अस्ट्रेलियामा यो हप्ता, राष्ट्रिय सीप सप्ताह वा नेशनल स्किल्स वीकको १३ औँ संस्करण मनाइँदै छ।
'ह्वाट आर यु लुकिङ फर?' भन्ने मूल नाराका साथ यस वर्ष यो कार्यक्रम देशभर मनाउन लागिएको हो।
नेश्नल स्किल्स वीकले व्यवहारिक, व्यावसायिक योग्यता र प्रशिक्षण मार्फत सबै अस्ट्रेलियनहरूलाई अवसरको ढोका खोल्ने लक्ष्य राखेको छ।
सीप आर्जन र अपस्किलिङ मार्फत राष्ट्रको अर्थतन्त्रमा कसरी योगदान गर्न सकिन्छ भन्ने बारेमा सीप सप्ताहमा जोड दिइने बताइएको छ।
नेशनल स्किल्स वीकका अध्यक्ष ब्रायन वेक्सह्यामले अस्ट्रेलियामा भोकेस्नल एजुकेसन एन्ड ट्रेनिङ (भेट) भनिने व्यावसायिक शिक्षाको छवि सुधार हुनु पर्ने बताएका छन्।
भेटले प्रदान गर्ने करिअरका विविध अवसरहरूको प्रचार सँगै, यस प्रति मानिसहरूको धारणा परिवर्तन गर्नु स्किल्स वीकको मुख्य उद्देश्य रहेको विज्ञप्ति मार्फत अध्यक्ष ब्रायन वेक्सह्यामले बताए।
“भेट मार्फत प्रदान गरिने (डिग्री), माथिको अवधारणालाई चुनौती दिने, परिवर्तन गर्ने र उद्योगहरू मार्फत करिअरका विविध आयामलाई प्रवर्द्धन गर्नुमा ध्यान केन्द्रित गरेका छौ,” वेक्सह्यामले भने।
विशेष गरी, महिलाहरूलाई व्यावसायिक 'ट्रेड' सम्बन्धी सीप सिकाउने, विभिन्न खाले आदिवासी शिक्षा कार्यक्रम, क्षेत्रीय र ग्रामीण भागमा गरिने कार्यक्रम, 'मचियोर्ड एज्ड ट्रेनिङ' जस्ता कार्यक्रम महत्त्वपूर्ण रहेको पनि उनले बताए।

सीपको अभावकै कारण दशकौँ पछि अस्ट्रेलियाले आर्थिक चुनौती भोग्नु परेको पनि विज्ञप्तिमा बताइएको छ।
अघिल्लो वर्षमा भएको कुल रोजगारी वृद्धिमा ६० प्रतिशत भोकेस्नल शिक्षा पाएका मानिसहरू रहेको, र युनिभर्सिटीबाट शिक्षा प्राप्त गरेकाहरू केवल ३६ प्रतिशत रहेको जब्स एन्ड स्किल्स अस्ट्रेलियाले जनाएको छ।
स्किल्स वीकमा अस्ट्रेलियामा कामदारको अत्यन्तै अभाव रहेका क्षेत्रका बारेमा पनि उल्लेख गरिएको छ।
त्यसमा हेल्थ केयर, डिजिटल, एग्रिकल्चर, रिटेल, हस्पिट्यालिटी, डिफेन्स, माइनिङ र बिल्डिङ कन्स्ट्रक्सन केही हुन्।

अस्ट्रेलियामा सबैभन्दा बढी माग २० पेसाहरू:
- रजिस्टर्ड नर्स
- सफ्टवेयर एन्ड एप्लिकेसन प्रोगामर
- एज्ड एन्ड डिसेबल केयरर
- चाइल्ड केयरर
- कन्स्ट्रक्सन म्यानेजर
- मोटर मेकानिक
- रिटेल म्यानेजर
- सेफ
- जेनेरलिस्ट मेडिकल प्राक्टीसनर
- मेटल फिटर्स एन्ड मसिनिस्ट
- आइसिटी बिजनेस एन्ड सिस्टम्स एनलिस्ट
- सिभिल इन्जिनियरिङ प्रोफेस्नल
- इलेक्ट्रिसियन
- अर्लि चाइल्डहुड (प्री-प्राइमरी स्कुल) टिचर
- कनट्र्याक्ट, प्रोग्राम एन्ड प्रोजेक्ट एडमिनिस्ट्रेटर
- एडभरटाइजिङ एन्ड मार्केटिङ प्रोफेस्नल
- फिजीयोथेरापिस्ट
- गार्डेनर
- माइनिङ इन्जिनियर
- डेटाबेस एन्ड सिस्टम एड्मिनिस्ट्रेटर र आइसीटी सेक्युरिटी स्पेसलिस्ट
करिअर सम्बन्धी विभिन्न अवसरहरूको चर्चासँगै एप्रेन्टिसशिप र ट्रेनीशिपले समुदायमा पारेको सकारात्मक प्रभावका बारेमा स्कील्ड वीकमा चर्चा हुने बताइएको छ।
सम्बन्धित सामाग्री:

अस्ट्रेलियाको कर्मचारी अभाव र यसले भिसाको नियममा पार्ने प्रभाव










