटा समयमा छायाङ्कन गरेर, विकास गरेर प्रदर्शन गर्नुपर्ने थियो, त्यो गर्न सकिएन। महामारीको समयमा मानिसहरू धेरै घर बसेर दर्शक सङ्ख्या बढेको पनि छ।

महामारीको समयमा यस्तो साग्रीको माग त धेरै नै बढैको देखिन्छ। त्यसका लागि तपाईँहरुले कस्तो खालको सामग्री बनाउँदै हुनुहुन्छ?

हामीले चाहिँ सबै क्षेत्र, सबै वर्गलाई समेट्ने लक्ष्य राखेका छौँ। त्यसैले हामीले प्रेमकथा, अपराध, थ्रिलर, सङ्गीत, नृत्य, सबैलाई समाहित गरेर सामग्री बनाइरहेका छौँ। क्षेत्रीय कथाहरूलाई लिएर एउटा शृङ्खला पनि बनाइरहेका छौँ। जसमा चाहिँ गाउँघरमा चल्ने गाउँ खाने कथाहरूलाई आधार बनाएर शृङ्खला बनाइरहेका छौँ। खेलकुद, हास्यव्यङ्ग्य पनि बनाइरहेका छौँ।

Fopi OTT Streaming Service Nepali
Source: FOPI

फोपी एपलाई नेट्फ्लिक्ससँग तुलना गर्न मिल्छ त?

नेटफ्लिक्सलाई हामीले सिधै प्रतिस्पर्धी मान्न मिल्दैन। तरीका चाहिँ लगभग उस्तै हो। नेटफ्लिक्स, अमाजोन प्राइम त्यस्तै खालका ओटिटि प्लेटफर्म हुन्, जुन टेलिभिजनमा देखाइँदैनन्, र सीधै इन्टरनेटबाट हेर्न मिल्छ र आफ्नो सामग्री आफैँ उत्पादन गरिरहेका छन्।

हाम्रो पनि त्यही नै तरीका हो, तर नेपालको परिस्थिति अलिकति फरक भएको भएर ठ्याक्कै यही नै हो भन्न चाहिँ मिल्दैन।

नेटफ्लिक्स, अमाजोन प्राइम जस्ता एपहरूको दर्शक नेपालमा पनि छन् र झन् झन् बढ्दै छन्, यस्तो अवस्थामा फोपी जस्ता स्थानीय किसिमको र थोरै दर्शक भएको एप चल्न सक्छ जस्तो लाग्छ कि लाग्दैन?

चल्न चाहिँ सक्छ जस्तो लाग्छ। नेटफ्लिक्सँग अरू सामग्री होला, तर सबभन्दा पहिलो कुरा, उनीहरूसँग नेपाली सामग्री छैन।

हामीले दिन खोजेको चाहिँ नेपाली सामग्री हो र नेपाली दर्शकलाई नै लक्षित गरेको हो।

विश्वभरमा अहिले १० करोड नेपाली भाषी छन्। १० करोडको एउटा अंशलाई सामग्री दिन सक्यौँ भने पनि यो हाम्रो लागि राम्रो व्यवसाय हुन्छ र एप चल्नको लागि हाम्रो बिजनेस मोडल नै त्यही हो। हामी नेपाली चलचित्रलाई संसारसामु लैजाँदै छौँ। अरू कुनै त्यस्तो मञ्च छैन जसले नेपाली चलचित्र, नेपाली शृङ्खलालाई, नेपाली कला र यो कला जगतलाई विश्वसामु लान सक्छ।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now