अस्ट्रेलियामा घरेलु र पारिवारिक हिंसामा परि जुलाई महिनाको सुरुवातमा करिब आठ दिनमा पाँच महिलाले ज्यान गुमाएका थिए। न्यु साउथ वेल्स प्रहरीले घरेलु हिंसा सम्बन्धी घटनाहरूमा संलग्न रहेको आरोपमा जुलाई १२ देखि १५ को चार दिने अवधिमा करिब ६०० जनालाई पक्राउ गरेको थियो। महिला विरुद्धको हिंसाका घटनाहरूमा कमी ल्याउन के गर्न सकिन्छ त?
महिला माथि भएका हिंसाका हिसाबले अस्ट्रेलियाको लागि यस जुलाई महिना निकै डरलाग्यो रहन पुग्यो।
जुलाई १६ सम्मका आठ दिनमा पारिवारिक हिंसामा परि पाँच महिलाले ज्यान गुमाएका थिए।
ती सबैको मृत्युमा उनीहरूका आफ्नै पार्टनर संलग्न रहेको आरोप छ।

सन् २०२३ को कुरा गर्ने हो भने, सालको मध्यसम्म आइपुग्दा, घरेलु एवम् पारिवारिक हिंसामा परि देश भर ३२ जना महिलाको ज्यान गइसकेको छ।
यसलाई रोकथाम गर्न न्यु साउथ वेल्स प्रहरीले चलाएको 'एमरक' नामको अपरेसनका दौरान हिंसामा संलग्न मानिएका ५९२ जना पक्राउ परेका थिए।
पक्राउ परेका मध्ये १३९ जना गम्भीर किसिमका घरेलु हिंसाका आरोपितहरू रहेको न्यु साउथ प्रहरीका डेप्युटी कमिस्नर म्याल ल्यानयनले बताएका हुन्।
“वास्तवमा घरेलु वा पारिवारिक हिंसामा उत्रने मानिसहरू डरपोक हुन्, उनीहरू प्रहरीबाट बच्नका लागि जे पनि गर्छन्, त्यसैले पनि अपरेसन एमरकले उनीहरूलाई पत्ता लगाउन आफ्नो ध्यान केन्द्रित गरेको हो,” उनले बताए।
प्रहरी कारवाहीका क्रममा हात हतियार, बन्दुक र लागु औषध पनि बरामद भएको थिए भने, पक्राउ परेकाहरू माथि एक हजारभन्दा बढी आरोपहरू लागेका थिए।
उजुरी नपरेसम्म घरेलु हिंसाका बारेमा प्रहरीले चाल नपाउने भएका कारण, यस्ता घटनाहरूका बारेमा रिपोर्ट गरिनु पर्ने डेप्युटी कमिस्नर ल्यानयनको भनाइ छ।
प्रहरीले अपरेसन एमरक चलाएको यो तेस्रो पटक हो। कतिपय अपराधीहरू जेलबाट छुटे पछि पुनः यस्तै अपराधमा संलग्न हुने गरेका छन्।
उदाहरणको लागि, गत ज्यानुअरीमा पक्राउ परेका एक व्यक्ति, जेलबाट छुुटेर, कथित रूपमा फेरि घरेलु हिंसामा संलग्न भएका छन्।
यस बाहेक घरेलु हिंसाका करिब आधा जसो केसहरूमा, डोमेस्टिक भायलेन्स अर्डर (डीभीओ) भनिने आदेशहरूको पालना नगरिएको पाइन्छ।
त्यसैले पनि न्यु साउथ वेल्स राज्यले अब यस्ता घटनाहरूमा कडा दण्ड दिने विचार गर्दै छ, जस अन्तर्गत पाँच वर्षसम्म जेल सजाय दिइन सक्ने बारेमा छलफल भइरहेको छ।
फुल स्टप अस्ट्रेलिया नामक संस्थाकी टारा हन्टर, कडा कानून लागु भएमा धेरैको जीवन जोगिने बताउँछिन्।
“यस वर्ष हत्याका घटनाहरू बढेको हामीले पाएका छौँ, सधैँ चलिरहने छलफल र परामर्श भन्दा पनि, स्रोतहरूको व्यवस्थापनमा हामी तुरुन्त लाग्नु पर्छ, हामीले जवाफदेही न्याय पनि खोज्नुपर्छ” उनले पछिल्लो समय भएका गिरफ्तारीहरूलाई लिएर बताइन्।
अस्ट्रेलियाभरको तथ्याङ्क हेर्ने हो भने, दैनिक सरदर १० जना महिलाहरू आफ्ना पार्टनरबाट हुने हिंसाका कारण अस्पताल भर्ना हुने गरेका छन्।
सरकारले पनि वार्षिक करिब २६ अर्ब डलर, यसमा खर्च गरिरहेको छ।
प्रहरीको ६० प्रतिशत कार्यभार घरेलु वा पारिवारिक हिंसामा केन्द्रित हुने गरेको बताइन्छ।

महिलाहरू हिंसामा पर्ने दर पुरुषको भन्दा तीन गुणा बढी रहेको अस्ट्रेलियन ब्युरो अफ स्टाटिसटिक्स(एबीएस)ले जनाएको छ।
प्रत्येक तीन मध्ये एक महिलाले आफ्नो जीवनकालमा कुनै न कुनै किसिमको शारीरिक हिंसा भोग्नु परेको तथ्याङ्कले देखाउँछ।
यसै गरी प्रत्येक पाँच मध्ये एक महिला यौन हिंसाको सिकार बन्न पुगेको तथ्याङ्क छ।
हन्टर भन्छिन् कि अपराधी हामीले सोचेको भन्दा नजिकका व्यक्ति हुन सक्छन्।
“समुदायमा हामीले गर्ने सर्वेक्षणहरूमा मानिसहरूले पारिवारिक र घरेलु हिंसालाई समस्याका रूपमा लिएको त पाउँछौ तर उनीहरू आफ्नो छिमेकमा वा काम गर्ने स्थानमा हिंसा हुने गरेको स्विकार्दैनन्,” हन्टर भन्छिन्।
“तर प्रत्येक चार मध्ये एक महिला १५ वर्षको उमेरदेखि नै कुनै न कुनै हिंसामा पर्ने गरेका छन्, र त्यो हाम्रै छिमेकमा वा काममै हुने गरेको छ, हामीलाई थाहा छ। हामीलाई स्पष्ट शिक्षाको खाँचो छ।"





