नेपालका कला संस्कृति झल्काउने उद्देश्यका साथ डार्विनको वटरफ्रन्टमा यही मे २९ तारिखमा "नेपाल फेस्टिभल २०२१" आयोजना हुँदै छ। नर्दन टेरिटोरीको गैर आवासीय नेपाली सङ्घको राज्य समन्वय समितिले त्यहाँको राज्य सरकारको प्रमुख आर्थिक सहयोगमा यो सम्पन्न गर्दै छ।
द्विवार्षिक रूपमा आयोजना हुने यस महोत्सवको यो दोस्रो संस्करण हो। नेपालका भाषा र रीतिरिवाज प्रस्तुत हुने किसिमका प्रदर्शनी, मञ्च कार्यक्रम, खानपान लगायत थुप्रै तयारीहरू जारी रहेको फेस्टिभलका संयोजक भैरव योगीले बताए।
"यसलाई हामीले केही चरणहरूमा विभाजन गरेका छौँ - जस्तै मञ्चमा गरिने नृत्य, सांस्कृतिक परेड र र्याम्प वाल्कहरू हुने छन्।", एसबीएस नेपाली सँगको कुराकानीमा उनले भने।

यी विषयवस्तु बाहेक "नेपाल हाउस" एक प्रमुख आकर्षण हुने उनले बताए। "नेपाल हाउस" भनी निर्माण गरिने क्षेत्रलाई आठ भागमा विभाजन गर्दै, प्रत्येक भागमा नेपाली मैलिकता झल्काउने सामग्रीहरू राखिने योजना रहेको छ।
"एउटा खण्डमा नेपालको बारेमा जानकारी दिइने सेन्टर जस्तो छ, अर्को खण्डमा हिन्दु तथा अन्य धर्म सम्बन्धी तस्बिर र अन्य सामग्री राखिने छ। त्यस्तै अर्कोमा नेपाली भान्छाका सामग्री, जस्तै ढिकी, जाँतो आदि राख्ने छौँ", योगीले भने।
त्यस्तै, अन्य खण्डहरूमा नेपाली पोषाक, साङ्गीतिक बाजाहरू, नेपालबाट मगाइएका चित्रकलाहरू प्रदर्शन गरिने छन्।

यो पनि पढ्नुहोस्:

यसपालीको ट्याक्स रिटर्न गर्दा कसले पाउनेछन् २,००० डलरसम्मको कर छुट?
यस लगायत, यहाँका अस्ट्रेलियाली तथा अन्य पृष्ठभूमिका मानिसहरूलाई नेपाली भाषाको बारेमा जानकारी दिने उद्देश्यले नेपाली अक्षर र शब्दहरूलाई पनि प्रदर्शनीमा राखिने छन्।
"जस्तै, यहाँका कतिपय अस्ट्रेलियन दाजुभाइहरूलाई इटालियन, फ्रेन्च जस्ता भाषाका केही शब्दहरूको जानकारी हुन्छ, त्यसरी नै नेपाली भाषाको जानकारी दिन पनि हामीले स्टल राखेका छौँ", संयोजक योगीले भने ।
त्यस्तै, नर्दन टेरिटोरी तथा अन्य राज्यका प्रमुख मन्त्री तथा अधिकारीहरूका लागि भिआइपी सेक्सन पनि तयार गरिएको उनले बताए।
"नेपाल फेस्टिभल" एक महोत्सव मात्र नभएर नेपाली समुदायलाई आफ्नो मौलिकतासँग जोड्ने र संस्कृतिलाई जोगाउने एक माध्यम पनि रहेको संयोजक योगी बताउँछन्।
मेरो व्यक्तिगत विचारमा, यो एउटा महोत्सव मात्र होइन। हामीहरू कहाँबाट आएको र कसरी आएको भन्ने कुराहरू हामीले कहिल्यै बिर्सनु हुँदैन।

यो पनि पढ्नुहोस्:

सङ्घीय बजेट २०२१-२२: तपाईंले के पाउनुहुन्छ - के गुमाउनुहुन्छ?
यससँगै, डार्विन र अस्ट्रेलिया भर नेपाली समुदायको जनसङ्ख्या निरन्तर बढिरहेको समयमा यस्ता कार्यक्रमहरूले यहाँ जन्मिएका पिँढीहरूलाई आफ्ना अभिभावकको इतिहासको बारेमा जानकार राख्ने उनको विचार छ।
कोभिड-१९ महामारीका कारण योजनामा रहेका थुप्रै कुराहरू सम्पन्न गर्न नसकेको योगीले बताए; जस्तै, नेपालबाट कुनै कलाकारहरू बोलाउन मिलेन।
राज्य सरकारबाट फेस्टिभलको लागि आर्थिक अनुदान स्वीकृत हुन पनि केही समय लागेको, तर समुदायका सदस्यहरूको सहयोगले यो भव्य महोत्सव सफल हुने आफ्नो विश्वास रहेको उनको भनाइ छ।
समुदायका सबै दाजु भाइ दिदी बहिनीहरूले एकदमै राम्रो सहयोग गर्दिरहनु भएको छ। हामीले भनेको बेलामा स्वयंसेवकहरू पाइराखेका छौँ। त्यसैले यो सबैले कार्यक्रमलाई एउटा केन्द्र विन्दुमा लैजानलाई धेरै नै सहयोग भएको छ।
यस बाहेक, गैर आवासीय नेपाली सङ्घले नेपालको वर्तमान कोभिड-१९ महामारीमा मद्दत गर्नका लागि आयोजना गरेको आर्थिक सहयोग अभियानको बारेमा महोत्सवमा एक स्टल राखिने योगीले जानकारी दिए।
दस हजारको हाराहारीमा मानिसहरू आउने अनुमान रहेको यस फेस्टिभलमा, कोरोनाभाइरस मुक्त सुरक्षित वातावरण सिर्जना गर्न एक छुट्टै जोखिम व्यवस्थापन टोली खटिएको, र दर्शकहरूले पालना गर्नका लागि निर्देशनहरू सार्वजनिक गरिने पनि उनले बताए।
यस सबै बीच, डार्विनमा २९ मे शनिबार साँझ चार बजेदेखि हुन गइरहेको यस कार्यक्रमले पर्यटन र आर्थिक क्षेत्रमा ठूलो लाभ पुराउने विश्वास रहेको छ।









