Tax Returns
Tax Returns
This article is more than 2 years old

अस्ट्रेलियामा ट्याक्स रिटर्न: मार्च १ देखि लागू परिवर्तन र तपाईँले बुझ्नैपर्ने कुराहरू

कोभिड-१९ सँग सम्बन्धि थुप्रै प्रतिबन्धहरू लगायत लकडाउन हटे पनि अस्ट्रेलियालीहरूले घरैबाट काम गर्न रोकेका छैनन्। उता कर कार्यालयले भने मार्च १ देखि लागू हुने गरी केही नियमहरूमा हेरफेर गरेको छ।

Published

Updated

By Sahil Makkar
Presented by Dinita Rishal
Source: SBS
Image: Tax Return (Photo: Nataliya Vaitkevich)
मुख्य विषयहरू:
  • अबदेखि घरबाट काम गर्दा प्रति घण्टाको ६७ सेन्ट करमा दाबी गर्न मिल्ने छ
  • सन् २०२३ मार्च १ देखि करदाताहरूले घरबाट काम गरेमा त्यसको विवरण टाइमशीट, रोस्टर या लगहरूमा अनिवार्य रेकर्ड गर्नु पर्ने
  • अस्ट्रेलियाली कर कार्यालयले घरबाट कति घण्टा काम गरेको भन्ने अनुमान या चार-हप्ते डायरी स्वीकार नगर्ने 

अस्ट्रेलियामा करदाताहरूले घरबाट काम ‘वर्क फ्रम होम’ गर्दा हुने खर्चहरूलाई आफ्नो ‘ट्याक्स रिटर्न’ गर्दा ‘क्लेम’ गर्न सक्छन्।

ट्याक्स रिटर्नका बेला ‘डिडक्सन्स’ शिर्षक अन्तर्गत कामका लागि भएका खर्चको केही हिस्सा आफूले तिरेको करबाट फिर्ता लिन मिल्ने व्यवस्था अस्ट्रेलियाली करदाताहरूलाई उपलब्ध छ।

यसरी फिर्ता हुने रकम चाहिँ "वास्तविक खर्च" अनुसार या "निश्चित दर" प्रणाली अनुसार दाबी गर्न सकिने प्रावधान छ।

तर, मार्च १ देखि भने अस्ट्रेलियाली कर कार्यालय (एटीओ)ले निश्चित दरको विधिमा केही परिमार्जनहरू भएको बताएको छ।

योग्यता

Tim_Loh.jpg
Assistant Commissioner Tim Loh. Credit: ATO/lightbulb studio

करदाताहरूले घरबाट काम गर्दाका खर्च दाबी गर्नु अघि, आफू त्यसको लागि योग्य छु कि छैन भनेर बुझ्न जरुरी रहेको एटीओका सहायक आयुक्त टिम लो बताउँछन्।

उनका अनुसार घरबाट काम गरेको भनेर केही दाबी गर्दा केही विशेष प्रकियाहरू पुरा गरिएको हुनुपर्छ।

वर्क फर्म होम खर्चलाई दाबी गर्नका लागि तपाईँले घरबाट रोजगारीका कर्तव्यहरू घरबाट पूर्ण रूपमा गरेको हुनु पर्छ - समय समयमा इमेल हेर्ने र फोन कल गर्ने जस्ता साना कामहरू मात्र होइन।
सहायक आयुक्त टिम लो

बिजुली या ग्याँस (ऊर्जा खर्च), इन्टरनेट, डाटा, मोबाइल फोन र घरको फोन, स्टेसनरी र कार्यालय प्रयोजनका लागि प्रयोग हुने अन्य सामाग्रीहरू वर्क फ्रम होमका बेलाका भएका खर्चहरू भनेर क्लेम गर्न मिल्ने पनि उनको भनाई छ।

"दाबी गर्न मिल्ने अरू खर्चमा चाहिँ काम गर्दा प्रयोग हुने मेच, टेबल, कम्प्युटर, ल्यापटप, सफ्टवेयर आदिको मूल्यह्रास हुनु र तिनको मर्मत खर्च पनि पर्दछन्," एटीओले एसबीएसलाई बताएको छ।

यसै गरी कर्मचारीहरूले आफ्ना सबै अतिरिक्त खर्चहरूको रेकर्ड राखेको हुनु पर्ने पनि कर कार्यालयको भनाई छ।

कफी, चिया, घरका सामाग्री, बालबाच्चाको आइप्याड, टेबल, अनलाइन शिक्षा को सब्सकृप्सन र रोजगारदाताहरूले प्रदान गरेका सामाग्रीहरूको खर्च भने दाबीमा समावेश गर्न पाईँदैन।

मार्च १ देखि भएका परिवर्तनहरू

निश्चित दर प्रणालीमा गरिएको बद्लाव अनुसार अबदेखि करदाताहरूले घरबाट काम गरेको प्रति घण्टाको लागि ६७ सेन्ट दाबी गर्न पाउने छन्।

पहिले यो रकम ५२ सेन्ट थियो।

यस नयाँ नियम अनुसार कर्मचारीहरूले घरबाट काम गर्दा घर भित्र छुट्टै अफिस स्थान बनाउनु नपर्ने अकाउन्टेन्ट नयन पटेलले जानकारी दिए।

"यस ६७ सेन्टको नयाँ दरले बिजुली, ग्यास, फोन, इन्टरनेट, स्टेसनरी र कम्प्युटर सम्बन्धी सामानका अतिरिक्त खर्चहरू समेट्छन्," पटेलले बताए।

तर सामान्यतया धेरै पैसा दाबी गर्न मिल्ने सामान, जस्तै प्राविधिक वस्तु या अफिस फर्निचरहरू भने यसमा समावेश हुँदैनन्; तिनलाई छुट्टै दाबी गर्नु पर्छ।
नयन पटेल, अकाउन्टेन्ट

करदाताहरूले नयाँ परिवर्तन अनुरुपको रकम दाबी आर्थिक वर्ष २०२२-२३ को ट्याक्स रिटर्नमा दाबी गर्न पाउने छन्।

रेकर्ड राख्नु पर्ने

एटीओले मानिसहरूले कति घरबाट काम गरेको भनी देखाउन अनुमान, चार-हप्ते डायरी या त्यस्ता कागजात देखाएर नहुने बताएको छ।

मार्च १ देखि लागु भएको यो नियामानुसार कर्मचारीहरूले आफू घरबाट कति घण्टा काम गरेको भनी टाइमशीट, रोस्टर, टाइम लग आदिमा या पूरा वर्षको समय देखाउने डायरीमा ती विवरण प्रस्तुत गर्नु पर्ने हुन्छ।

सन् २०२२-२३ को ट्याक्स रिटर्नका लागि यस आर्थिक वर्षको विवरण नराखेका कर्मचारीहरूको केही योजना तयार पारिने लोले बताए।

२०२२ को जुलाई १ देखि २०२३ को फेब्रुअरी २८ सम्मको लागि भने तपाईँले घरबाट काम गर्नु भएको कूल घण्टा देखाउन चार-हप्ते डायरी जस्तो लगतबाट देखाउन मिल्छ।
टिम लो, सहायक आयुक्त, एटीओ

वास्तविक खर्चको विधि

वास्तविक खर्चको विधिमा भने कुनै परिवर्तन नभएको एटीओले बताएको छ।

यो विधि प्रयोग गर्न कर्मचारीहरूले घरबाट काम गर्दा भएका सबै सम्बन्धित खर्चहरूको वास्तविक रेकर्ड राखेको हुनु पर्छ।

रेकर्डहरूमा उक्त आर्थिक वर्षमा घरबाट कति घण्टा काम गरेको भनी विवरण देखाउने रसिद, बिल, कागजात पर्न सक्छन् (वास्तविक घण्टा, या एक डायरी, या चार-हप्ते समयमा कति घण्टा काम गरेको भनी ढाँचा देखाउने कागजात)।

यसै गरी कर्मचारीहरूले आफ्ना सामान्य खर्चबाट काम सम्बन्धित खर्चहरू कसरी छुटाएको भनेर देखाउनु पर्छ।

रोजगारदाताले तिरिसकेको या फिर्ता दिइसकेको खर्चलाई भने कर्मचारीहरूले दाबी गर्न मिल्दैन।

त्यस्तै, कर्मचारीहरूले ३०० डलर भन्दा बढी मूल्यको कुनै सामाग्रीका लागि पूर्ण रकम एकै पटकमा दाबी गर्न नमिल्ने एटीओले बताएको छ।

यो दुवै वास्तविक खर्च, र निश्चित दरको विधिमा - केही वर्षको अवधिमा मूल्यह्रासको रूपमा दाबी गरिनु पर्ने एटीओको भनाइ छ।

एसबीएस अस्ट्रेलियाका बहुसांस्कृतिक र बहु भाषिक समुदायहरूलाई सबै कोभिड-१९ अद्यावधिक जानकारी उपलब्ध गराउन प्रतिबद्ध छ। सुरक्षित रहनुहोस्, र आफ्नो भाषामा पछिल्लो समाचारका लागि एसबीएसको कोरोनाभाइरस पोर्टल हर्नुहोस्।


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now