Key Points
- नलेखिएका कार्यस्थल नियमहरूले तपाईँको करिअर विकासमा प्रभाव पार्न सक्छ।
- यस्ता नियमहरू नबुझ्दा कार्यस्थलमा तपाईँले एक्लो महसुस गर्ने सम्भावना हुन्छ।
- तपाईँको कार्यस्थलमा कस्ता नियमहरू छन् र तिनले कसरी काम गर्छन् भन्ने थाहा नभए सोध्न नहिचकिचाउनुहोस्।
अस्ट्रेलियामा नयाँ काम पाएसँगै अर्को महत्त्वपूर्ण कुरा भनेको आफूले काम गर्ने कम्पनीका नबोलिएका र नलेखिएका नियमहरूका बारेमा बुझ्नु पनि हो।
रोबिन जोन्स यूटीएस बिजनेस स्कुलमा एकेडेमिक स्टाफिङतर्फकी असोसिएट डिन तथा असोसिएट प्रोफेसर हुन्। र उनी भन्छिन्,
"हामीसँग लिखित आचार संहिताहरू हुन्छन् जसले प्रायः हामीले व्यवहार गर्ने तरिकालाई नियन्त्रण गर्छ, चुनौतीपूर्ण त ती अलिखित नियमहरू हुन सक्छन् जसले कसैको करियरमा अगाडी बढ्नमा असर गर्न सक्छ।"
प्रोफेसर जोन्स के कुराहरूलाई ध्यान दिने भन्ने बारे बताउँछिन्।
जस्तै केही सामान्यतया याद राख्नुपर्ने कुराहरूमा आफ्नो कामको डेस्कमा बस्दा कोसँग कुराकानी गरिन्छ, व्यक्तिगत फोन कलहरूमा कुरा गरिन्छ गरिँदैन भन्ने रहेका छन्। साथै डेस्कमा खाना नखाने र कार्यस्थलमा आफ्ना व्यक्तिगत कुरा कत्तिको गर्ने भन्ने बारे पनि सचेत हुनु पर्ने जोन्सको भनाइ छ।
कार्यस्थल संस्कृतिको अर्को महत्त्वपूर्ण पाटो भनेको कस्तो लुगा लगाउने भन्ने पनि हो।
धेरै कार्यस्थलहरूले अनौपचारिक वा 'बिजनेस-क्याजुअल' लुगा लगाउनु पर्ने संहिता राखेका हुन्छन्, तर कार्यालयमा कस्तो लुगा लगाउने भन्ने कुरा उद्योग, कम्पनी, र विशेष प्रकारको कार्यस्थल भए त्यसको आधारमा भिन्न हुन सक्छ।
प्रोफेसर जोन्स भन्छिन् कि यी देखिने किसिमका दिशानिर्देशहरू भन्दा बाहेक कार्यालयमा अरूसँग कसरी सम्बन्ध राख्ने भन्ने बारे अस्पष्ट नियमहरू हुन्छन्।
कार्यस्थलमा मानिसहरूसँग कसरी सम्बन्ध स्थापित गर्ने वा नेटवर्क बढाउने भन्ने देखि कार्यस्थलभित्र हुने राजनीतिलाई कसरी सामना गर्ने लगायत यस्ता धेरै नलेखिएका नियमहरू समय बित्दै जाँदा र अन्य सहकर्मीहरूको व्यवहार हेरेर पनि थाहा पाउन सकिन्छ।

इमेल गर्ने तरिका
जोन्सका अनुसार इमेल मार्फत हुने सञ्चार सम्बन्धी नियम पनि महत्त्वपूर्ण रहेको छ।
जस्तै इमेल पठाउँदा इमोजीहरूको प्रयोग गर्ने कि नगर्ने भन्ने बारे कतै लेखिएको त हुँदैन तर यो अलि अनौपचारिक कुराकानीमा प्रयोग हुने भएकोले यसको प्रयोगको शिष्टाचार बारे बुझ्नु पर्छ।
क्रिस्टिन क्यास्ली मल्टिकल्चरल अस्ट्रेलियाकी प्रमुख कार्यकारी अधिकृत वा सीईओ हुन्।
क्वीन्सल्यान्डमा अवस्थित यस संस्थाले नव आप्रवासीहरूलाई सो राज्यमा बसोबास र नयाँ जीवन स्थापित गर्न सहयोग गर्छ।
उनी भन्छिन्, अस्ट्रेलियामा कामदारहरूको अधिकार र कल्याणको रक्षा गर्ने उद्देश्यले स्थापित कार्यस्थल कानून र नियमहरूको एक प्रणाली छ।
"अस्ट्रेलियाका कार्यस्थलहरू उच्च नियमन गरिएका छन्, सम्भवतः अन्य धेरै देशहरूको कार्यस्थानहरू भन्दा धेरै नियमहरूमा बाँधिएका छन्।"
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
निजात बसार एसबीएस टर्किसका कार्यकारी निर्माता हुन्।
उनले अस्ट्रेलिया आउनुभन्दा अगाडी टर्कियेमा २० वर्ष काम गरेको अनुभव बोकेका छन्।
टर्कियेको तुलनामा अस्ट्रेलियाका कार्यस्थलहरूमा धेरै नै नियमहरू भएको उनको भनाइ छ।
टर्कियेमा 'बुलिइङ' वा धम्कीपूर्ण व्यवहार सामान्य भए पनि अस्ट्रेलियामा यस्ता व्यवहारका साथै लैङ्गिक विभेद र एलजीबीटीआइक्यु विरोधी भनाइहरूलाई प्रस्टसँग परिभाषित गरिएको बसार बताउँछन्।
अस्ट्रेलियामा बुलिइङलाई निकै गम्भीर रूपमा लिइन्छ, र यस्ता व्यवहारलाई सम्बोधन गर्न रोकथामका लागि मापदण्डहरू पनि रहेका छन्।

बहुसांस्कृतिकता र शिष्टाचार
बसार भन्छन् सांस्कृतिक मान्यताको आधारमा आफ्नो असहमति प्रकट गर्ने तरिकामा फरक पर्छ। र अस्ट्रेलियामा कार्यस्थलमा त्यस्ता असहमतिहरू प्राय: सम्मानजनक तरिकाबाट र सिर्जनात्मक हिसाबले राखिन्छ।
त्यस्तै अस्ट्रेलियनहरूले हात मिलाउने, टाउको हलाउने र शाब्दिक अभिवादनहरूलाई कार्यालय संवादहरूमा बढी रुचाउँछन्।
सहकर्मीहरू बिच अलि बढी नै स्नेह र निकटता रहेको देखाउने जस्तै अङ्कमाल गर्ने, वा दुवै गालामा चुम्बन गर्ने लगायतका कार्यहरू कतिपय स्थानमा सामान्य भए पनि अस्ट्रेलियामा यो मिश्रित नै रहेको छ तर कतिपय एसियाली संस्कृतिमा यस्तो गरिँदैन।
र क्यास्ली पनि यस्ता कार्य नगर्नु नै उचित हुने भनाइ राख्छिन्।
अस्ट्रेलियन कार्यस्थलहरूमा समयमा काम गर्ने वा समयनिष्ठतालाई उच्च मूल्याङ्कन गरिन्छ। यसले अरूको समयको सम्मान गरेको देखाउँछ र व्यावसायिकतालाई पनि झल्काउँछ।
जोन्स तपाईँ कार्यस्थलमा कुन समयमा हुनु पर्छ वा तपाईँको अपेक्षित कार्यस्थल समय कुन हो भनेर बुझ्नुको महत्वबारे बताउँछिन्।
तपाईंको कामको कन्ट्रयाक्टमा ५:३० सम्म काम गर्ने भनेर लेखेको भए पनि यदि उक्त कार्यस्थलमा धेरै जना बेलुका ७ बजेसम्म बस्छन् भने, नियममा लेखिएको वा बताइएको नभए पनि तपाईँ पनि सो समयसम्म बस्नुहुन्छ भन्ने अपेक्षा गरिएको हुन्छ भनेर जोन्स बुझाउँछिन्।
सामाजिकीकरण र 'टीम'मा जोडिने तरिका
कफी वा खाजाको लागि लिइने छोटो 'ब्रेक' वा 'मर्निङ टी' पनि भनिने यो अभ्यासलाई अस्ट्रेलियाका कार्यस्थलहरूमा सामाजिक घुलमिल र टीमलाई एकजुट हुने अवसरका रूपमा हेरिन्छ।
यद्यपि, केही आप्रवासी कामदारहरू यो अभ्याससँग अभ्यस्त नहुन सक्छन् र यसलाई अनैतिक र समयको बर्बादीको रूपमा हेर्न सक्छन्।
यस्तै अनुभव क्यास्लीले नयाँ काममा सहयोग गरेको एक आप्रवासीको पनि रहेको थियो।
"उनले भनिन्, 'सबैले मलाई कफी पिउन जाऊँ भनिरहन्छन्, अनि म कफी पिउँदिन, त्यही भएर मैले थाहा पाउनै सकिन किन सबैले यही सोधी रहन्छन्।' कफीको लागि जाऊँ भन्नुको अर्थ भेट गरौँ र कुराकानी गरौँ भन्ने हो।"
उनि थप्छिन् कहिलेकाहीँ नलेखेका नियमहरू नबुझ्दा कार्यस्थलमा व्यक्ति एक्लिने सम्भावना हुन्छ।
त्यसैले कम्पनीहरूले पनि यस्ता प्रक्रियालाई सहजीकरण गराउनु महत्त्वपूर्ण हुन्छ, ताकी कामदारहरूले आफ्नो नयाँ काममा आफूलाई सिकाउने व्यक्तिलाई प्रश्न सोधेर परिवर्तनको सो समयमा सहज महसुस गरुन्।
क्यास्लीको सुझाव छ कि आप्रवासी कामदारले पनि आफ्नो कार्यस्थल संस्कृतिबारे बुझ्न इच्छा देखाउने र रोजगार दाताबाट समर्थन खोज्नु पर्छ।

सम्बन्धित सामाग्री

अस्ट्रेलिया बुझ्नुहोस्: कसरी खोज्ने अस्ट्रेलियामा काम?
तपाईंका केही प्रश्न वा विषय वस्तु छनौटलाई लिएर कुनै सोच छन् ? हामीलाई australiaexplained@sbs.com.au
मा इमेल पठाउनु होस्।







