अस्ट्रेलियामा पढेर देश फर्केका मानिसहरूको प्रभाव नेपालको हरेक क्षेत्रमा: टिम वाट्स

नेपालको हरेक क्षेत्रमा अस्ट्रेलियामा पढेका विद्यार्थीहरूको प्रभाव रहेको टिम वाट्सले बताएका छन्।

837A0302 Madhab Poudel.jpg

Tim Watts, Assistant Foreign Minister of Australia, during a handing over function of a 13th-century temple-strut belonging to the Ratneshwar Temple in Sulima Square, Patan, Nepal, in May 2023. The Art Gallery of New South Wales returned the artefact to Nepal. Credit: Madhab Poudel

बिहीवार, १३ जुलाईमा मेलबर्नमा आयोजित ‘साउथ एसिया कन्फ्रेन्स २०२३’ लाई सम्बोधन गर्दै अस्ट्रेलियाका सहायक विदेश मामिला मन्त्रीले उक्त चर्चा गरेका हुन्।

गत मेमा झन्डै ४० वर्षपछि नेपाल पुग्ने सङ्घीय स्तरका पहिलो अस्ट्रेलियाली मन्त्री बनेका वाट्सले, आफ्नो उक्त यात्राको मुख्य विशेषतामा अस्ट्रेलियामा पढेका नेपालीहरूलाई भेट्नु बताएका छन्।

भाषणका क्रममा उनले अगाडी भने कि नेपाल, अस्ट्रेलियाको अन्तर्राष्ट्रिय विद्यार्थीहरूको तेस्रो ठुलो बजार हो त यस कारण आफ्नो भ्रमणका क्रममा थुप्रै पूर्व विद्यार्थीहरू भेटिनु अनपेक्षित थिएन।

“अस्ट्रेलियामा पढेर नेपाल फर्केका मानिसहरूको प्रभाव देशका हरेक क्षेत्रमा देख्न सक्नुहुन्छ। सांसद, वरिष्ठ सरकारी अधिकारी, मेडिकल प्रोफेस्नल र बायोमेडिकल अनुसन्धानकर्ताका रूपमा उनीहरू काम गरिरहेका छन्। अस्ट्रेलियाका उत्कृष्ट रेस्टुरेन्टहरूमा पाककला सिकेर, भक्तपुरको सुन्दर वासुकि घरमा मलाई उत्कृष्ट खाना खुवाउने दुई नेपाली शेफहरूलाई पनि भेटेँ,” उनले भने।

तपाईँ नेपालमा जता हेर्नुहोस्, त्यता अस्ट्रेलिया जोडिएको छ। यो महत्त्वपूर्ण (कुरा) हो।
टिम वाट्स

न्यु साउथ वेल्सको आर्ट ग्यालरीमा रहेको र पुरातात्त्विक महत्त्व बोकेको पाटन स्थित सुलिमा चोकको रत्नेश्वर मन्दिरको टुँडाल फिर्ता गर्ने कार्यक्रममा भाग लिन उनी गत मे महिनामा नेपाल पुगेका थिए।

“नेपालमा हुँदा, मैले एउटा समारोहमा भाग लिएँ जहाँ न्यु साउथ वेल्स आर्ट ग्यालरीका प्रतिनिधिहरूले एक १३ औँ शताब्दीको मन्दिरको टुँडाल नेपाल सरकारलाई फिर्ता गरे,” सहायक विदेश मामिला मन्त्रीले उक्त भाषणका क्रममा आफ्नो नेपाल भ्रमण सम्झँदै भने ।

नेपाल जानुभन्दा केही दिन अघि एसबीएस नेपालीसँगको विशेष साक्षात्कारमा बोल्दै टिम वाट्सले, अस्ट्रेलियामा नेपाली समुदायको महत्त्व मो:मो: भन्दा ठूलो रहेको बताएका थिए।

द्विपक्षीय सम्बन्धमा “डायस्पोरा”को ठुलो भूमिका रहने उल्लेख गर्दे टिम वाट्सले अस्ट्रेलियाका केही भूभागमा नेपाली भाषा अङ्ग्रेजीपछि सबैभन्दा धेरै बोलिने बताउँदै भने, “नेपाल अहिले हाम्रो सबैभन्दा छिटो बढिरहेको डायस्पोरा समुदाय हो, लगभग १३०,००० सम्म रहेको यो समुदाय बढ्दै छ र नेपाली दोस्रो धेरै बोलिने भाषा हो, टास्मेनिया र अब्रईमा।”

समग्र क्षेत्रमा हाम्रो रुचि छ

भाषणकै क्रममा उनले भारत बाहेक दक्षिण एसिया र हिन्द महासागर क्षेत्र अस्ट्रेलिया सरकारका लागि ठुलो सरोकार र भविष्यका लागि अपरिहार्य रहेको बताए।

“यदि मैले आज भनेका सबै कुरामा एउटा मुख्य कुरा छ भने, त्यो हो अस्ट्रेलिया यो क्षेत्रका लागि एक सक्रिय संलग्न साझेदार हो,” वाट्सले भने।

र, सन् २०२४ मा अस्ट्रेलियाले आगामी हिन्द महासागर सम्मेलन आयोजना गर्न रुचि देखाउनुको पछाडि यो पनि आंशिक कारण हो।यो हाम्रो यस क्षेत्रप्रति रहेको प्रतिबद्धताको ठोस प्रदर्शन हो, र यो क्षेत्रमा शान्तिपूर्ण रूपमा, स्थिरता र समृद्धिलाई पछ्याउन कसरी सँगै मिलेर काम गर्न सक्छौँ भनेर हामी छलफल गर्न तत्पर छौँ।
टिम वाट्स

भुटानको पनि चर्चा

आफ्नो भाषणको क्रममा उनले भुटान पुगेर थिम्पुमा चौथो राजासँग दर्शनभेट गरेका उल्लेख गर्दै भने कि राजमाताको पाक विधिबाट तयार गरिएको ‘एप्पल पाई’ चाख्दै उनले राजासँग क्षेत्रीय शान्ति, स्थिरता र लामो समयदेखि दुई देशका आम मानिस बिचको सम्बन्धका बारेमा “धेरै इमानदार र फलदायी छलफल” गरेको बताए।

थुप्रै भुटानी मन्त्रीहरू पनि अस्ट्रेलियाका विश्वविद्यालयका पूर्व विद्यार्थी रहँदा दुई देश बिच काम गर्न सजिलो रहेको उनको भनाई थियो।

सन् २०२१ देखि अस्ट्रेलियन इन्स्टिच्युट अफ इन्टरनेश्नल अफेयर्सले विभिन्न संस्थाहरूसँग मिलेर वार्षिक रूपमा आयोजना गर्दै आएको सम्मेलनको मुख्य विषयवस्तु यो पटक व्यापार र सुरक्षा राखिएको छ।


Share

3 min read

Published

Updated

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now