राज्यका १२८ काउन्सिलहरूमा हुने उक्त निर्वाचनमा केही नेपालीभाषी अस्ट्रेलियालीहरूको पनि उमेद्बारी परेको छ।
लेबर, लिबरल गठबन्धन र स्वतन्त्र उम्मेदवारका रूपमा ९ जना नेपालीभाषीहरूको चुनावमा सहभागिता देखिएको हो
गएको २२ नोभेम्बर देखि “प्रि-पोल” भनिने अग्रिम मतदानको कार्य सुरु भइसकेको स्थानीय निर्वाचनका लागि भोट हाल्ने अन्तिम दिन भने डिसेम्बर चार तारिखमा तोकिएको छ ।
नेपाली समुदायका मानिसहरूको राम्रै उपस्थिति रहेका क्याम्बेलटाउन, ब्ल्याकटाउन, लिभरपुल लगायतका काउन्सिल क्षेत्र वा लोकल गभर्मेन्ट एरिया (एलजीए) भनिने स्थानीय सरकार क्षेत्रमा प्राय नेपाली भाषी उमेद्वारहरू चुनावी मैदानमा ओर्लिएको देखिएको छ।
यसबाहेक नर्थ सिड्नी जस्ता एलजीएमा पनि नेपाली भाषी उम्मेदवारहरू छन्।
यसै गरी नेपालीहरूको कम बसोबास रहेको क्षेत्र मानिएको नर्थ सिड्नी क्षेत्रमा पनि नेपाली उम्मेदवारका रूपमा देखिएका छन्।
उहाँहरूसँगको कुराकानी सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवाप्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
नर्थ सिड्नी काउन्सिलबाट स्वतन्त्र उम्मेदवारका रूपमा उठेकी अञ्जना कार्की बस्नेत,उक्त काउन्सिलको क्यामरेगल वार्डबाट उठेकी छन् ।
एसबीएस नेपाली सँगको कुराकानीका क्रममा कार्की-बस्नेतले यहाँको मूलधारे राजनीतिमा आउन चुनौतीहरू रहेता पनि समुदायमा लामो समयदेखिको आफ्नो सक्रियताले चुनावी प्रतिस्पर्धामा उत्रने निर्णय सहज भएको बताउँछिन्।
“पहिलेदेखि नै कम्युनिटीमा काम गरेको कारणले मलाई इन्भल्भ हुन त्यति गार्हो चाहिँ भएन,” उनले भनिन्।
प्रि-पोलका क्रममा स्थानीय मानिसहरूले चासो देखाएको उनी बताउँछिन्।
“टिममा सहभागी सबै महिला भएकाले मानिसहरूले चासो देखाएका छन्, अस्ट्रेलियामा महिला पार्टीसिपेसन धेरै नभएकाले इन्गेज पनि गर्नु (हुनु)भएको छ।”
नेपालीहरू पनि यहाँको मूलधारको राजनीतिमा सक्रिय हुँदै राम्रो काम गर्न सक्ने कार्की-बस्नेत बताउँछिन्।
“मैले त गर्न सके भने अस्ट्रेलियामा रहने सबै नेपालीले गर्न सक्छन्,”उनले एसबीएस नेपालीसँग भनिन्।

यता ब्ल्याकटाउन काउन्सिलबाट काउन्सिलमा गठबन्धनको प्रतिनिधित्व गदै सत्ताधारी लिबरल पार्टीबाट को टिकट पाएका महेशराज पन्त पनि चुनावी मैदानमा ओर्लन पाउँदा दङ्ग छन्।
“यो भन्दा अघि यस क्षेत्र बाट काउन्सीलरको पदमा नेपाली मूलका कोही पनि उठ्नु भएको थिएन,” उनले भने।
“हाम्रो (समुदायका) लागि यो (एक) रिकगनिसन हो।”
महेश पन्तले अन्य काउन्सिलमा पनि नेपाली समुदायका मानिसहरूको उम्मेदवारी पर्नुलाई निकै सकारात्मक रूपमा लिएको बताए।
“मेरा लागि त उठेका नौ जनाले नै जिते जस्तो भएको छ,” उनले एसबीएस नेपालीसँग भने।
अञ्जना कार्की-बस्नेत र र महेशराज पन्त बाहेक क्याम्बेलटाउन, लिभरपुल, हिल साइडबाट पनि अन्य नेपालीभाषीहरूले उम्मेदवारी दिएका छन्। उहाँहरूसँग हाम्रो सम्पर्क प्रयास सफल हुन सकेन।
स्थानीय काउन्सिल निर्वाचनबाट जित हासिल गरेकाहरू काउन्सीलर नियुक्त हुने र उनीहरूले आफ्नो क्षेत्रका लागि मेयरको मनोनयन गर्नेछन्।










