घटस्थापनामा जमरा राख्दै सुरु भएको दशैँका यसपछिका प्रमुख गरी सातौँ दिन (फूलपाती), आठौँ दिन (अष्टमी), नवौँ दिन (नवमी) र दशौँ दिन (टिका) को विशेष महत्त्व रहने गर्दछ।
मिठा परिकार र आफन्तहरूको भेटघाटसँगै दशैँलाई भरपुर मनाउने योजना धेरै नेपालीहरूको रहेको छ।
अस्ट्रेलियाको नेपाली भाषी समुदायमा दशैँ
टास्मेनियाका खड्ग थापाले यसपालिको दशैँमा टिका लगाउन नमिले पनि यसका अन्य पाटोहरूलाई भने मनाउने तयारी रहेको बताएका छन्।
जिम्मेवारी बिना रमाइलो गर्ने भन्ने हिसाबले मात्र मनाइने गरेको बच्चा बेलाको दशैँ सम्झिँदै थापा भन्छन्, "आज मेरो घरमा यस्तो खानेकुराहरू पाक्यो, मेरो आफन्तहरू टाढाबाट आउँदै हुनुहुन्छ, उहाँहरूले यो यो कुराहरू ल्याइदिनुहुन्छ भनेर त्यो साथीभाइहरूसँग आफूलाई महत्त्व दिएर गफ गरिन्थ्यो।"

तर अहिले भने परिवारको जिम्मेवारी भएको कारण कसरी सबै कुरा मिलाउने भन्ने तर्फ बढी ध्यान जाने उनको भनाइ छ।
दुई बच्चाका बाबु खड्ग थापा छोराहरूलाई आफ्नो संस्कृतिको बारेमा जानकारी दिन पनि यो चाड मनाउनु महत्त्वपूर्ण भएको बिचार राख्छन्।
"एक खालको संस्कृतिको बारेमा जानकारी आफ्ना (पछिल्ला) पुस्ताहरूलाई हस्तान्तरण गर्न पनि हामीले यो विदेशको ठाउँमा सबैले त्यो हिसाबले मनाएको चाहिँ बुझी राखिएको छ।"
थापालाई दशैँको सबैभन्दा मन पर्ने पक्ष भनेको नै टिका हो।
डार्विनमा बसोबास गर्दै आएका सुजे श्रेष्ठलाई भने यसपालि नेपालमा चङ्गा उडाएको खुब याद आएको छ।
"नेपालको मलाई यस वर्ष मिस भएको भनेको चङ्गा उडाउने हो। अनि साथीहरूको घरको कौसीमा गएर तास खेलेको याद आइराखेको छ। बच्चा बेलामा खसी ससि ल्याएर काटेको याद आइराखेको थियो अस्ति।"

उनकी श्रीमती रोमी श्रेष्ठलाई भने सबै परिवारको साथमा बसेर टिका लगाएको कुराको सम्झना आएको छ।
"मलाई चाहिँ सबै परिवारसँग मिलेर बसेर टिका लगाउने, रमाइलो गर्ने, खेल्ने अनि टिका लगाएको पैसा गन्ने त्यो मिस भइराखेको छ।"
श्रेष्ठ दम्पती दुवैको टिकाको दिन काम परेको भएर काम सकाएर साथीको आमाबुवाको हातबाट टिका लगाउने योजना रहेको छ।
नेपाली अभिभावका अनुभव
एक महिना अगाडी मात्र अस्ट्रेलियामा छोरा बुहारी भेट्न आएका हरि बहादुर कार्कीलाई दशैँको चहलपहल देख्दा यो चाड अस्ट्रेलियामा पनि राम्रोसँग मनाइन्छ भन्ने लागेको छ।
पहिलो पटक अस्ट्रेलिया आएका उनले आफू बस्ने पश्चिमी सिड्नीमा रहेको एक नेपाली ग्रोसरी पसलमा मानिसहरूको चहलपहल र पसलमा राखिएका सामाग्रीहरू हेर्दा अस्ट्रेलियामा पनि दशैँ राम्रो सँग मनाइने रहेछ भन्ने अनुभव भएको बताए।
"यहाँ पनि नेपालीहरूको दशैँ मनाइ कम होला जस्तो लागेन मलाइ।"

कार्की भन्छन्, "टिका लगाउने थाली देखि लिएर, अबिर केशरी, हरेक नेपालमा चाहिने सामान जति- गाडी पूजा गर्न नरिवल, रातो गाडीमा लगाउने ध्वजा सबै भएको हुनाले यहाँ पनि दशैँ त राम्रै सँग मान्छन् नेपालीले भन्ने मलाई लागिराखेको छ।"
दशैँमा व्यवसाय
दक्षिण पश्चिमी सिड्नीको र्याबीमा नेपाली किराना पसल र मासु पसल सञ्चालन गर्दै आएका मणि दाहाललाई भ्याई नभ्याई छ।
कोभिड-१९ महामारी पश्चात् कतिपय नेपालीहरू यो पर्व मनाउन नेपाल गएको भए पनि अस्ट्रेलियामा नै रहेका ग्राहकहरू पनि ठुलो सङ्ख्यामा रहेको बताए।
सामान्य समयमा भन्दा १० देखि २० गुणासम्म खसीको मासुको खपत भएको बताउने दाहालले ग्राहकहरूका लागि दशैका अवसरमा विभिन्न अफरहरू पनि राख्नाले ग्राहकहरूको चाप बढेको बताए।
"मान्छेहरूको माग चाहिँ १० गुणा २० गुणा नै बढी हुन्छ।… प्रत्येक दिन (मासु) नखाने मान्छेले पनि यो बेला चाहिँ खानु पर्छ भन्ने सांस्कृतिक मान्यता भएका कारण, दशैँमा चाहिँ सबै जनाले प्राय होल गोट नै लिने अथवा राम्रै स्टकमा भुटन देखि लिएर सबै कुरा खाने भन्ने हुन्छ।"
उता ग्रोसरी पसलमा पनि मासुसँग खाने कुराहरू जस्तै चिउरा, फुरनदाना लगायतको नै बढी बिक्री हुने गरेको उनको अनुभव छ।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
र पूजाका भाँडाहरू र अन्य सामाग्रीहरू पनि ठुलो सङ्ख्यामा बिक्री गरिएको दाहालले बताए।
दशैँका कार्यक्रम
अस्ट्रेलियाका विभिन्न स्थानमा दशैँ सँग सम्बन्धित कार्यक्रमहरू सञ्चालन भई रहँदा शनिवार मेलबर्नको
अस्ट्रेलियन नेपाली बहु सांस्कृतिक केन्द्रको आयोजनामा मेलबर्नको डिगर्स रेस्टमा दशैँको अवसरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको छ।

केन्द्रको सक्रियतामा सङ्कलित कोषबाट खरिद गरिएको १५ एकरको जग्गामा घटस्थापनामा विधिपूर्वक जमरा राखिएको थियो भने शनिवार सर्वसाधारणका लागि दशैँ विशेष कार्यक्रमको आयोजना गरिएको थियो।
टिका जमराको पूजा लगायत, भज कीर्तन, नि:शुल्क परम्परागत परिकारहरू बाँड्ने उक्त कार्यक्रममा नेपाली समुदायका सदस्यहरूको उपस्थिति रहेको केन्द्रका अध्यक्ष राजेश आचार्यले बताए।

साथै उनले लामो समयको पर्खाइ पश्चात् आफ्नै जमिनमा पहिलो पटक कार्यक्रम गर्न पाउँदा निकै खुसी लागेको पनि बताए।
"धेरै ठुलो नभए पनि यो स्केलको कार्यक्रम पहिलो पटक गरेर धेरै समुदायका सदस्यहरूलाई स्वागत गर्ने आमन्त्रण गर्ने अवसर जुट्यो र त्यसका लागि हामी धेरै खुसी छौँ, र यहाँ निकै रमाइलो छ।"
त्यस्तै दशैँको अवसरमा साङ्गीतिक कार्यक्रमहरूको पनि आयोजना भई रहेका छन्।
नेपाल गायकहरू सुगम पोखरेल, नबीन के भट्टराई, सुशान्त केसी, आदेश पौडेल लगायतले अस्ट्रेलियाका विभिन्न सहरहरूमा आफ्ना साङ्गीतिक प्रस्तुतिहरू दिँदै छन्।
त्यस्तै अन्य कार्यक्रमहरूमा टास्मेनियाको दशैँ मेला, साउथ अस्ट्रेलियाको एडिलेडमा अन्तर राज्य फुटबल प्रतियोगिता, दशैँ फेस्ट क्यानबेरा, टास्मेनियन नेप्लिज क्रिकेट एसोसिएसनको सुपर सिक्स टुर्नामेन्ट पनि कार्यक्रमहरूको सूचिमा रहेका छन्।








