भिक्टोरियाको सामुदायिक स्वयंसेवी संस्था 'माइन्डफुल मित्र'ले मानिसहरूलाई आफ्ना अनुभवहरू बाँड्ने, सिक्ने र त्यसबाट विकास गर्ने सुरक्षित वातावरण प्रदान गर्दै आइरहेको छ। उक्त संस्थाकी प्रेरणा मल्ल लगायत अन्य सदस्यहरूसँग शिखा बस्नेत खड्काले गरेको कुराकानी सुन्नुहोस्।
'यो सोच मलाई खासमा नुहाउँदा-नुहाउँदै आएको थियो - त्यो पनि राति १२ बजे," माइन्डफुल मित्र नामक मेलबर्नमा एक सामुदायिक संस्था खोलेकी प्ररेणा मल्ल "काका"ले भनिन्।
विचारशीलता, सकारात्मकता र वृद्धि तीन मुख्य मान्यता माथि आधारित हुँदै आफूले उक्त संस्था स्थापना गरेको उनले एसबीएस नेपालीलाई बताइन्।
करिब ८ वर्ष अघि अन्तराष्ट्रिय विद्यार्थीको रूपमा अस्ट्रेलिया आएकी मल्ल जीवनमा विचारशीलता अर्थात् माइन्डफुलनेसको सोच चाहिँ अस्ट्रेलिया आए पछि सुरू भएको अनुभव सुनाउँछिन्।
"मैले गएर कोही गुरुलाई फलो गरेको पनि होइन," उनले भनिन्।
'म पहिलेदेखि नै अलिकति सकारात्मक अनि विकासमा ध्यान दिने मान्छे थिएँ, अनि माइन्डफुलनेसको बारेमा थाहा पाए पछि त्यसका केही कुराहरू आफ्नो दैनिकीमा लागु गर्न थालेँ र मेरो जिन्दगी निकै परिवर्तन भयो।'
उनका अनुसार आफूलाई थाहा भएको कुरा अरूलाई पनि सिकाउन सक्छु भन्ने सोचनै माइन्डफुल मित्र हो।
मल्ल भन्छिन् कि माइन्डफुल मित्रले विशेषत: कार्यशालाहरू आयोजना गर्ने गरेको छ जहाँ व्यक्तिगतदेखि व्यावसायिक विषयहरूमा छलफल हुन्छ।
"उदाहरणको लागि जीवनमा कसरी सकारात्मक धारणा राख्ने, मानसिक स्वास्थ्य, योगा, आफ्नो पैसा कसरी मिलाएर प्रयोग गर्ने, काम खोज्दा रेज्युमे कसरी बनाउने, इमेल कसरी लेख्ने, आदि।"
आफ्नो शारीरिक/मानसिक; सम्पूर्ण अवस्थाको बारेमा सचेत भएर आफ्ना आवश्यकताहरू पूरा गर्दै, जीवनलाई सकारात्मकताको बाटोमा डोराउन सके जीवनका धेरै कुराहरू सजिलो हुने प्रेरणा मल्लको भनाई छ।
सन् २०२१ मा स्थापना भए पछि यस संस्थाले एक वर्षको अवधिमा विभिन्न विषयमा कुल ११ वटा अनलाइन कार्यशालाहरू सफलतापूर्वक आयोजना गरिसकेको पनि उनले एसबीएस नेपालीलाई बताइन्।
मल्ल र संस्थाका अन्य सदस्यको अनुभव यहाँ सुन्नुहोस्: आफूलाई थाहा भएको कुरा अरूलाई पनि सिकाउन सक्छु भन्ने सोच राख्ने मेलबर्नका यी नेपाली महिला हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।

यी कार्यशालाहरूमा मानिसहरू अस्ट्रेलियाबाट मात्र नभई नेपाल, अमेरिका, क्यानडाबाट आउने गरेका छन्।
मेलबर्नकी निभा बज्राचार्य भन्छिन् कि अस्ट्रेलियामा रहेकालाई मात्र नभई नेपालबाट यहाँ आउने योजना बनाइरहेका विद्यार्थीहरूलाई उक्त संस्थाका कार्यक्रमहरूले धेरै मद्दत पुर्याउँछ।
"म सुरुमा अस्ट्रेलिया आउँदा सोचेकोभन्दा धेरै फरक थियो,” उनले भनिन्।
"काम कसरी खोज्ने भनेर सिकाउने कोही थिएन अनि हस्पिटालिटी र रिटेलमा काम गर्ने भन्ने मात्र थाहा थियो। आफ्नो पढाइको क्षेत्रमा काम गर्न मिल्छ भनेर धेरैलाई थाहा हुँदैन।"
माइन्डफुल मित्रले सकारात्मकताको बाटो सिकाउनुका साथै आफ्ना सीपहरू निखार्न मद्दत गरेको पनि उनी बताउँछिन्।
यसैगरी पढाइको लागि अस्ट्रेलिया आउने योजना रहेको नेपालकी अनिश्का श्रेष्ठ भने अस्ट्रेलियाको जीवनको वास्तविकता झनै राम्ररी थाहा पाउन माइन्डफुल मित्रका कार्यक्रमले सहयोग गरेको बताउँछिन्।
यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - लाइफलाइन (Lifeline) १३ ११ १४, सुसाइड कल ब्याक सर्भिस (Suicide Call Back Service) १३०० ६५९ ४६७ र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि किड्स हेल्पलाइन (Kids Helpline) १८०० ५५ १८००
थप जानकारीका लागि बियन्ड ब्लु (BeyondBlue.org.au) लाई पनि सम्पर्क गर्न सक्नुहुनेछ भने इम्ब्रेस मल्टिकल्चरल मेन्टल हेल्थ Embrace Multicultural Mental Health ले पनि सांस्कृतिक र भाषिक रूपमा विविध पृष्ठभूमिका मानिसहरूलाई समर्थन प्रदान गर्दछ।




![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)