झन्डै पाँच महिनाको बन्दाबन्दी पछि नेपाल सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरू फेरी सञ्चालन गर्ने तयारी गरिरहेको छ।
नेपाल सरकारले जुलाई २१ तारिख देखि बन्दाबन्दी हटाउने निर्णय गरेको छ, र त्यस अन्तर्गत सबै किसिमका यातायात माथिको कडाइ खुकुलो गरिन लागेको हो।
आगामी अगस्ट ५ तारिख देखि आन्तरिक उडान र अगस्ट १७ तारिख देखि अन्तर्राष्ट्रिय उडानमाथिको प्रतिबन्ध हटाइने बताइएको छ।

त्यसका लागि आवश्यक प्रोटोकल बन्दै गरेको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले बताएका छन्।
नेपाल प्रवेश गर्ने यात्रुले अनिवार्य कोरोनाको परीक्षण गरेको हुनुपर्ने लगायतका नियम लागु गरिने तामाङ बताउँछन्।
"जस्तै विदेशबाट आउँदा पिसिआ र टेस्ट गर्नुपर्छ। नभए नेपाल आएर गर्नुपर्छ। क्वारेनटाइन अनिवार्य बस्नुपर्छ," तामाङले भने।
"स्यानिटाइज गर्ने व्यवस्था र सोसल डिस्टान्सिङका कुराहरू यी सबै चीज सँगसँगै लानुपर्छ। सेक्युरिटीको कुरा, हेल्थको कुरा चाहिँ मेन्टेन गर्नुपर्छ।”
बन्दाबन्दीको अवधिमा पनि नेपालमा केही चार्टर्ड विमान र केही उद्धारका लागि प्रयोग गरिएका उडान भइरहेका थिए।
“खुल्ने निर्णय भयो तर प्रोटोकल तयार गरेर। पहिला जस्तो सजिलोसँग हुँदैन," उनले भने।
बन्दाबन्दीकै अवस्थामा रहेका देशमा उडानहरू नजाने र सहजै आवागमन हुन सक्ने ठाउँमा मात्रै हवाई यात्रा गर्न सकिने पनि तामाङले बताएका छन्।

कोरोनाका कारणले नेपालमा मार्च २४ तारिख देखि सुरु गरिएको बन्दाबन्दीमा सबै किसिमका सार्वजनिक यातायात रोकिएका थिए।
गत हप्तादेखि सरकारले छोटो दुरीका गाडीहरू चल्ने अनुमति दिएको छ भने अर्को चरणमा हवाई यातायात खुल्न लागेका हुन्।
विभिन्न देशमा अलपत्र परेका नेपालीहरू, र नेपालमै अलपत्र परेका विदेशी नागरिकहरूलाई हवाई यातायात सुचारु भएपछि केही राहत मिल्ने अपेक्षा गरिएको छ।
हाल चार्टर्ड उडान मात्रै भइरहेको अवस्थामा ती उडानहरू साबिकको व्यावसायिक उडान भन्दा धेरै महँगा छन्।
बन्दाबन्दीका कारणले पर्यटन र उड्डयन क्षेत्रमा सबभन्दा बढी प्रभाव परेको थियो, र यो निर्णयले उड्डयन क्षेत्रमा केही सुधार ल्याउने अपेक्षा गरिएको छ।
तर विभिन्न प्रतिबन्ध र स्वास्थ्य सम्बन्धी चिन्ताहरू बाँकी रहेको हुँदा पर्यटन क्षेत्रमा भने तत्काल सुधार नहुने अनुमान गरिएको छ।

अस्ट्रेलियामा बसोबास गर्ने मानिसहरू घर बाहिर हिँड्दा, अरू मानिसहरूबाट कम्तीमा १.५ मिटर टाढा रहनुपर्दछ। भेला हुने सङ्ख्या बारे तपाईँको राज्य वा प्रदेशमा हाल कायम व्यवस्था बारे थप जानकारी यहाँ उपलब्ध छ।
रुघा खोकी वा चिसो लागेको लक्षण देखा परे तपाईंले घरमा नै बसेर आफ्नो डाक्टर (जीपी)लाई वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गरी परीक्षणका लागि समय मिलाउनुपर्छ।
यदि तपाईँलाई सास फेर्न गाह्रो महसुस भयो भने वा आपतकालिन स्वास्थ्य समस्या उत्पन्न भएको खण्डमा भने ००० (ट्रिपल जिरो)मा फोन गर्नुहोस्।
नेपाली भाषामा कोरोनाभाइरस सम्बन्धी पछिल्ला अपडेट, समाचार र अन्य जानकारीका लागि:








