गत जुन ३० मा आर्थिक वर्ष अन्त्य हुँदै आफ्नो कर विवरण बुझाउनु पर्ने समय आएको छ।
कोभिड-१९ महामारीका कारण यस पालिको ट्याक्स रिटर्नमा केही परिवर्तनहरू आएका छन्। यी परिवर्तनहरूको बारेमा जान्नुहोस्।
यस पालि के-के फरक तरिकामा गर्न सकिन्छ?
यदि तपाईँ घरबाट काम गरिरहनु भएको छ भने, केही खर्चहरूको विवरण पेस गर्न सक्नु हुन्छ।
यसपालि घरबाट काम गरेका मानिसहरूले बिजुली, इन्टरनेट, फोन खर्च, र कार्यालय उपकरणको मूल्यह्रास सम्बन्धी कटौती पाउने अस्ट्रेलियाली कर कार्यालयले (एटीओ) अपेक्षा गरेको छ।
घरबाट काम गरेका मानिसहरूले ट्याक्स रिटर्न गर्दा समावेश गर्न मिल्ने कुराहरूको बारेमा स्विनबर्न युनिभर्सिटी अफ टेक्नोलोजीका आर्थिक विषय सम्बन्धी सहप्राध्यापक केन डेभोसले जानकारी दिएका छन्।
आफूले कति खर्च दाबी गर्न सकिन्छ भनी पत्ता लगाउने एउटा अस्थायी छोटो तरिका छ, जसमा घर बसेर काम गरेको प्रत्येक एक घण्टामा ८० सेन्टको हिसाब गरिन्छ।
"यसले कागजातको झन्झटबाट जोगाउँछ," डेभोसले भने।
"आफूले कति घण्टा घर बसेर काम गरेको भनी रेकर्ड राखे पुग्छ। "उदाहरणको लागि, यदि कसैले एक वर्ष, अर्थात् एक हप्तामा ४० घण्टा र एक वर्षमा ४८ हप्ता काम गरेको छ भने - सहज तरिकामा हिसाब गर्दा उसले लगभग $१,५०० डलर दाबी गर्न मिल्छ।"
तर यो तरिका सबैको लागि उचित नहुन सक्छ। अर्को तरिकामा एक घण्टाको ५२ सेन्टको हिसाब गरिन्छ। यसमा बिजुली, ग्यास, र कार्यालय फर्निचरको मूल्यह्रास र मर्मतको पैसा जोड्न सकिन्छ।
यो तरिका अपनाउँदा फोन, इन्टरनेट, कम्प्युटर र लेखपढ सामाग्रीहरूको खर्चलाई छुट्टै जोडिन सक्छ। अर्को तेस्रो तरिका अनुसार भने मानिसहरूले सबै वास्तविक खर्चको रेकर्डहरू पेस गर्नु पर्ने हुन्छ।
आफूलाई बढी फाइदा हुने तरिका अपनाउनु समझदारी हुने डेभोसले बताए।
"वास्तविक खर्चको तरिकामा आफूले एक वर्ष भरीका सबै खर्चहरू छुट्टा छुट्टै हिसाब गर्नु पर्छ। त्यसमाथि मूल्यह्रासलाई जोड्न सकिन्छ, त्यसैले धेरै रकम हुन सक्छ।
"तर ८० सेन्टको तरिका अपनाउने हो भने, छुट्टै मूल्यह्रास जोड्न मिल्दैन," उनले बताए।
घर बसेर काम गरेर खर्चहरू बढे तापनि, अरू खर्चहरू घटेको हुन सक्ने विषयमा ध्यान पुराउनु पर्ने डेभोसको भनाइ छ।
"घरबाट काम गरेका मानिसहरूको गाडी खर्च अरू समयको तुलनामा अवश्य घटेको हुन्छ," उनले भने। "त्यसैले एटीओले गाडी र यात्रा खर्चलाई नजिकैबाट हेरेको हुन्छ, र यसमा तपाईँले ध्यान पुराउनु पर्छ।"
मैले के दाबी गर्न पाउँदिन?

घरबाट काम गर्दाका थुप्रै खर्चहरूको रकम दाबी गर्न सकिन्छ, तर कार्यालयमा भएका सबै कुराको भने एटीओले समावेश गर्दैन।
"यदि तपाईँको रोजगारदाताले अफिसमा कफी, चिया र बिस्कुट दिने गर्दथे भने, त्यसलाई घरमा काम गर्दाको खर्च भनी जोड्न मिल्दैन," एटीओका आयुक्त टिम लोले एसबीएसको आर्थिक विषयवस्तु सम्बन्धी पोड्कास्ट अन द मनीसँगको कुराकानीमा बताएका हुन्।

मानिसहरूले अन्य थुप्रै कुराहरूलाई घर बसेर काम गर्दा खर्च भनेर कर कार्यालय समक्ष दाबी गर्न गरेको लोले बताए।
"कतिपय मानिसहरूले आफ्ना बालबालिकाको पढाइको खर्चलाई पनि झुक्किएर आफ्नो ट्याक्स रिटर्नमा समावेश गरेको पाइएको छ," उनले बताए।
"घरबाट काम गरेका केही मानिसहरूले घर भाँडा जस्ता खर्चहरू पनि दाबी गर्न खोजेको हामीले देखेका छौँ।"

डेभोस भन्छिन् ट्याक्स रिटर्नमा दाबी गर्न पाउने रकमको बारेमा प्रमुख नियम यो हो - उक्त खर्च तपाईँको आय सम्बन्धी हुनु पर्छ, र तपाईँको रोजगारदाताले चुक्ता नगरेको हुनु पर्छ।
"थुप्रै मानिसहरूले घरमा बस्दा कोर्सहरू पढिरहेका छन्," उनले भने।
"यस विषयमा तपाईँ सावधान हुनु पर्छ। यी कोर्सहरू तपाईँको कामसँग सम्बन्धित छैनन् भने तिनको खर्च ट्याक्स रिटर्नमा दाबी गर्न पाइने छैन। त्यसैले थुप्रै मानिसहरूले मन पराउने यी पकाउने र अन्य सीप सिकाउने तालिमहरू तपाईँको मुख्य रोजगारसँग सम्बन्धित नहुन सक्छ।"
के नयाँ कुराहरूको विवरण बुझाउनु पर्छ?
क्रिप्टो करेन्सीको विवरण बुझाउनु पर्छ।
पछिल्ला केही वर्षहरूमा बिटकोइन जस्ता क्रिप्टो सम्पत्तिमा लगानी गरेका ६ लाख भन्दा बढी अस्ट्रेलियालीहरूले त्यसको विवरण आफ्नो ट्याक्स रिटर्नमा समावेश गर्नु पर्ने, र एटीओले निगरानी गर्ने बताएको छ।
यस्ता एक लाख भन्दा बढी मानिसहरूलाई आफ्नो दायित्वको बारेमा सम्झाउँदै एटीओले चिठी लेखिसकेको छ।
"क्रिप्टो करेन्सी पनि सेयरहरू जस्तै लगानी हो, त्यसैले क्रिप्टो करेन्सीमा पनि सेयरको जस्तै करको नियम लागु हुन्छ," लोले बताए।
"त्यसैले तपाईँले क्रिप्टो करेन्सीलाई बेच्ने, साट्ने आदि गर्नु भएको छ भने, त्यो लेनदेनमा कर लागु हुन्छ, र तपाईँले त्यसलाई ट्याक्स रिटर्नमा समावेश गर्नु पर्ने हुन्छ।"
क्रिप्टो सम्पत्तिको मूल्य र लेनदेन दरमा घटी बढी हुने प्रवृत्तिले अलि जटिल हुन सक्ने, तर यस विषयमा एटीओले मद्दत गर्ने उनले बताए।
"यसमा संलग्न मानिसहरूले सबै लेनदेनको स्पष्ट रेकर्ड भने राख्नु पर्छ," उनले भने।
"हामीसँग प्रोटोकलहरूको जानकारी हुन्छ, जहाँबाट हामीले क्रिप्टो लेनदेनको जानकारी हेर्न सक्छौँ। आवश्यक परेमा हामीले यी प्रमाणहरू करदाताहरूको लागि प्रयोग गर्न सक्छौँ।"
महामारीका थुप्रै मानिसहरूले यस किसिमका अतिरिक्त कामहरू गर्ने गरेको, र त्यसलाई पनि ट्याक्स रिटर्नमा समावेश गर्नु पर्ने डेभोसले बताए।
"मानिसहरूले यी कामहरूलाई आफ्नो प्रमुख रोजगारबाट अलग राख्न पाउँदैनन्," उनले भने। "यी दोस्रा कामहरूले आय आर्जन गरिरहेका हुन्छन्, त्यसैले तपाईँले यसमा कर तिर्नु पर्छ।"
त्यस्तै, कोभिड-१९ सहयोग भुक्तानी पाएका मानिसहरूले त्यसको विवरण पनि पेस गर्नु पर्छ। जबसीकर र जबकीपर पाएका मानिसहरूको विवरण एटीओले आफैँ ट्याक्स रिटर्नमा समावेश गर्ने छन्।
मुख्य मितिहरू कहिले हुन्?
यस वर्ष पनि अरू वर्षहरू झैँ ३१ अक्टोबर सम्म ट्याक्स रिटर्न दर्ता गरिसक्नु पर्छ।
यदि तपाईँ कुनै रजिस्टर्ड ट्याक्स एजेन्टबाट ट्याक्स रिटर्न गर्ने योजनामा हुनु हुन्छ भने अक्टोबर भन्दा लामो समय पाउनु हुने छ, तर अक्टोबर सम्म उनीहरूको ग्राहक बनिसक्नु पर्ने हुन्छ।
तपाईँले अनलाइन myGov मार्फत अहिले नै आफ्नो ट्याक्स रिटर्न दर्ता गर्न पाउनु हुन्छ, तर अगस्ट अघि गरेमा एटीओलाई बढी समय लाग्न सक्ने छ।
"जुलाईको अन्त्य सम रोजगार दाता, बैङ्क, स्वास्थ्य कोष, सरकारी एजेन्सी आदि सबैको विवरण स्वयम् तपाईँको ट्याक्स रिटर्नमा जोडिन्छन्," लोले बताए।
"यस भन्दा अगाडी ट्याक्स रिटर्न दर्ता गर्न चाहनु हुन्छ भने तपाईँको आफ्ना सबै आयको रेकर्ड आफैँ समावेश गर्नु पर्ने हुन्छ।"
के मैले अकाउनटेन्टको मद्दत लिनु पर्छ?
अकाउनटेन्ट चाहिन्छ या चाहिँदैन भन्ने कुरा तपाईँको केसमा भर पर्ने डेभोसले बताए।
"मानिसहरूले विभिन्न कारणका लागि ट्याक्स एजेन्टको मद्दत लिन्छन्। मुख्यतः सम्पत्तिको मामिला हुनेहरूले आफैँ हिसाब गर्न गाह्रो हुने भएकाले एजेन्टको मद्दत लिन्छन्," उनले भने।
"यदि तपाईँको अस्ट्रेलिया बाहिर अन्य देशबाट केही आय आउँछ भने तपाईँले त्यसमा अस्ट्रेलियाली निवासीको रूपमा कर तिर्नु पर्ने हुन्छ।"
"यी विषयहरूमा तपाईँको ट्याक्स रिटर्न गाह्रो हुँदै छ भने, ट्याक्स एजेन्ट या आर्थिक सल्लाहकारको मद्दत लिन उचित हुन्छ।"
त्यसको खर्च आउँदो वर्षको ट्याक्स रिटर्नमा फिर्ता लिन सकिन्छ। कम आय भएका मानिसहरूले एटीओको ट्याक्स हेल्प कार्यक्रमबाट निःशुल्क मद्दत लिन सक्छन्।
"आफ्नो ट्याक्स रिटर्न गर्न चाहने, र एक वर्षमा लगभग ६०,००० अस्ट्रेलियन डलर या कम कमाउने मानिसहरूले मसँग कुरा गर्न अपोइन्टमेन्ट लिन सक्छन्," करुणा चिन्नियाले भने। उनी पहिले अकाउन्टेन्टको रूपमा कार्यरत थिए, र अहिले वागा वागाको बहु सांस्कृतिक काउन्सिलमा एटीओको ट्याक्स हेल्प स्वयंसेवक हुन्।
अन्य भाषाहरूमा के किसिमको मद्दत उपलब्ध छ?
अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्ने मानिसहरूको मद्दतको लागि ट्याक्स हेल्प स्वयंसेवीहरू र एटीओ उपस्थित रहेको चिन्नियाले बताए।
यो मद्दत सेवाको प्रक्रियालाई बुझाउँदै उनले भने, "हामीले यसलाई अनुवाद र व्याख्या सेवा भन्छौँ, जसमा हामीले मद्दत माग्ने मानिसहरूलाई कर कार्यालयसँग सम्पर्क गराउँछौँ। कर कार्यालयले उनीहरूसँग कुराकानी गर्छन्, र ट्याक्स रिटर्नको प्रक्रिया सुरु गर्न ट्याक्स फाइल नम्बर र अन्य विवरणहरू सङ्कलन गर्छन्। यी अनुवादकहरूले कहिले काहीँ मलाई पनि ग्राहकहरूसँग कुरा गर्न मद्दत गर्छन्।"
कर सम्बन्धी थप जानकारी अस्ट्रेलियाली कर कार्यालयको वेबसाइट (hyperlink website) मा २० वटा भन्दा बढी भाषामा हेर्न सक्नु हुन्छ।
साना व्यवसायहरूले भोग्न सक्ने समस्याहरू
कोभिड-१९ महामारीका कारण एटीओले साना व्यवसायहरूलाई आर्थिक सहायता दिनुका साथै कर सम्बन्धी नियमहरूमा पनि परिवर्तन ल्याएको छ।
महामारीका कारण थुप्रै साना व्यवसायहरू घाटामा गएका छन्। त्यसैले कतिले ट्याक्स रिटर्न गरे पछि तिर्नलाई पैसा हुँदैन कि भन्ने चिन्ता व्यक्त गरेका छन्।
त्यसैले यस वर्ष आफ्नो आय र खर्चको सही रेकर्ड राख्नु निकै जरुरी रहेको क्लाउड अकाउन्टिंग व्यवसायकी संस्थापक लाइलेट कालेजाले बताइन्।
"साना व्यवसायकर्ताहरूको लागि - यदि तपाईँको यस वर्ष घाटा भएको छ तर गत वर्ष नाफा भएर कर तिर्नु भएको थियो भने, तपाईँले त्यसलाई गत वर्ष तिरेको करसँग 'अफसेट' गर्न सक्नु हुन्छ। यस पछि मिल्छ भने तपाईँले रकम फिर्ती पाउने सम्भावना हुन्छ, या तपाईँले तिर्नु पर्ने करसँग अफसेट गरिन्छ", उनले भनिन्।

जबकीपरलाई आफ्नो कर विवरणमा समावेश गर्नु पर्ने पनि एटीओले बताएको छ। त्यस्तै, यही जुलाई एक तारिखदेखि सुपरएनुवेसनको दर पनि आधा देखि १० प्रतिशत सम्म बढेको छ।
कर सम्बन्धी सम्पूर्ण जानकारी र अन्य श्रोतहरू अस्ट्रेलियाली कर विभागको वेबसाइटमा उपलब्ध छन्। कर कार्यालयले अङ्ग्रेजी बाहेक अन्य भाषा बोल्ने मानिसहरूलाई अनुवादको सेवा पनि प्रदान गर्ने, एटीओको साना व्यवसाय विभागकी उपायुक्त डेबोरा जेन्किन्सको भनाइ छ।
यस वर्षको लागि एटीओका प्रमुख सुझावहरू हुन्:
- विश्वसनीय सल्लाहकारबाट सुझाव लिनुहोस्
- आफ्नो क्याश फ्लो माथि ध्यान दिनुहोस्
- सबै लेनदेनको डिजिटल रेकर्डहरू राख्नुहोस् - ती सबै अङ्ग्रेजी भाषामा या सजिलै अङ्ग्रेजीमा अनुवाद गर्न मिल्ने भाषामा हुनु पर्दछ।
"त्यस्तै, 'click on this link' अर्थात् 'यो लिङ्कमा क्लिक गर्नुहोस्' भन्दै आउने ठगी इमेल या टेक्स्ट मेसेजहरूबाट सावधान रहनु। केही शङ्का छ भने हामीलाई फोन गर्नुहोस्, या आफ्नो कर एजेन्टलाई सम्पर्क गर्नुहोस्," जेङ्किन्सले भनिन्।
नोट: हामी तपाईँलाई जानकारी गराउन चाहन्छौं कि यहाँ व्यक्त गरिएका जानकारीहरू साधारण प्रकारका रहेका छन्। तपाईँको लागि उक्त जानकारी उपयुक्त नहुन पनि सक्छ - आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्।
