नेपालका लागि अस्ट्रेलियाली राजदूत फेलीसिटी भोल्कले नेपालको दुर्गम मुगु जिल्लामा रहेको रारा तालको भ्रमण गरेर जलवायु परिवर्तनका विरुद्धमा अस्ट्रेलियाले नेपाललाई सहयोग गरिरहने सन्देश दिएकी छिन्। काठमाण्डूबाट सेवा भट्टराईको रिपोर्ट।
यस हप्ता भोल्कसँगै अमेरिकी राजदूत र्यान्डी बेरी र ब्रिटिस राजदूत निकोला पोलीट नेपालमा जलवायु परिवर्तनको असरको अध्ययन गर्ने क्रममा निजी भ्रमणमा रारा पुगेका हुन्।
समुद्री सतह भन्दा ३००० मिटर माथि रहेको रारा ताल नेपालको सबैभन्दा ठुलो ताल हो।
दुर्गम मुगु जिल्लामा रहेको रारा ताल पुग्न तीन जना राजदूतहरू ताल्चा विमानस्थलबाट हिँडेका थिए।

रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
त्यहाँ पुगेर उनीहरूले जलवायु परिवर्तनको असरको अध्ययन गर्नुका साथै स्थानीयवासीहरूसँग कुराकानी पनि गरेका छन्।
त्यहाँ उनीहरूले वन्यजन्तु चोरी शिकारी विरुद्धका स्थानीय प्रयासका बारेमा बुझेको भोल्कले ट्विटरमा लेखेकी छिन्।
यसका साथै ब्रिटिस राजदूत पोलीट र भोल्कले मिलेर रारा राष्ट्रिय निकुञ्जलाई केही सोलार प्यानलहरू पनि दिएका छन्।

एउटा भिडियो सन्देशमा भोल्कले नेपालमा जलवायु परिवर्तनलाई सम्बोधन गर्न सन् १९६० को दशक देखि अस्ट्रेलियाले काम गरिरहेको बताएकी छिन्।
अस्ट्रेलियाले नेपालमा सामुदायिक वन सम्बन्धी परियोजना सुरु गर्नुका साथै नदी व्यवस्थापन र निर्माण क्षेत्रमा वातावरण मैत्री प्रविधिको विकासमा पनि काम गरिरहेको छ। भविष्यमा पनि यस्ता काम जारी राख्ने प्रतिबद्धता व्यक्त गर्दै भोल्क भन्छिन्, "म राराको करिब ३८०० मिटर उचाइ भएको मुर्मा भन्ने ठाउँमा छु। म यहाँको स्वच्छ वातावरणमा आनन्दित छु, र यस्ता ठाउँहरू कति नाजुक छन् भन्ने कुरा बोध गरिरहेकी छु।"
"हामी नेपालमा भएका साझेदारहरूसँग नजिकबाट काम गरेर यस्ता सुन्दर स्थानहरूलाई सुरक्षित राख्न सहयोग गर्न चाहन्छौँ।"
जलवायु परिवर्तनलाई सम्बोधन गर्न बनेको अन्तर्राष्ट्रिय संयन्त्र कोप२६ सकिने बेलामा भोल्कले यस्तो सन्देश दिएकी हुन्।
जलवायु परिवर्तनले हिमालय क्षेत्रलाई अन्यत्र भन्दा बढी असर पारिरहेको कोप२६ मा चर्चा भएको छ।
तर नेपालले चाहे अनुरूप सम्मेलनमा हिमाली क्षेत्रमा मुद्दा प्राथमिकताका साथ उठ्न भने सकेनन्।
अस्ट्रेलिया लगायत विभिन्न विदेशी मुलुकले भने नेपाललाई जलवायु परिवर्तनसँग अनुकूलन गर्नमा सहयोग गरिरहेका छन्।
भोल्कले प्रकृतिका अगाडि मानव निर्मित सिमानाको कुनै अर्थ नरहेको र जलवायु परिवर्तनको सामना गर्न सिङ्गो पृथ्वी नै एक हुनुपर्ने बताएकी छिन्।


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

