शुक्रबारदेखि अकस्मात् छाएको प्रदूषित तुवाँलोको कारण कैयौँ मानिसहरू आँखा र टाउको दुखेको भन्दै अस्पतालमा जँचाउन पुगेका छन्।
सरकारले मङ्गलवार देखि शुक्रबार सम्म देशभरका स्कुल र कलेज बन्द गर्न निर्देशन दिएको छ। र थुप्रै हवाईजहाज पनि अर्कै एयरपोर्टमा अवतरण या त ढिला ल्यान्डिङ गर्न बाध्य भएका थिए।
यो पनि पढ्नुहोस्:

विपद् र महामारीबारे क्यानबेरामा पुस्तक विमोचन र सम्मेलन आयोजना
सुख्खा यामको कारणले देशभरिका जङ्गलमा भएको आगलागीले तुवाँलो सिर्जना गरेको मौसमविदहरु बताउँछन् ।
प्रदूषणका अन्य कारणमा भारतमा ठूलो क्षेत्रफलमा लागेको डढेलो र नेपालको कल-कारखाना, सवारी साधनको चाप, निर्माण कार्यहरू, लामो समयसम्मको खडेरी र असामान्य जलवायु परिवर्तनलाई पनि मानिएको छ ।
यस्तो समयमा बाहिर धेरै ननिस्किन र चिकित्सकहरूको सल्लाह छ र विषेशगरी बिहान ५ देखि ८ बजेसम्म जोखिमपूर्ण रहेको उनीहरू बताउँछन्।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पनि शुक्रबार एउटा विज्ञप्ति सार्वजनिक गर्दै घरबाहिर खुला स्थानमा नजाने, अत्यावश्यक काम नपरेसम्म सवारी साधन नचलाउने र प्रदूषण हुने गरी कल-कारखाना सञ्चालन नगर्ने जस्ता आग्रह गरेको थियो, जुन जनस्तरमा पूर्ण रुपमा पालना भएको देखिँदैन।

यो मौसममा सुधार आउन र काठमाडौँ जस्ता सहरमा पूर्ण भिजिबिलिटि आउन एक महिनाभन्दा बढी समय लाग्ने अनुमान गरिएको छ।
सगरमाथा टेलिभिजनसँग कुरा गर्दै मौसम पूर्वानुमान महाशाखाकी प्रमुख अर्चना श्रेष्ठ भन्छिन्,“डढेलोको प्रदूषण कम भयो, अथवा हामीले यातायातको साधनहरूको चाप कम गर्दा आकाश अलिकति खुलेर यहाँ घाम आउन सक्यो भने चैँ वायुमण्डलको अर्को चक्र पैदा भएर मेघ गर्जन समेत हुन गई एक पटक राम्रोसँग पानी परेर वातावरण सफा हुन सक्छ।”

सरकारसँग यस समस्याको समाधान गर्न कुनै ठोस उपाय नभएको देखिन्छ । गत जनवरी महिनामा पनि वायु प्रदूषण बढेर काठमाडौँको एक्यूआई ६०० सम्म पुगेको थियो । र हाल एक हप्ता बितिसक्दा पनि सबैतिर आन्तरिक हवाई उडानहरू सञ्चालन हुन सकेका छैनन् ।
बुधबार राति देशका केही ठाउँमा परेको पानीले केही राहत दिने अपेक्षा गरिएको छ।







