कोरोना
नेपालमा कोरोनाको महामारी बढ्दो क्रममा छ: गत हप्ता प्रति दिन १०० जानाको दरले बढिरहेको सङ्क्रमितको सङ्ख्या यस हप्ता प्रति दिन २०० देखि ३०० को दरले बढिरहेको छ।
मृत्यु हुनेको सङ्ख्या झन्डै तीन हजार चालीस छ भने कुल सङ्क्रमित झन्डै दुई लाख ८० हजार पुगेका छन् र सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ सयभन्दा बढी भएको छ। बढ्दो सङ्क्रमणका सन्दर्भमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छन्,
कति ठाउँमा अहिले जुन भिडभाड भइरहेको छ, अब त्यो पुरै बन्द गर्नुपर्छ। जनस्वास्थ्यको मापदण्ड पुरा गरेर २५ जनाभन्दा कम मान्छेको दुरी कायम गरेर भेला त गर्न सकिन्छ। तर अब कति दिन पछि त्यो पनि नगर्नु भन्ने दिन आउन सक्छ।

नेपालमा संक्रमणको दोस्रो लहर आउने आशङ्का गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस हप्ता भारतलाई खोप आपूर्ति सहजीकरण गर्न आग्रह गरेका छन्। भारतका विदेश मन्त्री एस जयशंकरले नेपालको यो आग्रह पुरा गर्ने आश्वासन दिएका छन्।
गत हप्ता छिमेकी राष्ट्र चीनबाट नेपालको लागि अनुदानको रूपमा आएको ८ लाख डोज खोप बुधबारदेखि काठमाडौँका विभिन्न स्वास्थ्य चौकी तथा अस्पतालहरूमा वितरण गरिँदै छ।
अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, चीन सरकारको छात्रवृत्तिमा चीनमा पढ्ने विद्यार्थीहरू, हिमालय पार व्यापारमा संलग्नहरू तथा चीनमा अध्ययन गर्न जाने तयारीमा रहेका व्यक्तिहरूले यो भेरासेल खोप लगाइरहेका छन्।
यो पनि पढ्नुहोस्:

न्यु साउथ वेल्सको आपतकालीन सेवामा संलग्न नेपाली स्वयंसेवक
काँग्रेसको निर्णय
सङ्घीय संसदका दुई ठुला दल माओवादी केन्द्र र नेपाली काङ्ग्रेसले नेपाली काङ्ग्रेसका नेता शेर बहादुर देउवालाई भावी सरकारको नेतृत्व गर्नका लागि चयन गरेका छन् ।
देउवाले शुक्रबार दिउँसो आफ्ना पार्टीका केही सदस्य, नेकपा माओवादीका नेता पुष्प कमल दाहाल र अन्य केही नेताहरूसँग बुढानीलकण्ठस्थित आफ्नो निवासमा गरेको भेटवार्तामा त्यस्तो निर्णय गरिएको हो।

संसदको अर्को दल जनता समाजवादी पार्टीका नेताहरूले यसमा आफ्नो कुनै मत दिएका छैनन्। नेकपा एमाले र माओवादी पार्टी मिलेर नयाँ पार्टी नेकपा गठन गरेपछि संसदमा बहुमत ल्याएर नेकपाका नेता केपी शर्मा ओली प्रधानमन्त्री बनेका थिए, तर ती दुई पार्टीको फुटपछि ओलीको पार्टी नेकपा एमालेसँग संसदमा बहुमत छैन।
त्यसैले ओलीको सरकार ढाल्नका लागि बहुमत जुटाउन पुष्प कमल दाहालको नेतृत्वमा नेकपा माओवादी पार्टी अहिले नेपाली काङ्ग्रेसको समर्थनमा लागिपरेको छ, र माओवादी नेता दाहाल सरकारको कडा आलोचना गरिरहेका छन्।
जे आधिकारिक हो, संवैधानिक हो, जे विधिसम्मत हो, त्यसलाई गलहत्याइएको छ, त्यसलाई निमोठिएको छ। जे अवैधानिक हो, असंवैधानिक हो, अलोकतान्त्रिक हो, नियम विरोधी कुरा हो, त्यसलाई पछ्याइएको छ सरकारबाट। यहीँबाट सबे चीज अहिले देशमा निकै ठुलो अन्योल र सन्त्रास छ।
अब केही दिनमै संसदमा अविश्वासको प्रस्ताव ल्याएर नयाँ सरकार गठन गर्ने विपक्षी दलका नेताहरूले दाबी गरिरहेका छन्।
चार जना मन्त्री पुनर्नियुक्त
पार्टी फुटेपछि कतिपय नेताहरू आफ्नो दलमा नफर्केर अर्को दलमा जाँदा पुरानो पार्टीको कारबाहीमा परेका छन्। माओवादी पार्टीबाट संसदमा प्रवेश गरेका केही नेता एमाले पार्टीमा प्रवेश गरेपछि माओवादी पार्टीले उनीहरूको सदस्यता खारेज गरेको थियो।
पार्टीको सदस्य नरहेपछि कानुनअनुसार उनीहरू स्वतः सांसद र मन्त्री पदबाट निलम्बन भएका छन्। तर सांसद नभएका मानिसलाई पनि ६ महिनासम्म मन्त्री बनाउन पाउने प्रावधान रहेको हुँदा प्रधानमन्त्री ओलीले चार जना त्यस्ता मन्त्रीलाई फेरि मन्त्री पदमा नियुक्त गरेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी, सहरी विकास मन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशङ्कर चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
गैँडा गन्ती
नेपालमा जङ्गली अवस्थामा ७५२ वटा गैँडा रहेको भर्खरै सकिएको गैँडाको गन्तीले देखाएको छ। नेपालले पछिल्लो पटक सन् २०१५ मा गैँडाको गन्ती गरेको थियो, र त्यति बेला नेपालमा ६४५ गैँडा थिए।
कोभिडका कारणले गन्ती एक वर्ष पछि सारिएको हो, र ६ वर्षमा गैँडाको सङ्ख्या १०७ ले बढेको देखिएको छ। दुर्लभ जनावर एकसिंगे गैँडा संसारभर नै जङ्गली अवस्थामा नेपाल र भारतमा मात्र पाइन्छ।

पछिल्लो समयमा नेपालले गैँडाको संरक्षणमा निकै मेहनत गरिरहेको छ, र निकुञ्जहरूमा शाकाहारी जनावर गैँडालाई उपयुक्त हुने घाँसहरू लगाउने, र ठाउँ ठाउँमा पोखरी खनेर गैँडालाई सुविधा दिने जस्ता काम गरिरहेको छ। नेपालमा चितवन, बर्दिया, शुक्लाफाँटा र पर्सा राष्ट्रिय निकुञ्जमा गैँडा पाइन्छन्।
वायु प्रदूषण
नेपालमा वायु प्रदूषण र डढेलोको समस्या यो हप्ता पनि जारी छ। धनकुटाको बजार र पर्वतमा डढेलो गाउँमा छिरेर केही घर नष्ट भएका छन् भने पाल्पामा लामो समयदेखि डढेलोले दुःख दिइरहेको छ।

काठमाडौँ नजिकैको चोभारमा लागेको डढेलो नियन्त्रण गरिएको छ। नेपाल र भारतका जङ्गलमा लागेका डढेलो र अरू कारणले गर्दा नेपालको वायु गुणस्तर सूचकाङ्क ३०० भन्दा माथि रहेको थियो, जुन विश्व स्वास्थ्य सङ्गठनका अनुसार घातक मानिन्छ।
वायु गुणस्तर घट्नुका अरू कारणमा जलवायु परिवर्तन, सवारी साधनको धुवाँ र वर्षातको कमी पनि मानिएको छ। यो हप्ता नेपालका केही ठाउँमा लगातार पानी परेकाले वायु गुणस्तर केही सुध्रिने अपेक्षा गरिएको छ।
जात्राहरू
भक्तपुरको प्रसिद्ध बिस्का जात्रा शनिबार सुरु भएको छ, र कोरोनाको बढ्दो जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइने जात्रा व्यवस्थापन समितिले बताएको छ। कोरोनाको सङ्क्रमण बढ्दै गएको भएतापनि काठमाडौँका तिनै जात्रा यस वर्ष हुने सम्बन्धित समितिहरूले बताएका छन्।

गत वर्ष काठमाडौँको सेतो मत्स्येन्द्रनाथको जात्रा, ललितपुरको रातो मत्स्येन्द्रनाथको जात्रा र भक्तपुरको बिस्का जात्रा पछि सारिएका वा रद्द गरिएका थिए। यस वर्ष भने भक्तपुरको जिल्ला स्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रले कोभिडको सङ्क्रमण बढ्ने जोखिम रहेको भन्दै बिस्का जात्रामा रोक लगाएपछि स्थानीय वासी प्रदर्शनमा उत्रिएका थिए।
केन्द्रले जात्रालाई पूजामा सीमित राख्न भन्दै रथ तान्न, लिङ्गो ठड्याउन, जिब्रो छेड्ने र सिन्दूर जात्रा गर्नमा रोक लगाएपछि उनीहरूले सर्वोच्च अदालतमा उजुरी समेत गरेका थिए। अदालतले पूजामा रोक नलगाउने आदेश दिएपछि यस वर्ष तिनै वटा जात्रा हुने भएका हुन्।








