अस्ट्रेलिया बुझ्नुहोस्: ‘बार्बिक्यू' वा ‘फर्मल पार्टी’मा जाँदै हुनुहुन्छ?

Family and friends enjoying a barbecue

House parties are often held in the backyard when the weather allows. Source: Moment RF / Sal Alas/Getty Images

अस्ट्रेलियनहरू आफ्नो ‘लेड ब्याक’ संस्कृतिको लागि जानिने भए पनि, प्रत्येक अस्ट्रेलियन भोज र भेलाको आफ्नै नियम र अपेक्षाहरू हुन्छन्।


मुख्य बुँदाहरू:
  • व्यापार पार्टीहरूका लागि कडा नियमहरू भए जस्तै अनौपचारिक जमघटहरूको पनि बेग्लै शिष्टाचार र अपेक्षाहरू हुन्छन्।
  • अस्ट्रेलियामा कसैको घर जाँदा सानो उपहार ल्याउने चलन छ तर अनावश्यक खर्च गर्नुको सट्टा आयोजकप्रतिको विचारशीलतालाई जोड दिइन्छ।
  • तपाईँलाई कुनै एलर्जी छ वा यदि केही अनुरोधहरू छन्, जस्तै शाकाहारी, ग्लुटेन- खाना खानु हुन्छ भने  आरएसभीपीद्वारा आयोजकलाई थाहा दिन सकिन्छ।

अस्ट्रेलियामा उत्सव मनाउने अवसरहरूको कुनै कमी छैन। चाहे त्यो व्यावसायिक कार्यक्रम होस्, बच्चाहरूको पार्टी होस्, बार्बिक्यू होस् वा साथीहरू बिचको भोज होस्, हामीमध्ये धेरैले प्रत्येक वर्ष कम्तीमा एउटा भोजमा भाग लिन्छौ नै।

विशेष अवसरको लागि कसैको घर जानु सबै संस्कृतिहरूमा सामान्य कुरा हो। त्यसै गरी अस्ट्रेलियामा चाहिँ, बार्बिक्यू जमघट, जसलाई 'बार्बी' पनि भनिन्छ, सबैभन्दा प्रचलित र लोकप्रिय रहेको छ।

Australia Explained - Party Etiquette
When attending a business event, Ms Hardy advises against overstaying your welcome or keep partying till the early morning. Credit: xavierarnau/Getty Images

जारिफ हार्डी, अस्ट्रेलियन स्कुल अफ एटिकेटकी निर्देशक हुन् र उनी भन्छिन् कि सन् १९८० तथा ९० का दशकमा जस्तो औपचारिक ‘डिनर पार्टी’ अहिले देख्न छोडिएको छ।

"मलाई लाग्छ कि यहाँ मनोरञ्जनको लागि (बार्बिक्यू) पहिलो रोजाइमा पर्छ। । यो धेरै नै अनौपचारिक हुन्छ। खासमा हामी अस्ट्रेलियामा 80 र 90 को दशकमा जस्तो औपचारिक डिनर पार्टीहरू अब खासै देख्दैनौँ।”

कडा नियमहरू भएका औपचारिक भोजहरू अब चल्तीमा नरहे पनि, अतिथिहरूलाई घर बोलाउँदा शिष्टाचारले अझै पनि महत्त्वपूर्ण भूमिका खेल्छ।

चाहे घर पछाडिको डेकमा बार्बिक्यू होस्ट गर्दै हुनुहुन्छ वा साथीभाइलाई अनौपचारिक डिनरको लागि बोलाउँदै हुनुहुन्छ, एक राम्रो होस्ट बन्नको लागि धेरै तयारी गर्नु पर्ने हार्डीको भनाई छ। र पाहुनाहरू पार्टीमा आइपुग्दा उनीहरूसँग समय बिताउन उनी सुझाव दिन्छिन्।

ड्रिङ्कसहरू पहिलै तयार हुनुपर्छ, सबैलाई स्वागत गर्नुहोस्, मानिसहरूलाई एक अर्कासँग परिचय गराउनुहोस्, कुराकानीमा सहभागी हुनुहोस् , जसले गर्दा बोलाइएका जो कोहीलाई धेरै सहज महसुस होस्।
जारिफ हार्डी, निर्देशक, अस्ट्रेलियन स्कुल अफ एटिकेट

हार्डीको अर्को सुझाव चाहिँ कसैको घरमा जाँदै हुनुहुन्छ भने सकेसम्म खाली हात नजाने पनि रहेको छ।

यसमा क्यानबेरामा विगत ६ वर्ष देखी बस्दै आएका दिपेश पोखरेलले पनि सहमति जनाए।

“पार्टीको थिम हेरेर हुन्छ, बच्चाहरूको जन्मदिनमा जाँदै हुनुहुन्छ भने पनि एज रिलेटेड गिफ्ट लिएर जाँदा राम्रो हुन्छ। अनि एडल्टको पार्टी अथवा एनिभर्सरी छ भने पनि त्यही अनुसारको गिफ्टहरू लग्नु पर्छ। यदि अस्ट्रेलियनहरूकोमा प्राय भोजमा बोलायो भने त्यस्तोमा वाइन लिएर जाने। नेपाली परिवारहरूका जाँदा पनि वाइन बोकेर जाने, हाम्रो नेपाल देखि कै चलन हो, खालि हात कसैकोमा जानु हुँदैन भनेर। त्यही कुरा हामीले यता क्यारी फवार्ड गर्नु पर्छ।”

Australia Explained - Party Etiquette
If there is leftover food that remains intact at the end of a house party, you might be offered to take some home in a container. But leave it up to the host to suggest this. Source: Moment RF / Sergey Mironov/Getty Images

अतिथिको रूपमा कतै जाँदा ध्यानमा राख्नु पर्ने अन्य सामान्य कुराहरूमा ढिलो नआउनु, ड्रेस कोड लागू हुन्छ कि हुँदैन भनेर जाँच्नु र होस्टलाई सकेसम्म सहयोग गर्नु समावेश छ।

“कति पार्टीहरूमा थिम भन्दिएको हुन्छ, त्यस्तोमा थिम अनुसारको लुगा लगाउने पर्‍यो। कतिमा चाही थिम भनेको हुँदैन तर अवसर अनुसार कै लुगा लगाउनु पर्ने हुन्छ, एनिभर्सरीहरूमा जाँदै हुनु हुन्छ भने फर्मल कपडा। यत्तिकै बेलुका दुई-चार जना साथी बोलाएर गफ गरेर यसो बार्बिक्यू गर्ने हो भने क्याजुअल भए पनि भयो। भोज अनुसार कै पहिरन हुनुपर्छ," पोखरेल भन्छन्।

उनले अस्ट्रेलियन भोज गर्ने तरिकासँग जोडिएको शब्दावली सुरुबाट सिक्नुपरेको सम्झिए । यसमा आफू उपस्थित हुन सक्ने हो कि होइन भन्ने थाहा दिन प्रयोग हुने ‘आरएसभीपी’ जस्ता शब्दहरू पर्छन्, जुन उनको विचारमा सबैभन्दा धेरै महत्त्वपूर्ण हुन्छ।

भेन्यु, डेट, कता हुन्छ, के हुन्छ भन्ने कुराको जानकारी कमसेकम दुईदेखि चार हप्ता अगाडी भनिदिनु पर्ने हुन्छ किनभने अस्ट्रेलियामा दुई दिनको मात्र जानकारीले भोजमा पुग्न सकिँदैन। कसैको काम हुन सक्छ र कतिको महत्त्वपूर्ण भोज हो त्यस अनुसारको बिदा पनि निकाल्नु पर्ने हुन्छ।
दिपेश पोखरेल

कृपया प्रतिक्रिया दिनुहोला भन्ने अर्थ बोकेको आरएसभीपी गर्दा आयोजकहरूलाई कार्यक्रम आयोजना गर्न मद्दत पुग्ने भनाई राख्छन् सन् २०१३ देखि मेलबर्नमा इभेन्ट आयोजना गर्ने काम गर्दै आएका, राजु शाक्य।

“आरएसभीपी गर्दा अरू जानकारी पनि दिनु पर्ने हुन्छ, जस्तै आउने भए कति जना आउने हो? अब कुनै कुनै भोजहरूमा बच्चाहरू अलाउड हुँदैनन्, जस्तै फर्मल वेडिङ रिसेप्सनहरू, त्यस्तो खालको नियमहरू अथवा रिक्वेस्ट राखिएको हुन्छ कहिलेकाहीँ," शाक्यले बताए।

"त्यसैले आरएसभीपी गर्दा कति जना आउने अनि केही डाएटरी रेस्ट्रिक्सनस छ भने त्यो पनि खुलाउनु पर्छ किनभने कोही मासु नखाने होला, कोही भेजिटेरियन होला, कसैको पर्टिकुलर एलर्जी होला, ग्लुटन फ्री अर्थात् मैदाहरू नखाने होला। त्यस किसिमको डिटेल्स लिएर त्यही अनुसारको खाना म्यानेज गर्नुपर्ने हुन्छ।”

बच्चाहरूका लागि पार्टी

होस्टले पार्टीको सम्झनाको रूपमा पाहुनाहरूसँग घरमा लैजान सक्ने साना उपहारहरू र 'पार्टी ब्याग' तयार गर्नु पनि सामान्य भएको शाक्यले बताए।

आउने गेस्टहरूलाई थ्याङ्क यु स्वरूप एउटा सानो गिफ्ट, सिम्बोलिक गिफ्ट भनौँ न, दिने चलन पनि छ। गिफ्ट ब्यागहरू धेर जस्तो बच्चाहरूलाई दिइन्छ, ललिज र ड्रइङ बोर्डहरूको साथमा। अरू फर्मल भोज जस्तै बिहेहरूमा बोम्बोनियर अर्थात् सानो कस्टमाइज्ड क्यान्डल, पेन जस्ता गिफ्टहरू पनि दिने गर्छन्।
राजु शाक्य, कार्यक्रम आयोजक

अस्ट्रेलियन स्कुल अफ एटिकेटकी हार्डीले महँगो उपहारहरू ल्याउन र दिन नपर्ने सल्लाह दिन्छिन्।

"मलाई लाग्छ कि यो उपहार खोल्दा मिल्ने खुसीका लागि हो। तर धेरै मूल्यका उपहारहरू खरिद गरेर धन देखाउनु वा केही प्रमाणित गर्न आवश्यक छैन। हामी कहिल्यै यस्तो गर्दैनौँ र अरू मानिसहरूलाई पनि त्यसो गर्न बाध्य भएको महसुस गराउँदैनौ। त्यो खराब बानी हो।"

त्यस बाहेक, हार्डीका अनुसार, एक प्रकारको भेटमा चाहिँ कडा शिष्टाचार लागू हुन्छ, र त्यो हो व्यावसायिक पार्टीहरू।

उनी भन्छिन् त्यस्ता पार्टीहरूमा आफूलाई असर गर्छ भन्ने लाग्छ भने मदिरा सेवनमा ध्यान पुर्‍याउनु पर्छ। साथै उपयुक्त पहिरन लगाउने लगायतका कुराहरूमा ध्यान दिनु पर्छ।

छोटो लुगाहरू,चप्पल वा सर्टलाई प्यान्टबाहिरै छोडेर नलगाउने पनि उनको सुझावमा पर्छन्।

"व्यवसायसँग सम्बन्धित कुनै पनि कुरामा याद राख्नु पर्ने नम्बर एक नियम भनेको त्यो व्यवसाय हो भनेर बुझ्नु हो, त्यो कुनै अनौपचारिक भोज होइन। केवल विनम्र, चाखलाग्दो, राम्रो कुराकानी गर्नुस् र आफ्नो बोसको कुरा नकाट्नुहोस्।"


Share

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now