पछिल्लो समय फेयर फिल्ड र नर्थ सोरको अस्पतालमा प्लेसमेन्ट गर्न पुगेका विद्यार्थीहरु सङ्क्रमित बनेका घटना पछि नर्सिङ पढिरहेका नेपाली समुदायका मानिसहरु सतर्क अवस्थामा आफूहरू रहेको एसबीएस नेपालीलाई बताएका छन्।
रजनी खत्री वेष्टन सिड्नी विश्वविद्यालयमा नर्सिङ दोस्रो वर्षमा अध्ययनरत छिन् जहाँ उनको सम्पूर्ण कक्षा यतिखेर अनलाइन माध्यबाट सञ्चालन भइरहेको छ।
तर प्रयोगात्मक कक्षाका लागि अस्पताल वा नर्सिङ्ग होमको विकल्प छैन।
खत्री भन्छिन् कि विद्यार्थीका रूपमा विभिन्न अस्पताल र एज्ड केयरहरूमा प्लेसमेन्टका लागि पुग्नुपर्ने छ।
विशेष गरी एज्ड केयरमा बसोबास गर्ने मानिसहरूमा जोखिम बढी हुने भएकाले आफूहरू सतर्क अवस्थामा रहनुपर्ने उनको भनाई छ।
“फेयरफिल्ड र रोयल नर्थ सोर अस्पतालमा नर्सिङ विद्यार्थीमा कोभिड–१९ देखिएपछि मेरा थुप्रै साथीहरूको प्लेसमेन्ट नै क्यान्सील भयो," उनले भनिन् ।
गत महिना फेयर फिल्ड र रोयल नर्थ सोर अस्पतालका केही वार्डमा लकडाउन गर्नुको कारण थियो प्रयोगात्मक कक्षाका लागि त्यहाँ पुगेका विद्यार्थीमा कोरोना पुष्टि हुनु ।

उक्त घटना पछि बिरामी एवम् उक्त वार्डमा काम गर्ने कर्मचारी समेत गरी एक सय जना भन्दा बढीलाई आइसोलेसनमा राख्नु पर्यो ।
स्वास्थ्य क्षेत्र भएका कारण खोप पाउन सहज भएता पनि पर्याप्त खोप आपूर्ति नभएका कारण खोपका लागि लामो समय कुर्नु पर्ने स्थिति छ ।
“म अस्पतालमा काम गर्ने भएकाले सहजै रूपमा कामबाटै खोप लगाउन पाए,मेरा कतिपय साथीहरूको प्लेसमेन्ट नै क्यान्सिल हुन पुग्यो।”
रजनी सँगै नर्सिङ दोस्रो वर्षमा अध्ययन गरिरहेका नीरज क्षेष्ठ पनि आफूलाई भाग्यमानी ठान्छन् ।
श्रेष्ठ भन्छन् कि विश्वविद्यालयले पनि आजकाल आफ्ना बिद्यार्थीहरुलाई खोप लगाउन प्रोत्साहन गरिरहेको छ ।
“कलेजले पनि खोप नलगाएकाहरूलाई खोप लगाउनका लागि प्रोत्साहन गर्छ,विभिन्न खोप केन्द्र र बुकिङ कसरी गर्ने भन्ने सिकाउँछ,” उनले एसबीएस नेपालीसँग भने।
“धन्न अस्पतालमा काम गर्ने भएकाले प्राथमिकतामा खोप लगाउन पाए, सिड्नीमा यत्रा केसहरू बढिरहेका बेला प्लेसमेन्ट जान डर हुन्थ्यो नि।”
अस्ट्रेलियामा अहिले ६० वर्ष मुनीका मानिसहरूलाई फाइजर खोप लगाउने स्वास्थ्य सल्लाह दिइएको छ ।
तर खोपको कम उपलब्धताका कारण केही प्रतिशतले मात्र खोप लगाउन पाएका छन् ।
यतिसम्म कि प्राथमिकतामा राखिएका भनिएका एज्ड केयर र अशक्तताको क्षेत्रमा कार्यरत कर्मचारीहरू नै खोप लगाउनबाट चुकिरहेका छन् ।

सिड्नीकी अनुसा श्रेष्ठ एज्ड केयरमा केयर वर्करका रूपमा काम गर्छिन् तर उनले खोप लगाएकी छैनन् ।
सरकारले सेप्टेम्बरको मध्य सम्म एज्ड केयर क्षेत्रका सबै कर्मचारीले खोप लगाइसक्नु पर्ने नयाँ नियम ल्याएको छ ।
उक्त समय भित्र कम्तीमा पनि खोपको पहिलो मात्रा लगाइसक्नु पर्ने सरकारले उर्दी जारी गरेको छ ।
“अगस्टको बीच्च तिर खोपका लागि बुकिङ पाएकी छु सम्भवतः त्यतिखेर सम्म खोप लगाई सक्छु होला,” उनले भनिन् ।
यो रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।
सेप्टेम्बरको बिच सम्म खोप नलगाए भएको काम नै जाने हो कि भन्ने चिन्ता पनि यतिखेर अनुषा जस्ता खोप नलगाए थुप्रै एज्ड केयर वर्करलाई परेको छ ।
पछिल्लो समय सिड्नीसँगै दैशभर कोभिड-१९ का मामिलाहरू निरन्तर बढिरहेका छन् ।

सिड्नीका सेन्ट जर्ज, क्यान्टबरी, ब्याङ्क्सटाउन लगायतका क्षेत्रमा पनि कोरोनाको प्रकोप बढिरहेको छ ।
पछिल्लो समय थुप्रै नेपालीहरूमा पनि कोरोनाको सङ्क्रमण भएको जानकारी स्थानीय प्रतिनिधीहरुले दिएका छन् ।
यस्तो अवस्थामा कोरोनाको खोप जतिसक्दो चाँडो लगाउन रजनी खत्री सबैलाई आग्रह गर्छिन् ।
“कोभिड–१९ भोलि नै सकिएला भन्न सकिँदैन, आफ्नो र आफ्नो परिवारको ख्याल गदै खोप लगाउनुहोस्।”
कोभिड–१९ र मानसिक स्वास्थ्य
उता, कोरोना सङ्क्रमणका कारण मानिसहरु लकडाउनमा बस्न बाध्य छन्।
यस्तो प्रतिबन्धात्मक आदेशहरूका कारण कतिपय मानिसले आफ्नो रोजगारी गुमाउनु परेको छ भने अत्यावश्यक बाहेकमा मानिस घर भित्रै बस्न बाध्य छन् ।
पटक-पटकको लकडाउनले अनिश्चितता बढाउँदा मनोवैज्ञानिक असरहरू देखा पर्ने मेलबर्नका एक मनोचिकित्सक अनुपम पोखरेलको भनाई छ ।
“रिस उठ्ने, झर्कने, छटपटीका कारण माथि तल गरिरहने,रक्सी चुरोट सेवन गर्ने जस्ता समस्याहरू देखिएका छन्,” उनले भने।

लकडाउनका बेला यस्तो कुनै समस्या देखिए टेलिहेल्थ सेवा लिनका लागि सरकारले जोड दिएको छ ।
यस बाहेक विभिन्न सङ्घ संस्थाहरूले पनि नेपाली सहित अन्य विभिन्न भाषामा मानसिक स्वास्थ्यका विषयमा जानकारी मूलक सन्देशहरू उपलब्ध गराएका छन् ।
“मनोवैज्ञानिक क्रियाकलापहरू लगातार एक दुई हप्ता सम्म परिवर्तित अवस्थामा रहिरहे, उदासीपना वा नकारात्मक विचारहरू आएको अवस्थामा हेल्प लाइनमा सम्पर्क गर्ने वा जी पी कहाँ जानु पर्दछ,” उनले भने।
“सहयोग लिँदैमा मानसिक रोगीको लेबल लाग्ने होइन।”
कोभिड–१९ बाट जटिल रूपमा बिरामी परेर फर्किएका मानिसहरूमा पनि मानसिक समस्याहरू देखिन सक्छन् ।
पछिल्लो समयमा कोरोनाबाट निको भएका ४० प्रतिशत मानिसहरूमा यस्ता समस्याहरू देखिएका उनी बताउँछन् ।
“कोभिड–१९ बाट निको भएका मध्ये एक तिहाइ भन्दा बढीमा आफू पिडामा हुँदाको स्मृति आउने, मन धेरै आत्तिए जस्तो, ध्यान दिन नसक्ने, डर लाग्ने जस्ता समस्याहरू देखिने गरेका छन्,” डा पोखरेलले एसबीएस नेपालीसँग भने।
डा पोखरेलसँगको हाम्रो कुराकानी सुन्नुहोस्: “मद्दत माग्दैमा मानसिक रोगीको लेबल लाग्ने होइन”हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा नि:शुल्क यहाँबाट डाउनलोड गर्न सक्नुहुन्छ।


![[JPG]_How-Australia-Works_Ep1.jpg](https://assets.sbs.com.au/dims4/default/d1d4da1/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2Fe9%2F46%2F56cf4ff54074a36476e0bcb73e13%2Fjpg-how-australia-works-ep1.jpg&imwidth=1280)
![[JPG]_How-Australia-Works_Ep0.jpg](https://assets.sbs.com.au/dims4/default/9a0f61e/2147483647/strip/true/crop/3200x1800+0+0/resize/1280x720!/quality/90/?url=https%3A%2F%2Fsbs-au-brightspot.s3.ap-southeast-2.amazonaws.com%2F8f%2F15%2F83a000db458f9fc153fde8cde907%2Fjpg-how-australia-works-ep0.jpg&imwidth=1280)

