सहमति सहितको यौन सम्पर्कको बारेमा बुझ्न त्यस्तो गाह्रो छैन - यो एक किसिमको कला हो। जस्तै सहानुभूति राख्ने, अरूसँग कसरी कुराकानी गर्ने लगायत हुन्छन् र जो कोहीले पनि सिक्न सक्छन्। हामी खुला रूपमा कुराकानी गरेर स्वस्थ र सम्मानजनक सम्बन्धलाई अघि बढाउने भन्ने बुझाइको विकास गर्न सक्छौँ।
मुख्य बुँदाहरू
- याैन दुर्व्यवहारका पीडितहरूमध्ये ४१ प्रतिशत पीडितहरू १० देखि १७ वर्ष बिचका रहेका छन्।
- सम्बन्धमा रहेका होस् वा नरहेका होस्, अन्तर्क्रिया गर्दा कन्सेन्ट लिनुपर्छ।
- कन्सेन्टका बारेमा प्रश्नहरू हुनु सामान्य नै हो। यससम्बन्धी विभिन्न १६ भाषामा स्रोतहरू उपलब्ध छन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
चेतावनी: यो सामाग्रीमा यौन दुर्व्यवहार सम्बन्धी जानकारी रहेकाले केहीको पाठकको मन विचलित पार्न सक्छ।
तथ्याङ्कहरू हेर्दा अस्ट्रेलियामा सन् २०२३ मा ३६ हजार भन्दा बढी मानिसहरू यौन दुर्व्यवहारका पीडित भएका छन्।
यो मध्ये ४१ प्रतिशत पीडितहरू १० देखि १७ वर्ष बिचका रहेका छन् भने धेरै जसो पीडकहरू १५ देखि १९ वर्षका रहेका छन्।
यो तथ्याङ्कले युवा समुदायभित्रको सत्य बाहिर नआएको देखाउँछ।
अवस्था चिन्ताजनक रहेको छ तर पनि सुधार गर्ने ठाउँहरू रहेका छन्।
हामीसँग समाजमा अलग गर्ने शक्ति पनि रहेको छ।
सन् २०२१ मा चनेल कन्टोसले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै, स्कुल पढ्दाको दिनहरूमा भएका यौन दुर्व्यवहारका अनुभवहरू साट्न आग्रह गरिन्।
यो पोस्ट यति भाइरल भयो कि सयौँ मानिसहरूले आफूमाथि भएका यौन दुर्व्यवहारका अनुभवहरू पठाए।
तर यी कुनै पनि घटना बारे कतै पनि रिपोर्ट भने गरिएका थिएनन्।
“हामीले यौन दुर्व्यवहारका यस्ता घटनाहरूबारे कुराकारी गर्न सुरु गर्याै कि जहाँ हामीले चिनेका युवाहरूले हामीले चिनेकै युवतीहरूलाई दुर्व्यवहार गरेका थिए।
यो प्रक्रियामा हामीले आफ्नै कथाहरू सुनायौं। अनि यहाँबाट थाहा भयो कि जुन युवाले मलाई यौन दुर्व्यवहार गरेको थियो, त्यसको एक वर्षपछि उसले मेरो साथीलाई पनि यौन दुर्व्यवहार गरेको रहेछ,” कन्टोसले सम्झिछिन्।
उनी अहिले विश्वव्यापी रूपमा नै स्कुलहरूमा कन्सेन्ट बारे बुझाउनमा सक्रिय रहेकी छिन्।
सन् २०२१ मा उनले ‘टिच अस कन्सेन्ट’ नामको गैर नाफामुलक संस्था स्थापना गरिन्।
यो संस्थाको मुख्य उद्देश्य यौन हिंसाको सामान्यकरण पूर्ण रूपमा हटाउने बताइएको छ।
कन्टोसलाई लाग्छ कि युवा पुस्तालाई खुला रूपमा कुराकानी गर्न विश्वसनीय माध्यमको आवश्यकता छ, जहाँ उनीहरूले खुला रूपमा आफ्ना अनुभवहरू बताउन र सहमति सहितको यौन सम्पर्कको बारेमा सिक्न पाउन्।
“मेरो आफ्नै अनुभवहरू अनि मैले अरूसँग कुराकानी गरेको आधारमा मलाइ के लाग्छ भने आफ्नो मनभित्र रहेका कुराहरू निर्धक्क रूपमा लाज नमानीकन अरूसँग कुरा गर्न विश्वास हुनुपर्छ।”
उनका कुराले के बताउँछ भने परिवर्तन कुराकानीबाट सुरु हुन्छ, र यी मुद्दाहरूलाई खुला रूपमा सम्बोधन गरेर, सुरक्षित भविष्यतर्फ काम गर्न सकिन्छ।
धेरैजसो मानिसहरूले सेक्सुअल कन्सेन्टको बारेमा कुरा गर्नु महत्त्वपूर्ण भनेता पनि धेरैलाई कहाँबाट सुरु गर्ने भन्ने नै थाहा छैन।

‘सेक्सुअल कन्सेन्ट’ भनेको के हो?
डेजरे बेन्स्लीले रेस्पेक्ट भिक्टोरियामा यौन हिंसा रोक्न र लैङ्गिक समानता प्रवर्द्धन गर्नको लागि थुप्रै काम गरेकी थिइन्।
उनी भन्छिन् कि सेक्सुअल कन्सेन्ट भनेको यौन क्रिडा गरिँदा सहभागी सबै पक्ष बिच आदानप्रदान हुने सहमति हो।
“सम्बन्ध रहेका वा नरहेका सबै व्यक्तिहरूबिच अन्तर्क्रिया गर्दा कन्सेन्ट चाहिन्छ।”
चिनेको होस् वा भर्खर भेट भएको होस्, सम्बन्ध भएको होस् वा विवाह नै भइसकेको होस्, अरू कसैको पनि शरीर माथि हाम्रो अधिकार कहिल्यै पनि नहुने बेन्स्लीको भनाई छ।
उनी अगाडी थप्छिन् कि सेक्सुअल कन्सेन्ट ‘एस’ वा ‘नो’ मात्र मात्र सिमित हुँदैन। यसका ५ मूल अवधारणाहरू छन्।
पहिलो, सहमति खुला र स्वस्फूर्त हुनुपर्छ। यौन क्रिडामा भाग लिने व्यक्तिहरू बिना दबाब आफ्नो इच्छाले सहभागी हुन सहमत हुनुपर्छ।
दोस्रो, सहमति स्पष्ट र सुसूचित रूपमा भएको हुनुपर्छ। यसको अर्थ, सेक्सुअल कन्सेन्ट छ भभनेर मान्नका लागि तपाईँले अन्तरक्रियाभरि नै सबै यौनजन्य गतिविधिको अभिपुष्टि र स्वीकृति लिनुपर्छ ।
तेस्रो, कन्सेन्ट हरेक पटक हुनुपर्छ र यसबारे राम्रोसँग कुराकानी भएको हुनुपर्छ। यो बोलेर पनि हुनसक्छ वा साङ्केतित रूपमा पनि हुन सक्छ। तर ययसबारे कहिल्यै पनि अनुमान लगाउनु मिल्दैन।
चौथो, यसबारे दुई जना बिच समझदारी हुनुपर्छ र यो जुनसुकै बेला पनि हटाउन सकिन्छ।
यो बुझ्न महत्त्वपूर्ण छ कि एक जना व्यक्ति यौन गतिविधिका लागि सहमत भयो भन्दैमा त्यसमा सबै किसिमका गतिविधिका लागि सहमत भएको हुँदैन, र आउने दिनहरूमा सोही गतिविधिका लागि कन्सेन्ट छ भन्ने पनि हुँदैन।
पाचाैँमा, यौनमा सहभागी हुने व्यक्ति सक्षम र आफैँ निर्णय गर्न सक्ने अवस्थामा हुनुपर्छ।
यदि कोही सुतिरहेको छ वा मादक तथा लागू पदार्थहरूको नशामा छ भने, तिनीहरू सुरक्षित र सहमतिमा निर्णय गर्न सक्ने स्थितिमा हुँदैनन्।
सहमतिका यी पाँच वटा अवधारणाहरू बुझियो भने सम्बन्ध सुधार्न मद्दत हुने बेन्स्ली भन्छिन्।
“कुनै पनि स्वस्थ्य सम्बन्धको लागि कन्सेन्ट महत्त्वपूर्ण हुन्छ। यो एक अर्काबिचको सीमाहरू कसरी बनाउने, अरूलाई कसरी बुझ्ने वा सुन्ने र कसैले सिधै वा साङ्केतिक रूपमा नो भनेको छ भने कसरी बुझ्ने भने सिक्नु हो। र अस्वीकारलाई कसरी लिने भन्नेबारे हो।”
कुनै पनि सुरक्षित र स्वस्थ सम्बन्धको लागि महत्त्वपूर्ण छ, उनी प्रस्ट पार्छिन्।

कन्सेन्टका केही गलत अवधारणाहरू
एलेक्स काऔप सिड्नीका क्रिमिनल डिफेन्स लयर वा आपराधिक क कानून सम्बन्धी एक वकिल हुन् जो सामुदायिक शिक्षाका भनेपछि हुरुक्कै हुन्छन्।
उनी आफ्नो अनुभवको आधारमा भन्छन् कि अस्ट्रेलियामा कन्सेन्ट बारे खासै जानकार नरहेका नयाँ आप्रवासीहरूलाई यसबारे निरन्तर रूपमा शिक्षा आवश्यक पर्छ।
“मेरा धेरैजसो सेवाग्राहीहरू आप्रवासी हुन्। जस्तै कि मानिलिनुहोस्, ‘रिलेसनसिप’ वा बिवाह वा यौनमा आधारित सम्बन्धहरूका बारेमा उनीहरूको बुझाइ हाम्रो मान्यताहरू भन्दा निकै फरक छन्। नशामा धुत् भएका बेला सहमती दिन सक्ने क्षमतामा एकदमै सिमित हुन्छ भन्ने बुझाई होस् वा सम्भावित यौन हिंसा बारे उजुरी गर्न बारेको बुझाई, आफ्नो हुर्काई अनुसार ती बारे बुझ्न सक्ने क्षमता फरक हुन सक्छ।
सहमतिको बारेमा मानिसहरूमा केही गलत बुझाइहरू रहेका र विभिन्न परिस्थितिहरूमा मानिसहरूको प्रतिक्रियाका बारे काऔप भन्छन्।
“ट्रमाले मानिसहरूलाई फरक तरिकाले प्रभाव पार्छ, केही मानिसहरूमा आफूहरूमाथि दुर्व्यवहार भएपछि तनावका सङ्केतहरू देखिन सक्छ भने केही मानिसहरूमा नदेखिन पनि सक्छ।”
तर केही मानिसहरूमा केही पनि भावनात्मक असर देखिएन भन्दैमा उक्त व्यक्तिहरूले यौन दुर्व्यवहारका घटनाका बारेमा सत्य कुरा नभएको भन्ने हुँदैन।एलेक्स काऔप, क्रिमिनल डिफेन्स लयर
यदि तपाईँ विवाहित हुनुहुन्छ वा पहिले नै सम्बन्धमा हुनुहुन्छ भने, कन्सेन्टको बारेमा सोच्नु पर्दैन भन्ने अर्को सामान्य गलत बुझाइ हो।
यसरी हेर्दा सत्य के देखिन्छ भने विवाहित जोडीहरू र पहिले नै सम्बन्धमा रहेकाहरू लगायत विभिन्न व्यक्तिहरू बिच पनि सहमति नलिईकन यौन व्यवहार हुन सक्छ।
कन्सेन्ट भनेको जति बेला चाहिन्छ त्यति बेला मात्र लिने भन्ने होइन, यो जो कोहीले पनि सिक्न सक्ने एक किसिमको कला हो।
यो सहानुभूति, कुराकानी, एक अर्काबिचको सीमाहरूको सम्मान गर्ने, र अस्वीकारलाई कसरी लिने भन्नेबारे हो।
सम्बन्धलाई स्वस्थ बनाउनको लागि यी सबै कुराहरू आधारभूत हुन्।
कन्सेन्टको बारेमा बुझ्नको लागि धेरै भाषाहरूमा स्रोतहरू उपलब्ध छन्।
बेन्स्ली सबै युवा युवतीहरूलाई ‘कन्सेन्ट कान्ट वेट’ अभियानमा संलग्न हुन प्रोत्साहन गर्छिन्।
यो अभियान कन्सेन्ट लाई अझ राम्रोसँग बुझ्न सरकारले उनीहरूलाई उपलब्ध गराएको स्रोतहरू मध्येको एक हो ।
“यदि हामीलाई कन्सेन्टको बारेमा पर्याप्त जानकारी छैन वा कन्सेन्टको हाम्रो बुझाइमा विश्वस्त महसुस गर्दैनौँ भने, हामी हाम्रा युवाहरूबाट कसरी आशा गर्न सक्छौँ।”
त्यसैले यो अभियानले युवा युवतीहरूका लागि धेरै जानकारीमूलक भिडियोहरू र स्रोतहरू मार्फत यसलाई सम्बोधन गर्ने प्रयास गरेको बेन्स्ली बताउँछिन्।
सहमतिको संस्कृतिलाई सामान्य बनाउने काम शिक्षाबाट सुरु हुने र सम्मानजनक सम्बन्धलाई स्वस्थ रूपमा अघि बढाउन यो महत्त्वपूर्ण हुन्छ।
रर्यान्ड फेइड एक पारिवारिक सल्लाहकार, थेरपिस्ट अनि मध्यस्थकर्ता हुन्।
उनी बहुसांस्कृतिक पृष्ठभूमिका परिवारहरूसँग प्रत्यक्ष रूपमा काम गर्छिन् र भन्छिन् कि वयस्कहरूले सहमति लाई पूर्ण रूपमा बुझ्नको लागि पहल गर्नुपर्छन् जसले गर्दा उनीहरूले पछिल्लो युवा पुस्ताहरूलाई यसबारे बुझाउन र समर्थन गर्न सक्छन्।
“अभिभावकहरूले यसबारे आफैले सिक्नुपर्छ। आफै शिक्षित भएर तपाईँलाई थाहा नभएका उत्तरहरू खोज्नु महत्त्वपूर्ण छ। र आफ्नो बच्चालाई बताउन लाज नमान्नुहोस्। मलाई यो प्रश्नको जवाफ थाहा छैन, तर म यसबारे हरेर एक छिन भन्छु भन्ने गर्नुहोस्।”
यसले गर्दा उनीहरूले ढुक्क महसुस गर्छन्। उनीहरूलाई सुरक्षा दिन्छ कि केही भइहाल्यो भने उनीहरूको आमा बुबा साथमा हुन्छन् र म उनीहरूलाई जे पनि सोध्न सक्छु भन्ने हुने फेड बताउँछिन्।
यदि तपाईँ वा तपाईँले चिनेको कोही व्यक्तिलाई घरेलु तथा पारिवारिक हिंसा सम्बन्धी सहायता चाहिएको छ भने 1800-RESPECT लाई १८०० ७३७ ७३२ मा वा लाइफलाइन मा १३ १११४ मा फोन गर्नुहोस् ।
कन्सेन्टको बारेमा बुझ्न तपाईँले https://www.consent.gov.au/ मा हेर्न सक्नु हुनेछ।
अस्ट्रेलिया सरकारसँगको सहकार्यमा।






