विशेष गरी भारतीय चलचित्र क्षेत्र, बलिवुडका दर्शक र श्रोताहरू माझ त, उनका गीतहरू नसुनेका शायद कम नै होलान्।
केही समयदेखि कोरोनाभाइरसको उपचारका क्रममा अस्पताल भर्ना रहेकी मङ्गेशकरले फेब्रुअरी ६ तारिखमा, ९२ वर्षको उमेरमा यस संसारबाट बिदा लिइन्।
भारतको मुम्बईमा रहेको ब्रीच क्यान्डी अस्पतालका डाक्टर प्रतीत सम्दानीले उनको निधनको खबर पुष्टि गरेका हुन्।
सन् १९२९ मा भारतको इन्दौर सहरमा जन्मिएकी लता मङ्गेशकरको गायन यात्रा सानै उमेरमा सुरु भएको थियो।
उनी आफ्ना बुवा दिनानाथ मङ्गेशकरसँग धार्मिक कार्यक्रमहरूमा गाउँथिन्, जो एक प्रशिक्षित कलाकार थिए।

उनी सानो छँदा प्रायः नाटकहरूमा भाग लिन्थिन्। यसरी नाटक गर्दै, आफ्नो परिवारसँग एउटा ठाउँबाट अर्को ठाउँ सर्दै, उनको बाल्यकाल बित्दै गयो।
तेह्र वर्षको कलिलो उमेरमा आफ्नो बुवाको निधन भए पछि परिवारको जिम्मेवारी उनको काँधमा पर्न गयो।
सन् १९४५ मा उनी आफ्नो परिवारसँग भारतको चलचित्र उद्योगको प्रमुख सहर, मुम्बई सरिन्।
मङ्गेशकरले त्यहाँ अभिनेत्रीको काम खोज्न थालिन्, र केही साना भूमिकाहरू निभाइन्। यसै सिलसिलामा उनको बलिवुड गायन यात्रा सुरु भएको हो।
चलचित्रहरूमा गीत गाउने प्लेब्याक सिङ्गरको रूपमा काम गर्न थाले पछि बलिवुड भरी उनकै आवाज गुन्जिन थाल्यो।
पूरा रिपोर्ट यहाँ सुन्नुहोस्: लता मङ्गेशकरका नेपाली गीतहरू हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
भावनाले ओतप्रोत सुनिने मङ्गेशकरका गीतहरू केही दुख र प्रेमका बारेमा र केही देशभक्तिको बारेमा हुन्थे।
जनवरी सन् १९६३ मा भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा, सन् १९६२ मा भारत र चीन बीच भएको युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्झनामा एक श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो।
त्यस कार्यक्रममा गीत गाउनका लागि लता मङ्गेशकर सरकारबाट आमन्त्रित भएकी थिइन्।
उनको आवाजमा "ए मेरे वतन के लोग" नाम गरेको गीत सुन्दा, त्यस बेलाका भारतीय प्रधान मन्त्री जवाहरलाल नेहरुका आँखामा देशभक्तिका आँसु आएको बताइन्छ।
त्यस पछि लता मङ्गेशकरको आवाजलाई आफ्ना फिल्ममा प्रयोग गर्न खोज्ने सङ्गीतकार र चलचित्र निर्माताहरू बढ्न थाले।
उनीसँगै उनकी बहिनी आशा भोस्ले पनि चर्चित गायिका थिइन्। आधा शताब्दी भन्दा बढी समयका लागि बलिवुडका चलचित्रहरू उनीहरूका आवाजले सजिए।

यता नेपाली चलचित्र उद्योगको कुरा गर्दा चाहिँ, नेपालसँगको मङ्गेशकरको सम्बन्ध निकै पुरानो रहेको निर्देशक, लेखक तथा नेपाली गीतसङ्गीत क्षेत्रका जानकार प्रकाश सायमीले बीबीसी न्युज नेपालीलाई बताएका छन्।
सन् १९५५ मा उनले नेपाली सङ्गीतकार भोला श्रेष्ठको सङ्गीतमा ‘ए बस्ती ए लोग’ नामक चलचित्रको हिन्दी गीत गाएको उनको भनाइ छ।
त्यस्तै, उनले "बाचुन्जेलीलाई", "जुन माटोमा मेरो" र "आकाशमा तिरमिरे तारा" जस्ता नाम चलेका नेपाली गीतहरू पनि गाएकी थिइन्।
भारतीय फिल्म उद्योगकी सबैभन्दा महान् प्लेब्याक सिङ्गर मानिने मङ्गेशकरलाई कसैले "मेलोडी क्वीन" भनेर बोलाउँथे त कसैले "नाइटिङ्गेल अफ इन्डिया" अर्थात् "भारतकी बुलबुल" भनी बोलाउँथे।
उनको आवाजमा गाइएका गीतहरू उनी भन्दा ५० वर्ष कम उमेरका अभिनेत्रीहरूको लागि पनि सुहाउँथ्यो।

उनका प्रशंसक मात्र होइन, केही आलोचकहरू पनि थिए।
उनले अरू नयाँ गायक गायिकाहरूलाई माथि आउने ठाउँ नदिएको भन्ने कुराहरू पनि हुन्थे, तर उनका गीतहरूको लोकप्रियता भने कहिल्यै घटेन।
मिठो आवाजसँगै बलियो मनोबल बोकेकी मङ्गेशकर, कहिल्यै पनि आफ्नो कामको लागि सही दामको माग गर्न पछि हटिनन्।
त्यस्तै, उनका केही व्यक्तिगत बानीहरू र सङ्गीत प्रतिको सम्मानका लागि पनि उनी प्रचलित थिइन् - जस्तै, गाउने समयमा कहिल्यै जुत्ता नलगाउने, र कुनै पनि गीत रेकर्ड गर्नु अघि त्यसलाई आफ्नै हातले लेख्ने।
उनले आफ्नो जीवनकालमा थुप्रै पुरस्कारहरू पाएकी थिइन्, जस मध्य सन् २००१ मा भारतको सबैभन्दा सर्वोच्च नागरिक सम्मान मानिने "भारत रत्न" पनि एक हो।

त्यस्तै गरी, भारतीय सङ्गीत र सिनेमामा उनले पुराएको योगदानका लागि फ्रान्सको लिजन डी'अनर (Legion d'Honneur) पनि उनले सन् २००९ मा पाएकी थिइन्।
कोरोनाभाइरस लागे पछि उनलाई जनवरी ११ मा अस्पतालको आइसियुमा भर्ना गरिएको थियो। जनवरीको अन्त्य तिर स्वास्थ्यमा सुधार देखिँदा भेन्टिलेटरबाट हटाइए तापनि फेरी अवस्था बिग्रिन थालेको बताइएको थियो।
उनको निधनको खबर पछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ट्विटरमा श्रद्धाञ्जली व्यक्त गर्दै दुख पोखेका थिए।
आइतबार ६ फेब्रुअरीमा लता मङ्गेशकरको निधनको खबर पछि भारतले दुई दिने शोक मनाउने घोषणा गरेको थियो।
उनको मुम्बईमा दाहसंस्कार गरिनु अघि, निधन भएको केही घण्टा भित्रै भारतीय चलन अनुसार राज्य स्तरीय अन्त्येष्टि गरिएको थियो, जसमा थुप्रै राजनीतिज्ञदेखि चर्चित बलिवुड हस्तीहरू उपस्थित थिए।
हजारौँ अविस्मरणीय गीतहरूले धेरैको मन छोएकी भारतकी बुलबुलको सम्झना र सम्मानमा भारतले आफ्नो राष्ट्रिय झन्डालाई आधा झुकाएको छ।
यो पनि पढ्नुहोस्:

सिड्नीका नेपाली गायकलाई कोभिडले जुराइदिएको साङ्गीतिक मौका







